नेपाल र भारतबीच चार सम्झौतापत्रमा हस्ताक्षर 

नेपाल र भारतबीच चार सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौँ : नेपाल र भारतबीच आज चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। 

समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए। शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन्।

दुई प्रधानमन्त्रको संयुक्त प्रेस सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। दुई पक्षीय उच्चस्तरीय भ्रमणले साझा सहमति निर्माणमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाको भनाइ थियो। म मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिन्छु, उनले भने।

प्रधानमन्त्री देउवाले सीमा समस्याको विषयमा पनि छलफल गरेको बताएका छन्। उनले भने, मैले मोदीजीलाई स्थापित दुई पक्षीय संयन्त्रबाट सीमा समस्या समाधान गर्न आग्रह गरेँ। 

१९ चैत, २०७८, १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।