सिंहजस्तै गर्जने माओवादी भेडाको संगतले भ्या-भ्या गर्न थाल्यौँ : प्रचण्ड

सिंहजस्तै गर्जने माओवादी भेडाको संगतले भ्या-भ्या गर्न थाल्यौँ : प्रचण्ड

काठमाडौँ : माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाउन खोज्दा खलनायक बनेर निस्किएको आरोप लगाएका छन्।

सिन्धुलीमा पार्टी कार्यालय उद्घाटन गर्न पुगेका उनले ओलीको नाम लिएनन्। तर पटक-पटक आक्रमण गरे। उनले ओलीलाई प्रतिगममा नायक भन्दै अझै खतरा टरी नसकेको बताए।

'हिजो गणतन्त्रका लागि आन्दोलन भइरहँदा गोरु गाडामा चढेर अमेरिका पुगिँदैन भन्दै प्रतिगमनलाई साथ दिनेहरू अझैँ ज्युँदै छन्। त्यसैले रिल्याक्स भएर बस्ने समय आएको छैन। खतरा टरिसकेको छैन,' प्रचण्डले भने।

उनले पटक पटक लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास भएको अनि संविधान र लोकतन्त्र खारेज गर्ने षड्यन्त्र चिर्न सफल भएको भन्दै उनले अझै पनि प्रतिगमन चाहने शक्ति सक्रिय रहेकाले त्यसलाई परास्त गर्न माओवादीका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।

उनले जनता नबदलिएको बरु माओवादी बदलिएको भन्दै भने' हिजो माओवादीलाई मत दिने जनता उस्तै छन्। बदलिएका छैनन्। बरु माओवादी बदलियो। हामी बिग्रियौँ।'

उनले हिजो सिंह जस्तो गर्जने माओवादी अहिले भेडाजस्तो भ्याभ्या गरेर हिड्ने अवस्थामा आइपुगेको भन्दै भेडाको संगतका कारण यस्तो भएको भन्दै भने' भेडाहरुसँग हिड्दा भ्याभ्या गर्न थालियो। अब सिंहजस्तै गर्जनुपर्यो।'

उनले ज्ञानेन्द्र शाहको गल्तीका कारण गणतन्त्र आएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको गल्तीका कारण माओवादी पुन जनतासँग जोडिने मौका पाएको बताए।

उनले जनतासँग माफी माग्न लजाउनु पर्दैन भन्दै भने' विगतमा हामीले गल्ती गरेकै हौँ। गरेको गल्तीमा माफी माग्न लजाउनु पर्दैन। जनताको घरमा जाँदा माफी माग्दा हुन्छ।'

चैत ५, २०७८ शनिबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।