आफैंले पालेको राँगोले हान्दा मृत्यु, प्रहरीले गोली हानी मार्‍यो राँगो

आफैंले पालेको राँगोले हान्दा मृत्यु, प्रहरीले गोली हानी मार्‍यो राँगो
साङ्केतिक

लमजुङः आफैंले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ।

राँगोले हानेर गम्भीर घाइते उनको बेंसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगोले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप घटना हुन नदिनका लागि प्रहरीले राँगो गोली हानेर मारेको छ। सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैंले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयबासीको भनाइ छ।

वैशाख २६, २०७९ सोमबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।