नेपाल इकोनोमिक्स ओलम्पियाडको राष्ट्रिय प्रतिस्पर्धा फागुन २८ देखि सुरु हुँदै
काठमाडौंः नेपाल इकोनोमिक्स ओलम्पियाडको राष्ट्रिय प्रतिस्पर्धा फागुन २८ देखि चैत १ गतेसम्म काठमाडौंमा हुने भएको छ। काठमाडौंको कलेज अफ म्यानेजमेन्टमा हुने प्रतिस्पर्धामा ७५ जना विद्यार्थी सहभागी हुने बताइएको छ।
देशभरका एक सय १० विद्यालयका सात सय ८९ विद्यार्थीमध्येबाट ७५ जना राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका थिए। सुदूरपश्चिम प्रदेशबाट ३, कर्णाली प्रदेशबाट २, लुम्बिनी प्रदेशबाट ३, बागमती प्रदेशबाट ५, मधेश प्रदेशबाट २, प्रदेश १ बाट ६ जना नेपाल इकोनोमिक्स ओलम्पियाडको राष्ट्रिय प्रतिस्पर्धामा छानिएका छन्।
चार दिनसम्म चल्ने प्रतिस्पर्धामा अर्थशास्त्र, बिजनेस केस एनालिसिस र वित्तीय साक्षरता गरी तीन विधामा परीक्षा हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा अर्थशास्त्र, व्यापार विषयमा लेक्चर सेसनहरू, व्यक्तित्व विकास तालिमहरू र विषयगत चलचित्र प्रदर्शन पनि गरिने छ।
ओलम्पियाडबाट विजेता ११ जनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। देशमा रहेका वरिष्ठ अर्थशास्त्रीहरू र विषय विज्ञहरूले सहभागीलाई उत्प्रेरणा तथा विषयगत ज्ञान प्रदान गर्नेछन्।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, त्रिभुवन विश्वविद्यालय मानविकी विभागका प्रमुख कुसुम शाक्य, राष्ट्र बैंकका निर्देशक गुणाकर भट्ट लगायतले सम्बोधन गर्ने पनि आयोजकले जनाएको छ।
नेपाल इकोनोमिक्स ओलम्पियाड अर्थशास्त्र, व्यवसाय र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरूबिच यसै विषयको सेरोफेरोमा प्रतिस्पर्धा गराउने नेपालको सबैभन्दा ठुलो प्रतिस्पर्धा हो। यसले प्रत्येक वर्ष क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरी तीन चरणमा विगत ३ वर्षदेखि ओलम्पियाड गर्दै आएको छ।
फागुन २५, २०७८ बुधबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।