भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। उनले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए।
“देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ”, उनले भने । प्रम देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जबाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए । उनले थपे, “त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।”
मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उहाँको धारणा थियो। प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाभाविक रहेको उल्लेख गरे।
“सीमित स्रोत–साधनाका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जबाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ”, उनले भने। प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै ‘मरमोलाहिजा’ सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताए।
यसअघि प्रधानमन्त्री देउवाले तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भु, बौद्ध, नमोबुद्ध स्तुपाको उद्घाटनसमेत गरेका थिए। नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज सूर्यमान दोङ, नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाले गाउँपालिकाले जनहितलाई केन्द्र विन्दुमा राखेर काम गरेको बताएका थिए। सो अवसरमा गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले चार करोड ६४ लाखमा गाउँपालिकाको तीन तले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको बताए।
चैत ५, २०७८ शनिबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।