जाडोमा मदिराले जिउ तताउँदैन, कठ्याङ्ग्रिएर ज्यान जान सक्छ

जाडोमा मदिराले जिउ तताउँदैन, कठ्याङ्ग्रिएर ज्यान जान सक्छ

काठमाडौंः चिसो मौसममा 'ज्यान तताउन' कतिपयले मदिरा सेवन गर्छन्। तर, वास्तविकतामा मदिराले ज्यान नतताउने चिकित्सकहरूले बताएका छन्। 

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी जाडोमा मदिरा सेवन गरेर ज्यान तात्छ भन्नु भ्रम मात्रै भएको बताउँछन्। ‘जाडोमा रक्सी पिएर जिउ तात्छ भन्नु भ्रम हो,’ उनले भने, ‘मनले चाहिँ जिउ तातेको अनुभव गर्छ। रक्सी पिउन्जेल तातेको जस्तो भए पनि उल्टो सेलाउँछ।’

रेग्मीका अनुसार मदिरा सेवन गर्दा रक्तनलिहरू फूल्ने र सो रक्तनलिबाट शरीरभित्रको तापक्रम बाहिर निस्कने भएकाले तातो महसुस हुने गरेको हो। 

तर, रक्तनलि फुलेर रक्तसञ्चालन छिटोछिटो भइ शरीरको तापक्रम बाहिर निस्कने भएकाले अन्ततः झन् चिसो हुने उनले बताए। उनले भने, ‘सुरुमा न्यानो भएको अनुभव हुन्छ। पछि, शरीरको तापक्रम घट्छ।’

प्रा. डा. दिनेश बाँस्तोला पनि मदिरा सेवन गरेर शरीर तातेको भन्नु भ्रम मात्रै रहेको बताउँछन्। मदिरा सेवनले क्षणिक मानसिक आनन्द मिल्ने तथा शरीर क्रिया विज्ञानमा मानसिक रूपमा तनावरहित बनाउने भएकाले शरीर तातेको महसुस हुने उनी बताउँछन्।  

मनोविद् गोपाल ढकाल मदिराले लट्ठिएको व्यक्ति जाडोको अनुभूति नै गर्न नसक्ने अवस्थामा पुग्ने बताउँछन्। 

'रक्सी पिइसकेपछि जाडो–तातो महसुस गर्ने मस्तिष्कको चेतना नै हराउँछ', मनोविद् ढकालले भने। उनका अनुसार मदिराले व्यक्तिलाई सचेतन (कन्सियस)बाट अर्धचेतन (सब कन्सियस) मनस्थितिमा पुर्याउने र मानसिक रूपमा मात्र जाडोको महसुस नहुने हो। शारीरिक रूपमा भने जाडो हुने उनको तर्क छ। 

बढी मात्रामा मदिरा सेवन गरे मस्तिष्कमा असर पर्ने पनि बताउँछन्।

कठ्याङ्ग्रिएर ज्यान जाने जोखिम
मुटुरोग विशेषज्ञ डा. रेग्मी मदिरा सेवन गरेर चिसो ठाउँमा बसेको खण्डमा कठ्याङ्ग्रिएर व्यक्तिको मृत्यु समेत हुन सक्ने बताउँछन्। उनले भने, ‘बाहिर पनि चिसो, रक्सीको कारणले गर्दा अर्को चिसो थपिँदा कठ्याङ्ग्रिएर मृत्युको जोखिम हुन्छ।’

मस्तिष्कले थाहा नपाउने तर, शरीरलाई जाडो भइरहेको अवस्थामा कठ्याङ्ग्रिएर मृत्युको जोखिम हुनेतर्फ ढकाल पनि सचेत गराउँछन्। 

जाडोमा मदिराको सट्टा तातो झोलिलो पदार्थ सेवन गर्न चिकित्सकको सुझाव छ। ज्यान तताउने नाममा मदिरा सेवन नगर्न उनीहरूको सुझाव छ।

पिउन्जेल रमाइलोः स्मरण शक्तिमा प्रहार
चिकित्सकहरूका अनुसार मदिरा सेवनले सबैभन्दा पहिले मस्तिष्कमा प्रभाव पार्छ। त्यसपछि कलेजो, आमाशय, मृगौला, रक्तकोषिका जस्ता अङ्गमा प्रभाव पर्दै जान्छ। 

यसले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। 

डा. बाँस्तोला मदिरा सेवन गरेको अवस्थामा शरीरको चालमा गडबढी हुने, मुटुको चाल शरीरबाहिरैबाट थाहा पाउनेगरी ढुकढुक गर्नेलगायतका लक्षण देखिने बताउँछन्। 

'अल्कोहल सेवन गरेको बेला स्मरण शक्ति कम हुन्छ। निशाना काट्न सकिँदैन', डा. बाँस्तोलाले भने, ‘रमाइलोका लागि खाइन्छ। पिउन्जेल उत्तेजना बढाउँछ। पिर चिन्ता टाढा गराउँछ।’ 

मनोविद् ढकाल पनि मदिरा सेवनले चेतन मनमा पनि असर गर्ने भएकाले सही वा गलत छुट्याउन कठिन हुने बताउँछन्। 

लत लाग्ने जोखिम
तनाव बिर्सन र आरामसँग निद्रा लागोस भनेर धेरैले मदिरा पिउने गरेको ढकाल बताउँछन्। 

डिप्रेशन, सिजोफ्रेनिया जस्ता मानसिक रोगको समस्या भएको बिरामीले मदिरा सेवन गर्नसक्ने जोखिम हुने उनी बताउँछन्। ढकालका अनुसार निरन्तर मदिरा सेवन गर्दा उल्टै मानसिक रोगको सिकार बन्ने जोखिम उच्च हुन्छ।

निरन्तर मदिरा पिउनु, एकछिन पनि मदिराबिना बस्नै नसक्नु, छोड्न नसक्नु, ह्याङ्गओभर हटाउने बाहानामा फेरि पिउनु मदिरा सेवनका लत हुन्। असन्तुलित रूपमा पिउनु, पिउँदै छोड्दै गर्नु पनि लत हो।

मदिरा सेवनको लत लागेको खण्डमा विभिन्न उपचार विधि अपनाई लत छुटाउन भने सकिने ढकाल बताउँछन्।  मनोपरामर्श, साइको थेरापी, औषधि सेवन, पुनर्स्थापन केन्द्रमा राख्ने जस्ता विधि अपनाएर मदिरा सेवनको लत छुटाउन सकिने उनले बताए। 

डा. बाँस्तोला नियमित मदिरा सेवन गरिरहेको व्यक्तिले एकैचोटी सेवन गर्न छोड्दा हातखुट्टा काम्नेलगायतका समस्या हुने बताउँछन्। त्यसैले मदिरा सेवन गर्न छोड्दा बिस्तारै सेवन गर्ने मात्रा घटाउँदै लैजान डा. बाँस्तोलाको सुझाव छ। चिकित्सकको मतअनुसार कहिलेकाहिँ मदिरा पिउनुलाई लतको रूपमा लिइँदैन। 

मदिरा सेवन गर्न नपाउँदा छट्पटी हुने, रिस उठ्ने, हातखुट्टा काम्ने जस्ता लक्षण देखिनुलाई चिकित्सकीय भाषामा 'विथड्रल सिम्टम' भनिन्छ। यस्ता लक्षण देखिएको खण्डमा मदिरा पिएपछि भने व्यक्ति शान्त हुने ढकाल बताउँछन्। 

उपचार नै गरे पनि मदिरा सेवनको लतमा परेका व्यक्तिको पुनः लत दोहोरिने सम्भावना ५० प्रतिशत हुने भएकाले निरन्तरको मनोपरामर्श आवश्यक हुने ढकाल बताउँछन्। 

त्यसैगरी मदिरा सेवनले रक्तचाप, मुटुको धड्कन बिग्रने, पेटलाई असर पर्ने, क्यान्सरको जोखिम हुने लगायतका नकारात्मक असर पर्छन्। 

१५ पुस, २०७८, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।