बालुवामा लगानी लाखौँ आम्दानी 

बालुवामा लगानी लाखौँ आम्दानी 

कोसी कटानको कारण सुनसरीको हजारै बिघा जग्गा मरुभूमि भएको छ। केही परिवार विस्थापित भएका छन् । अहिले बसिरहेका मध्ये पनि अधिकांश वैदेशिक रोजगारीको कमाइको भरमा छन्। खेतीयोग्य जमिन बाझोभएपछि उनीहरू छोरा नातिको भर परेका छन्। बालुवामा खेती गर्ने तरिका नबुझेका कृषक अहिले बिचल्लीमा छन्। 

तर, बालुवामा खेती गरेका किसान भने मालामाल भएका छन्। पुस्तौँदेखि कृषि पेसा अङ्गाल्दै आएका कृषकले पुनः त्यसैमा भविष्य देखेका छन्। 

१० वर्षसम्म विदेशमा काम गरेर फर्किएका साहवुद्धीन हाक भविष्य देख्नेमध्येका एक हुन्। उनले अहिले डुबानमा परेको त्यही जमिनमा कागती खेती गरिरहेका छन्। 

पहिला धान, गहुँ, मकै र आलुमा निर्भर कृषि पेसा अब कागती खेतीबाट सुरु भएको छ। बालुवामा केही नहुने भन्दै तनावमा बाचिरहेका स्थानीयको लागी साहबुद्धीन एक उदाहरण बनेका छन्। १० वर्ष कतारमा काम गर्दा युट्युबबाट पाएको ज्ञानले काम गरेको उनी बताउँछन्। भारत, इजरायल जस्ता देशमा बालुवामा भएको खेती देखेपछि आफू आकर्षित भएको उनले सुनाए। 

उनीसँगै विदेश गएका उनका मामा मोहम्मद इसुकले पनि कागती खेतीमा लगानी गरेका छन्। कोसी गाउँपालिकामा सहयोगमा व्यवसाय सुरु गरेको साहबुद्धीनले बताए। आफ्नै गाउँमा कमाउन सकेको खुसी व्यक्त गरे उनले। 

‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाई हुन्छ जस्तो लागेको छ। विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नुपर्थ्यो। त्यो पनि मनमा चिन्ता उस्तै हुने’,उनले भने,‘अहिले आनन्द छ। घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो। म खुसी छु।’ 

पहिलो चरणमा ८ सय बोटमा कागती फलाएका उनले २ लाखको कागती बिक्री गरिसकेका छन्। २ वर्ष मेहनत गरेर २५ वर्षसम्म फल खान पाइने भएकाले कागती फाइदाजनक भएको उनले बताए। कागतीमा दाना बाहेक कलमी बिरुवाको विक्रीले थप आम्दानी बढेको उनले सुनाए। साहबुद्धीनका अनुसार एउटा बोटबाट २० वटा बिरुवा उत्पादन गर्न सकिन्छ। २ सय रुपैयाँका दरले बिरुवा बिक्री गर्दा एक बोटबाट ४ हजार कमाई हुन्छ।

गाउँपालिकाको चासो  

उनले सुरु गरेपछि कोसी गाउँपालिकाले पनि त्यसमा चासो दिएको छ। गाउँपालिकाकै लगानीमा कृषकले कागती खेती सुरु गरेका छन्। गाउँपालिकाको सहयोगमा अस्गर अलीले १ बिघा जग्गामा कागतीको बिरुवा रोपेका छन्। उनले पनि गत वर्ष मात्र २ लाख बढीको विक्री गरे। भारतीय सीमावर्ती क्षेत्र भएकाले चोरीको डर हुने उनले बताए। उनका अनुसार झन्डै १ लाख बराबरको कागती चोरी भयो। 

२ वर्ष अघि सुरु गरेको कागती खेती अहिले रहरलाग्दो भएको छ। कागतीको बोटमा फूल फुल्न थालेपछि उनको मन फुरुङ्ग भएको छ। बिहानैदेखि कागतीकै स्याहारमा लाग्छन् उनी। दिउँसो बालुवा तातेर काम गर्न असहज हुनेभएपछि बिहान र साँझ उनी निक्कै व्यस्त हुन्छन्। दिउँसोको समय पनि गाई भैँसी र अन्य बालीको लागि छुटाएका छन्। 

कोसी कटान भएपछि २ वर्ष निक्कै तनावमा बिताएको बताउँछन् उनी। त्यसपछि ठेकेदारी काममा लागे। ठेकेदारीमा खासै पारा नआएपछि उनी पुनः कृषिमै फर्किए। डुबानमा परेको खेतबाट बालुवा निकाले। केही जमिन खाली भयो । त्यसैमा उखु खेती सुरु गरे। चिनी मिलसँग मिलेर खेती गरेका उनी त्यसमा पनि डुबे। मिलले पैसा नदिएपछि उनले उखु खेती मासिदिए। त्यसपछि धान, मकै र आलु खेतीमा लागे उनी। त्यसले मनग्गे आम्दानी दिएपछि बल्ल सास फेरेको उनले अनुभव सुनाए।  

गत वर्ष मात्र ४ लाख बराबरको आलु बिक्री गरेको उनले बताए। बालुवा निकाल्न नसकेको बाकी जमिनमा भने उनले कागती खेती लगाएका छन्। गाउँपालिकाले भारतको राजस्थान भ्रमणमा लगेपछि उनी कागती खेतीका आकर्षित  भए। २५ जनाको टोलीमा उनले मात्र कागती खेतीमा चासो देखाए। 

उनी कागतीसँगै खरबुजा खेतीको तयारीमा पनि लागेका छन्। खरबुजाको उत्पादन र माग दुवै राम्रो भएकाले त्यसमा ध्यान दिएको उनले बताए। त्यससँगै केही जग्गामा ड्रागन फुडको खेती गर्ने उनको योजना छ। बगर तथा सुख्खा ठाउँमा हुने बयरले समेत आम्दानी दिनसक्ने उनले बताए।

१४ पुस, २०७८, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।