सुर्खेतको काँक्रेविहार : मन्दिर बन्यो, अनियमितता विवादले बनेन पर्खाल

सुर्खेतको काँक्रेविहार : मन्दिर बन्यो, अनियमितता विवादले बनेन पर्खाल
ड्रोनबाट खिचिएको तस्बिर सौजन्य : पत्रकार हरिहरसिंह राठौर

दोस्रो लुम्बिनीका रूपमा चिनिएको काँक्रेविहार विक्रम संवत् १९९० को भुईँचालोले भत्काएपछि पुनः शिखर शैलीमा निर्माण गरिएको हो।

मन्दिर भत्किएको मिति थाहा पाए पनि कहिले बनेको भन्ने मिति वडाध्यक्षलाई पत्तो छैन। वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धर काँक्रेविहार महायानी बौद्ध धर्म मान्ने सिंजा साम्राज्यका राजा अशोक मल्लले विक्रम संवत् १३२५ मा बनाएको भन्ने किम्बदन्ती रहेको सुनाउँछन्। उनले भने, ‘यद्यपि कहिले बनेको भन्नेबारे पुरातात्त्विक विभागसँग दस्ताबेज छैन।’

१९९० मा भत्किएको मन्दिर १७ वर्ष अघिदेखि मात्र पुनः निर्माण सुरु भएको थियो। मन्दिर पुननिर्माणकै क्रममा २०७२ सालमा गयो। पुरानै शैलीमा निर्माण गर्न भक्तपुरबाट कालिगड ल्याइएको थियो। 

मन्दिर भत्किएपछि वरपर छरिएर रहेका पत्थरलाई पुरानै शैलीमा कुँदेर बनाइएको छ। केही पत्थर बाहिरबाट ल्याइएको वडाध्यक्ष मानन्धरले बताए। २१.५ मिटर अग्लो मन्दिरको टुप्पोमा गजुर राखिएको छ। 

पुरातत्त्व विभागले २०५७ सालदेखि भत्किएको काँक्रेविहार मन्दिरको भग्नावशेष उत्खनन गर्न सुरु गरेको थियो। उत्खननपछि यो मन्दिरको शैली र पुरातात्त्विक महत्त्व देखेर पुरानै संरचनामा पुनर्निर्माण थालिएको थियो।

पछि २०७२ सालदेखि ८ करोड १८ लाख रुपैयाँमा ठेक्का लिएर काठमाडौँको सिद्धबाबा कन्स्ट्रक्सनले मन्दिर पुनर्निर्माणको काम सुरु गरेको वडा अध्यक्ष मानन्धरले जानकारी दिए।

२०७५ असारमा निर्माण सक्नु पर्ने भए पनि पटक/पटक म्याद थपेर दुई वर्षपछि मात्रै निर्माणको काम सकिएको छ। 

चौकीदार राख्ने, पर्यटकहरूलाई टिकट वितरण गर्ने जिम्मा वीरेन्द्रनगर–९ को वडा कार्यालयले लिएको छ। अहिले काँक्रेविहार मन्दिरमा घुम्ने पर्यटकको सङ्ख्या बुद्धि भएको वडा कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

‘शुक्रबार र शनिबार घुम्न आउने पर्यटकको सङ्ख्या एक हजारभन्दा बढी हुन्छ,’वडा अध्यक्ष मानन्धरले भने, ‘अन्य दिनमा डेढ सयदेखि माथि टिकट बिक्री हुने गरेको छ।’

नेपालीलाई १० र विदेशी नागरिकलाई २० रुपैयाँ टिकटको शुल्क लिने गरिएको छ। सिजन अनुसार महिनामा २० देखि ४० हजारसम्म आम्दानी हुने गरेको वडा कार्यालयले जनाएको छ।

पर्खाल बनाउन नदिन मुद्दा

काँक्रेविहार पुनर्निर्माणपछि त्यहाँको रेखदेखको काम वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ। काँक्रेविहारबाट राजश्व सङ्कलन गर्ने प्रयोजनका लागि छुट्टै परिषद् बनाएर जिम्मा दिने तयारी गरिएको अध्यक्ष मानन्धरले बताए। 

काँक्रेविहारको जङ्गल वरिपरि पनि पर्खाल बनिरहेको छ। निर्माणाधीन पर्खालको विषयमा भने अहिले अदालतमा मुद्दा परेको छ। दुई वर्षका लागि भएको टेन्डर अनुसार पर्खाल निर्माणमा अनियमितता भएको भनेर मुद्दा परेको छ। विभिन्न वन्यजन्तुको वासस्थान रहेको काँक्रेविहार क्षेत्रको क्षेत्रफल १७५ हेक्टर रहेको छ। यो नेपालको पहिलो संरक्षित वन पनि हो।

पर्खाल निर्माण भएपछि काँक्रेविहार क्षेत्रमा चिडियाखाना पनि निर्माण गरिने छ। चिडियाखाना वीरेन्द्रनगर नगरपालिकाले बनाउन लागेको हो।

१४ पुस, २०७८, ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।