राष्ट्रिय सभामा कांग्रेसका उम्मेदवार, पार्टीमा पराजित पौडेल र पन्तलाई अवसर
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनमा प्रतिनिधि हारेका कृष्ण पौडेललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै महिला सहमहामन्त्रीमा पराजित कमला पन्तलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो।
पार्टी कार्यालय ललितपुर सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिमा पराजित पौडेललाई बागमती प्रदेशमा र सहमहामन्त्रीमा पराजित पन्तलाई गण्डकी प्रदेशमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
पौडेल कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव हुन्।
मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा प्रदेश १ मा गोपालकुमार बस्नेत, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको लेखिएको छ।
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन कांग्रेसले आव्हान पनि गरेको छ।
पुष १९, २०७८ सोमबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।