जसलाई एआइजीको फुली लगाइदिए अब उनैलाई स्यालुट गर्नुपर्ने भो

जसलाई एआइजीको फुली लगाइदिए अब उनैलाई स्यालुट गर्नुपर्ने भो

काठमाडौँ : १६ महिना सिनियर भए पनि एआइजी विश्वराज पोखरेलले आफैँले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएका धिरजप्रताप सिंहलाई स्यालुट गर्नुपर्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

एकै पटक संगठनमा प्रवेश गरे पनि पोखरेल सहकुल थापा बढुवा अवधिको आधारमा सिंहभन्दा वरिष्ठ हुन्। तर प्रहरी नियमावलीमा एआइजीमध्ये वरिष्ठता,कार्यकुशलता, कमान्ड क्षमताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने व्यवस्था छ।

एकै पटक बढुवा हुँदा बरीयतामा अगाडि-पछाडि भएकै आधारमा तल्लो वरीयताकालाई आइजिपी नियुक्तिको निर्णय अदालतले उल्ट्याएको थियो। सिंह अन्य २ जनासँगै एक महिना अगाडि बढुवा भएका हुन्। पोखरेल करिब १६ महिना अगाडि र थापा करिब ९ महिना अगाडि बढुवा भएका हुन्।

एआइजी  पोखरेल, सहकुल बहादुर थापा र रबिन्द्रबहादुर धानुक  २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका हुन्। पोखरेल २०७७ मङ्सिर २५  एआइजिमा बढुवा भए। त्यो बेला एआइजीको प पद थपिएको थियो। थापा पनि उसरी नै एआइजीको एक पद थपेर २०७८ असार २४ मा एआईजी भए। सरकारले एआइजीको तीन दरबन्दी थपेर २०७८ चैत १७ मा सिंहसहित तीन जनालाई बढुवा गरेको थियो।

पहिलो बरियताका नवराज सिलवाल छाडेर तेस्रो बरियताका जयबहादुर चन्द नियुक्ति गर्दा अदालतले उल्टाएको थियो। सिलवाल पनि कार्य सम्पादन मूल्याङ्कन फारम किर्तेको विवादमा परेपछि दोस्रो बरियताका प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए।

सिलवाल विवादमा  प्रधानमन्त्री पुष्पकमल दाहाल थिए भने गृहमन्त्री विमलेन्द्र निधि। सत्ता सहयोगी कांग्रेस । अहिले प्रम देउवा र सहयोगी प्रचण्ड छन्। गृहमन्त्री बालकृष्ण खाँण। आइजिपी  नियुक्तीमा विवाद भएपछिका बढुवामा वरियता चलाएको थिएन सरकारले।

वैशाख १८, २०७९ आइतबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।