हिजो झुम्मिने फ्यानले आज चिन्दैनन् यी कलाकार

हिजो झुम्मिने फ्यानले आज चिन्दैनन् यी कलाकार

उनको नाकमुनि हल्का जुँगाको रेखी बसेको छ। ज्यान हलक्क बढेको छ। बोली पनि धोत्रो हुँदै गएको छ। किशोरावस्थामा रहेका अनुभव हट्टाकट्टा ज्यान भएका पुरुषमा रुपान्तरण भइरहेका छन्। उनी झन्-झन् सुन्दर बन्दै गएका छन्। 

उमेर बढेसँगै अनुभवले बालापनमा जम्मा पारेको क्रेज भने घटिरहेको छ। अब उनी बाल कलाकारका लागि असुहाउँदो बनेका छन्। सम्भवत: 'प्रेम गीत ३' नै बाल कलाकार बनेर अभिनय गरेको उनको अन्तिम फिल्म हुनेछ।

कोभिडअघि बनेको फिल्म प्रेम गीत ३ सम्म उनी अलि सानै थिए। कोभिड यताको दुई वर्षमा नपत्यारिलो तरिकाले हलक्क बढेका छन्।

वि.सं. २०७१ साल वैशाखमा निर्देशक विकासराज आचार्यले निर्देशन गरेको फिल्म 'नाइँ नभन्नु ल २' ले बम्पर ओपनिङ गर्यो । अनुभव यही फिल्मबाट डेब्यु गरेका बाल कलाकार हुन्। रुन सिपालु अनुभवले दर्शकको मन पनि राम्रैसँग जिते।

उनी फिल्ममा रोएको रोयै गरे। त्यसैमाथि भाइरल प्रेम परियारले मार्मिक गीत गाइदिए फिल्मका लागि 'मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर' हुँदैन। यो गीत गाएको अभिनय गर्दै रुँदै गरेर अनुभवले धेरैको आँखाबाट आँसु खसाल्न सफल भए।

डेब्यु फिल्ममा अनिभय गर्दा अनुभव जम्मा सात वर्षका थिए। सानो उमेरमै उनले निकै जटिल पात्रको अभिनय गरे। उनको अभिनय, अभिनय कम वास्तविकता धेरै लाग्थ्यो।

अहिले उनी १४ वर्ष पुगेका छन्। बाल कलाकार बनेर डेब्यु गरेको सातै वर्षपछि उनको बाल कलाकारिताको यात्रा टुङ्गिएको छ।

अब उनी दर्शकलाई म पनि हुर्किएँ भन्न चाहन्छन्। यस्तै परिवेश निकालेर उनले म्युजिक भिडियोमा पनि काम गरे। 

म्युजिक भिडियोको परिवेश यस्तो छ
उस्तै अनुहार भएका जुम्ल्याहा केटी नजिकैबाट जान्छन्। अनुभवले सुइँय्य सिट्ठी बजाउँछन्। दुवै केटीहरु फरक्क फर्केर अनुभवलाई हेर्छन् र भन्छन्, 'हैन यो नाइँ नभन्नु ल को फुच्चे हैन, फुच्चे भएर पनि जिस्क्याउँदो रहेछ।'

अनुभवसँग उभिएका युवाले फुच्चे भनेर गए भन्दै खिसीको भावले हेर्छ। अनुभव कुम जोड्दै अब आफू ठूलो भएको सुनाउँछ र पुरानो फिल्म हेरेर फुच्चे भन्न नपाउने तर्क गर्छ। अनि गीत सुरु हुन्छ, 'ओके माया ओके, मनमा भाको सबै माया तिमीसँगै पोखें।'

अनुभवको अभिनय मात्रै हैन, म्युजिक भिडियो हेरेपछि थाहा हुन्छ, उनको नृत्य पनि गज्जबको छ। तर उनी हुर्किएको कुरा दर्शकले स्वीकार्न सक्लान् या नसक्लान् यतिबेला चासोको विषय यही बनेको छ। किनभने पहिले बाल कलाकारको भूमिका निभाएका धेरै कलाकारलाई दर्शकले अरु भूमिकामा स्वीकार्न नसकेका उदाहरण छन्। एक उदाहरण हुन्, जिरे खुर्सानी नामको हाँस्य श्रृंखलाबाट जिरेको भूमिमा डेब्यु गर्ने बाल कलाकार इशान राउत। 

एक अन्तर्वार्तामा पुराना दिनहरु सम्झँदै इशानले भनेका छन्, 'बितेका दिनहरु सपना जस्ता लाग्छन्। दर्शकहरु रेखा थापा र बिराज भट्टलाई छाडेर मेरो वरपर झुम्मिन्थे। अब यो सपना भइसकेको छ।'

इशानलाई बच्चा बेलाको जिरे यही हो भनेर कमैले चिन्छन्। उनी भन्छन्, 'आफैंले म बच्चा बेलाको जिरे हुँ भन्दै चिनाउन जाने कुरा भएन, दर्शकले बिर्सिहाले, चिन्दैनन्।' 

पहिले साना बच्चादेखि लौरो टेक्नेसम्मले जिरे भनेर चिन्थे, अहिले मै हुँ जिरे भन्दा पनि नचिन्ने बताउँछन् उनी। भन्छन्, 'बच्चा बेलामा सेलिब्रेटी थिएँ, अहिले सामान्य नागरिक बनेको छु। मानिस हुँ, सधैं बच्चा बनिरहन कहाँ सकिँदोरहेछ र!'

हुन पनि सानो बेलाको जिरे अब ठूलो भएर इशान बनेका छन्। जिरेको कुनै अंश उनको शरीरमा, रुपरेखामा या चरित्रमा बाँकी छैन। चञ्चले जिरे अहिले भलाद्मी इशान बनेका छन्।

अघिपछि लाग्ने दर्शकले नचिन्दा केही समय इशानलाई स्वीकार्न गाह्रो भयो। उनी पुराना दिनहरु सम्झेर रुन्थे रे। 'प्रतिभा मसँगै छ। मान्छे उही हुँ। बस् अब जिरेको चरित्र निभाउन सक्दिनँ,' इशान भन्छन्। 

अहिलेको जस्तो सामाजिक सञ्जाल, युट्युब भएको भए आफू हराउन्न थिएँ कि जस्तो पनि लाग्छ इशानलाई। भन्छन्, 'अहिलेको जस्तो मिडिया हात-हातमा थियो भने म हुर्किएको बढेको र चिन्न नसक्ने बनेको दर्शकले देख्थे होलान्। उनीहरुले मलाई अझै पछ्याउँथे होलान्।'

इशान जस्तै 'तितो सत्य' टेलिसिरियलमा राजको भूमिका निर्वाह गर्ने बाल कलाकार राज आचार्य पनि दर्शकको नजरबाट हराए। झप्प दाह्री जुँगा पालेका उनी अहिले लक्का जवान भएका छन्। 

राज अहिले गायक बनेका छन्। आफूले गाएको गीतको म्युजिक भिडियोमा आफै खेल्छन्। बच्चा बेलामा बाल कलाकारको भूमिकामा जसरी दर्शकले स्वीकारेका थिए, अहिले त्यसैगरी स्वीकार्न सकेका छैनन्। दर्शकको आँखामा राज भन्ने बित्तिकै तितो सत्यमा देखिएको दीपक र दीपाको छोरो मात्रै बन्न सके उनी।

इशानको तुलनामा राजलाई दर्शकले बाटोघाटो हिँड्दा भने चिन्न सक्छन्। लामो समयसम्म चलेको तितो सत्यमा उनले हल्का जुँगाको रेखी बस्दासम्म काम गरेका थिए। हुँर्कदै गएपछि उनको चर्चा कम हुँदै गयो र अन्त्यमा तितो सत्यबाट बाहिरिए। कलाकारितामा राज आचार्य बन्न उनको संघर्ष जारी छ।

बाल कलाकारको मनोबिज्ञानमा ध्यान दिन जरुरी
विभिन्न सामाजिक सञ्जालको प्रयोग बढेसँगै बाल कलाकारहरु बढेका छन्। टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरुले पनि बाल कलाकार जन्माउने काम गरिरहेको छ। मनोविद् डा. मिनाक्षी दाहाल भन्छिन्, 'बालबालिकाको प्रतिभा उजागर गर्नु राम्रो हो तर उनीहरुलाई सामान्य वातावरणमा हुर्काउन जरुरी छ।'

हुर्किएका मानिसलाई समेत क्षणिक चर्चा सम्हाल्न समस्या पर्ने भन्दै उनले भनिन्, 'बाल कलाकारको समय अवधि थोरै हुन्छ। ऊ हुर्किएपछि बाल कलाकार हुँदैन। वरपर बसेका फ्यानहरुले छिट्टै नचिन्न सक्छन्। जसका कारण उनीहरुको मानसिक स्वास्थ्यमा असर गर्नसक्छ।'

बाल कलाकारलाई अन्य बालबालिका जसरी हुर्काउन सकिएन भने त्यसले गम्भीर दुर्घटना निम्त्याउने पनि उनले बताइन्। भनिन्, 'यदि बालबालिकाले आफूलाई सबैभन्दा शक्तिशाली ठान्न थाल्यो भने ऊ गलत बाटोमा हिँड्न थाल्छ। मान्छेलाई मान्छे गन्न छाड्यो भने कुलतमा फस्नेदेखि खुसी खोज्दै उसले जे पनि गर्नसक्छ।'

तीन वर्षसम्म बालबालिकालाई गीत सुनाउन हुँदैन भन्ने मान्यता विकसित देशहरुमा भएको भन्दै उनले भनिन्, 'हामी त हाम्रा बालबालिकालाई तीन वर्षको उमेरमा प्रतियोगी बनाएर प्रतिस्पर्धा गराइरहेका छौं। यसले बालबालिकाको अधिकार हनन भइरहेको छ। उसले पढ्ने, खेल्ने र साथीभाइ बनाउने समयमा प्रतिस्पर्धा गर्नु भनेको जीवन निर्वाहका लागि चाहिने फाउन्डेसन समय बिताउन नपाउनु हो।'
 

१३ पुस, २०७८, १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।