सर्लाहीको दलित बस्तीमा आगलागी: १३ घर जल्दा २६ लाख बराबरको क्षति

सर्लाहीको दलित बस्तीमा आगलागी: १३ घर जल्दा २६ लाख बराबरको क्षति

सर्लाहीः जिल्लाको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ। शनिबार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीका कारण घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीय ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते भएका थिए। सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार फुसले छाएका घर जलेका हुन्। 

घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको यतिबेला बिचल्ली भएको छ।

आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासवान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासवान, रामविश्वास हजारी, बिकाउ पासवान, नन्नद किशोर पासवान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

मलङ्गवा, हरिवन नगरपालिकाको वारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। 

चैत १३, २०७८ आइतबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।