फिलिपिन्समा बाढीः मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता
मनिला : फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ। शक्तिशाली मेगी आँधीपछि आएको बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ।
माटो र पानीको बहावले घरहरू जलमग्न छन्। अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन्।
पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानकारी दिए। बाढी प्रभावित बेबे सहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ठुलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ। अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए।
ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्बिरमा भवनहरू भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ।
वैशाख १, २०७९ बिहीबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।