१२ वर्षीया बालिका बलात्कार गर्नेलाई ८ वर्ष कैद सजाय
सप्तरी : बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो।
आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए। तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो। अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ।
आरोपीहरुले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियो।
वैशाख ८, २०७९ बिहीबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।