नेतृत्त्वको दौडमा माओवादीका युवा नेता: बाहिर कराउने, भित्र 'दिए खाने'

नेतृत्त्वको दौडमा माओवादीका युवा नेता: बाहिर कराउने, भित्र 'दिए खाने'

काठमाडौं: नेकपा माओवादी केन्द्रमा युवाको पालो कहिले आउँछ? धेरै पटक गरिएको तर उत्तर नपाएको प्रश्न हो यो। बेलाबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'साथीहरूले रिटायर्ड हुन दिएनन्' भन्दै घुमाउरो पारामा उत्तर भने दिइरहेका छन्।  

माओवादीको अन्तरिम विधान २०७८मा पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनिएको छ। पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने व्यवस्था गरिएको छ। तर, पदाधिकारीको सङ्ख्या तोकिएको छैन। 

एमालेसँग पार्टी एकता हुँदा ४० प्रतिशत हिस्सा पाएको माओवादीको नेता व्यवस्थापन त्यहीअनुसार भयो। अदालतको पार्टी ब्युँत्याएपछि भने माओवादीले पुरानै संरचनालाई निरन्तरता दिएको छ। 

स्थायी कमिटीका रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमालेमै रहेपछि हाल माओवादीको स्थायी कमिटी १४ सदस्यीय छ। 

प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरले, गणेश शाह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपानी खनाल स्थायी कमिटी सदस्य छन्। 

नयाँ चुनिने पदाधिकारी स्थायी कमिटी सदस्यहरूमध्येबाटै बन्ने पक्का छ। अध्यक्षपछिको कार्यकारी पद रहेकाले महासचिव बन्न भने प्रतिष्पर्धा हुने देखिन्छ। 

कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा महासचिवका दाबेदार देखिएका छन्।

पार्टीभित्र केन्द्रदेखि तल्लो तहसम्म बलियो गुट भएकाले वर्षमान पुन र जर्नादन शर्मा महासचिवको दौडमा अरूभन्दा अघि छन्। 

शर्मा कुनै पनि हालतमा पछि नहट्ने मूडमा छन्। शर्मा हाल  अर्थमन्त्रीका रूपमा मन्त्रिमण्डलमा छन् भने पार्टीको संगठन विभाग प्रमुख पनि हुन्। पुन पनि स्कुल विभाग प्रमुख हुन्। पुन हाल चीनमा उपचाररत छन्। 

पार्टी संगठन निर्माणको लागि देश दौडाहामा निस्किरहने नेता पुन महाधिवेशनमा रूपान्तरण गरिने राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुने छैनन्। 

‘पार्टीभित्र सम्मानीत पद पाउनुहुनेछ, यदी निर्वाचन नै हुने हो भने उहाँले वारेसनामाबाट उम्मेद्वारी दर्ता गराउनुहुनेछ', पुननिकट एक नेताले भने। 

यता उनी बिरामी भएको लाभ जनार्दनले लिइरहेका छन्। वाईसीएल, अखिल क्रान्तिकारीलगायतका संगठनमा शर्माले आफूनिकटलाई नेतृत्त्वमा ल्याइसकेका छन्। 

प्रदेश १को अध्यक्षमा उनकै स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन्। 

पार्टी मजबुत पार्ने प्रचण्डले महासचिव पदमा महरालाई ल्याउन पनि सक्छन्। किनकी महराले नेत्रविक्रम चन्द 'विप्लव', मोहन वैद्यलगायतसँग पार्टी एकीकरणका लागि पहलसमेत गरिरहेका छन्। 

महासचिवबाहेकका पदमा भने नेतृत्त्व सहजै चयन हुने देखिएको छ। प्रचण्डपछि दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन्। दोस्रो वरियतामा अधिकांश स्थायी कमिटी सदस्यले श्रेष्ठलाई स्वीकार गरेका छन्। 

महरा महासचिव नभए उपाध्यक्षमा 'सेटल' हुनेछन्। पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ र गिरिराजमणि पोखरेललगायतका नेताहरू पनि उपाध्यक्षमा बस्ने सम्भावना देखिन्छ। 

उपमहासचिवमा मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, गणेश साहलगायतको सम्भावना छ। सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना छ।

‘पुरानै महासचिव भएको हुनाले कृष्णबहादुर महरा सर्वसम्मत देखिनुहुन्छ, त्यसपछि वर्षमान पुन, महिलाबाट पम्फा भुसाल, जनार्दन शर्मा पनि हुनुनहुन्छ', माओवादीका एक नेताले भने।

संवादको ढोका खुला राखेर पम्फा भुसालले महासचिवको दावी गरेकी छिन्। ‘मेरो पनि पार्टीभित्र योगदान छ। आफूलाई सावित गरिसकेको छु। म सो पदको लागि योग्य छु’, भुसालले भनिन्।

वर्षमान पुनलाई महासचिव बनाएर हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, पम्फा भुसाल, देव गुरुङलगायतको टीमलाई राखेर जनार्दन शर्मा र शक्ति बस्नेत उपमहासचिवमा जाने तयारी देखिएको एक नेताले बताए।

महरा सके महासचिव नभए उपाध्यक्ष रहने र यसो हुँदा वर्तमान वरियताअनुसार हुने ती नेताले जानकारी दिए। 

युवा प्रतिनिधित्व बढाउन माग 
३४ वर्षअघि युवाको रूपमा पार्टी हाँक्न आइपुगेका थिए- प्रचण्ड। मशालदेखि माओवादी केन्द्रसम्म आइपुग्दा उनले युवाहरूलाई नेतृत्त्व लिन तयार भने पारेका छैनन्। 

युवाहरू भने नेतृत्त्व लिन तयार रहेको बताउँछन्। वर्तमान विधानमा युवाहरूको प्रतिनिधित्व २० प्रतिशत रहने उल्लेख छ। 

‘२० प्रतिशत मात्र होइन, देशको जनसंख्याअनुसार ४० प्रतिशत युवाहरूलाई केन्द्रीय कमिटीमा ठाउँ दिनुपर्छ। होइन भने निर्वाचनको प्रक्रियाबाट प्रतिस्पर्धा गर्ने अवसर पार्टीले युवाहरूलाई दिनुपर्छ', केन्द्रीय सदस्य रञ्जित तामाङले उकेरासँग भने, ‘होइन भने यत्रो पार्टीको महाधिवेशन गरेर पनि पुरानै केन्द्रीय सदस्य वा पदाधिकारीलाई सुन-पानी छर्किने हो भने यो सम्मेलन वा महाधिवेशनको अर्थ र औचित्य रहँदैन।’ 

पुरानो कमिटी परीक्षण भइसकेकाले त्यसले मात्र माओवादी आन्दोलनलाई एकताबद्ध सुदृढ र नेता कार्यकतामा जागरण ल्याउन नसक्ने प्रमाणित भैसकेकाले युवालाई अवसर दिनुपर्नेमा तामाङको जोड छ। 

उनले पार्टीको पदाधिकारी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा युवाहरूलाई अवसर दिइनुपर्ने भन्दै नयाँ पुस्ता नेतृत्त्व लिन तयार रहेको बताएका छन्। 

प्रचण्डले कति समयसम्म नेतृत्त्व गर्ने र उनको कार्यकालपछिको माओवादी कस्तो हुन्छ भन्नेमा छलपल हुनुपर्ने उनको जोड छ। प्रचण्डबिनाको माओवादी आन्दोलन पनि रहन्छ र चल्न हुन्छ भन्ने आशा देखाउनु पर्ने उनको मत छ। 

'एउटा नेतृत्त्व पार्टीभित्र अविछिन्न रूपमा कतिसम्म रहने र कति कार्यकाल रहने पार्टीभित्र नीतिको रूपमा तयार गरिनुपर्छ। कार्यकारी पदमा एक वा दुई कार्यकाल रहने व्यवस्था नीतिमा समेट्नुपर्छ’, तामाङले उकेरासँग भने। 

अर्का केन्द्रीय सदस्य उत्तम अधिकारी विधानले व्यवस्था गरेअनुसार युवाको प्रतिनिधित्व हुन सके मात्र पार्टी एक स्थितिमा पुग्ने बताउँछन्। 

०६२-०६३ मा युवा वर्षमान, विप्लवलगायतका नेता भएकाले युवाहरू माओवादीमा रहेछन् भन्ने देखिएको तर अहिले कांग्रेसमा गगन-विश्वप्रकाशहरू आएकाले युवाहरू कांग्रेसमा रहेछन् भन्ने देखिएको भन्दै उनले भने, 'अजेण्डा हाम्रो पार्टीसँग हुने, हाम्रो अजेण्डामा सबै पार्टीहरू पक्ष विपक्षमा वहश गर्ने, राष्ट्रिय राजनीतिको अजेण्डा हाम्रो हुने, तर नेतृत्त्वका हिसाबले हामीले पुरानो जस्तो देखिनेभयौं, त्यो ब्रेक हुनुपर्छ।’ 

पार्टी आन्दोलन धानिरहेका र ४० वर्ष नाघेकालाई पनि पार्टीको कार्यकारी पदमा ठाउँ पाउनुपर्ने अधिकारीको भनाइ छ। 

‘२० प्रतिशत भनेको ४० वर्षमुनिको हो। कतिपय पोलिटब्यूरो सदस्यहरूको फिल्डमा काम नभए पनि तत्काल बिदा गरिहाल्ने स्थितिमा पनि पार्टी छैन। युवाहरूको प्रतिनिधित्व धेरै भए राम्रो हुन्छ', उनले भने।

महिला, मुस्लिमलगायतको समावेशी पार्टी बनाउन २० प्रतिशत युवाको प्रतिनिधित्व कार्यान्वयन गर्न सकिए अग्रगामी हुने उनले बताए। 

नेतृत्त्वमा युवा हुनुपर्छ भनिए पनि निर्वाचन भएको अवस्थामा युवा समूहबाट कसले कुन पदमा उम्मेदवारी दिने भन्ने तयारी गरेको पनि देखिँदैन। यसले युवा पङ्क्ति पनि 'दिए खाने' भन्ने सोचले बढी ग्रस्त देखिए। 

उनीहरूले पार्टी नेतृत्त्वलाई लोकतान्त्रिक विधिबाट नेतृत्त्व चयनका लागि दबाव दिन समेत सकेका छैनन्।

११ पुस, २०७८, ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।