भारत र पाकिस्तानमा तातो वायुका कारण विद्युत् र पानीको चरम संकट 

भारत र पाकिस्तानमा तातो वायुका कारण विद्युत् र पानीको चरम संकट 

नयाँ दिल्ली : भारत र पाकिस्तानले पानी र विद्युत अभावको चरम सामना गरिरहेका छन्। ग्रीष्म ऋतुको प्रारम्भमै चलेको लु अर्थात् तातो वायुले भारत र पाकिस्तानले पानी र विद्युत अभावको चरम सामना गरिरहेका हुन्। 

भारतका कतिपय राज्यहरूले यसपटक ६ वर्षयताकै विद्युत् कटौती र पानीको संकट सामना गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियामा खबर छ। भारतको राजस्थान, गुजरात, आन्ध्र प्रदेशमा सञ्चालित औद्योगिक क्षेत्रमा विद्युत कटौती हुदा सो क्षेत्र बन्द गराइएको छ भने नयाँ दिल्लीलगायत अत्यधिक तातो हावा चलेको क्षेत्रमा विद्यालय बन्द गराइएको र स्थानीयलाई घरबाहिर प्रवेशमा रोक लगाइएको रोयटर्समा खबर छ। 

वैज्ञानिकहरूले मार्च महिनामा नेपाल, भारत, पाकिस्तानलगायत दक्षिण एसियाली मुलुकमा हालसम्मकै उच्च तापक्रम रेकर्ड भएको बताएका थिए। तर भारत र पाकिस्तानमा भने तापक्रम वृद्धिसँगै चलेको तातो वायुका कारण लाखौँ मानिस समस्यामा परेको त्यहाँका स्थानीय मिडियामा उल्लेख छ। साथै खडेरीका कारण अधिकांश राज्यहरूमा पानीका मुहान सुक्दा स्थानीयहरू पानीको हाहाकारमा परेको बताइएको छ। 

सन् २०१० यता भारतमा तातो वायुका कारण ६ हजार ५ सय मानिसको मृत्यु भइसकेको र जलवायु परिवर्तनले समग्र दक्षिण एसियाको जनजीवन झनै कष्टकर बनाइरहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्। 

भारतको मौसम विभागका अनुसार तातो वायु शुक्रबार र शनिबारसम्म मध्य र उत्तरी क्षेत्रमा रहेका राज्यहरूमा चल्नेछ भने तातो वायुले देशभर असर पुग्नेछ। यस्तै पाकिस्तानमा पनि यतिबेला औसत तापक्रमभन्दा ८  डिग्री सेल्सियसले तापक्रम बृद्धि भएको त्यहाँको मौसम विभागले जनाएको छ। पाकिस्तानको सिन्ध र अन्य क्षेत्रमा तातोवायु तीव्र रूपले चलिरहेको बताइएको छ। 

गएको मार्च महिना पाकिस्तान पनि सन् १९६१ यताकै सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको थियो। तातो वायुका कारण आगामी महिना हुन लागेको रामदानको समयमा पाकिस्तानी र भारतिय मुस्मिलम समुदायका मानिसको लागि कठिन हुने बताइएको छ। 

वैशाख १६, २०७९ शुक्रबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।