नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता

नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता

काठमाडौँ : उज्बेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।

मङ्गलवार बङ्गलादेशको ढाकामा भएको प्रतिस्पर्धात्मक फाइनलमा नेपालले उज्बेकिस्तानलाई ३-२ को सेटमा हराएको हो। प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो।

सुरुवातदेखि नै उज्बेकिस्तानले खेलमा अग्रता लिँदा नेपालले १८-१८ मा अङ्क बराबरी गरेको थियो। त्यसपछिको प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा जित निकालेको थियो।

दोस्रो सेटमा उज्बेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो। नेपाल १९-२३ ले पछि परेको थियो। उज्बेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए। त्यसपछि नेपालले अङ्क जोड्दै सर्भिस पायो। नेपालले खेल २४-२४ मा पुर्याउन सफल भए पनि दोस्रो सेट ट्राइब्रेकरमै २४-२६ ले गुमाएपछि उज्बेकिस्तान खेलमा  फर्किएको थियो।

तेस्रो सेटमा नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनाएको थियो। १०-११ ले पछि परेको नेपालले लगातार ८ अङ्क जोड्दै १८-११ को अग्रता बनाउँदै खेल २५-१५ ले जित्यो।

चौथो सेटमा उज्बेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्याएको थियो। त्यसपछि निर्णायक सेट नेपालले १५-११ ले जित्दै उपाधि पाउन सफल भयो।

१३ पुस, २०७८, १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।