मध्यपुरथिमिको चारदोबाटोमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मध्यपुरथिमिको चारदोबाटोमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

काठमाडौंः भक्तपुरको मध्यपुरथिमिस्थित चारदोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालक एक जनाको मृत्यु भएको छ। पछाडि सवार अर्का एक जना घाइते भएका छन्।

नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र-०२–०२३प ७७६९ नंको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो। मृत्यु हुनेमा चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ। 

वैशाख १३, २०७९ मंगलबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।