राष्ट्रिय सभाका १९ सदस्य चुन्न मतदान हुँदै
काठमाडौं : राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य निर्वाचित गर्न बिहान ९ बजेदेखि मतदान हुँदै छ। देशका सात प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतदान सकिए लगत्तै मतगणना सुरु हुने जानकारी दिए। फागुन २० बाट पदावधि सकिन लागेका १९ सदस्य पदका लागि ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेस प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ।
यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।
आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ।
निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनुहुनेछ।
माघ १२, २०७८ बुधबार ०८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।