भुईँमा झरेको तारबाट करेन्ट लाग्दा कटारीमा एक महिलाको मृत्यु
उदयपुरः जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। घाँस काटेर घर फर्कने क्रममा करेन्ट लाग्दा ६८ वर्षीय गङ्गामाया खत्रीको मृत्यु भएको हो।
घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रवाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। उनको कम्मरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो।
कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुईँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए।
मृत्युपछि आफन्तले शव बुझ्न मानेका थिएनन्। तर प्राधिकरणले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
वैशाख २९, २०७९ बिहीबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।