'नेपाली चलचित्र बजारमा दलालतन्त्र हावी छ, हलिउड-बलिउड बिक्छ, नेपाली पछि पर्छ'

'नेपाली चलचित्र बजारमा दलालतन्त्र हावी छ, हलिउड-बलिउड बिक्छ, नेपाली पछि पर्छ'

नेपाली चलचित्र वृत्तमा धेरै सुनिने नाम हो- मनोज पण्डित। चलचित्र निर्देशक तथा समीक्षकको परिचय बनाएका पण्डित २२ वर्षको उमेरदेखि नै फरकधारको सिनेमा बनाउँथे। 'ग्रेटर नेपाल', 'दासढुंगा', 'बधशाला', 'खाग' जस्ता चलचित्र बनाएका पण्डितसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले नेपाली सिनेमाको स्कृप्ट लेखन र उनलाई मनपर्ने स्कृप्ट राइटरका बारे गरेको कुराकानीको सम्पादित अंश।
 

पुरानो प्रविधिको अन्त्य र डिजिटल युगको सुरुआती समयको बीचमा फिल्म क्षेत्रमा मेरो प्रवेश भयो। २०४६ पछिको क्रान्तिले देशमा विदशी सिनेमा हेर्ने, पुस्तक पढ्ने संस्कारलाई बढाउँदै थियो। विदेशी कला साहित्यलाई नजिकबाट हेर्ने समयको प्रारम्भ जस्तै थियो। म पनि त्यही समयमा हुर्केको हुँ।

त्यति बेला सिनेमासम्बन्धी पढाइ हुने संस्था थिएनन्। २०५५ सालतिर 'आभास'ले पहिलो पटक अडियो भिजुअल पत्रकारिता पढाउन थाल्यो। त्यसको मुख्य ध्येय अडियो भिजुअललाई गुणस्तरीय कसरी बनाउने भन्ने नै थियो। 

त्यो सिनेमालक्षित कार्यक्रम भने थिएन। तर सिनेमामा पनि अडियो भिजुअल माध्यम हो। स्टोरी टेलिङ हो। आभासमा म पनि विद्यार्थीको रूपमा सामेल भएँ। 

त्यति बेला नेपाली सिनेमा बलिउडको चेपुवामा परेको थियो। बलिउडकै नक्कल गरेर हाम्रा सिनेमा बन्थे। आज हामी नेपाली सिनेमामा जे जस्ता प्रश्न गर्छौँ, ती प्रश्नहरूको उदय भएको बेला थियो त्यो। पत्रकारिताले पनि सिनेमालाई क्रिटिकल भएर हेर्न सुरुआत गरेको समय थियो त्यो, जति बेला म सिनेमासँग जोडिएँ।
००
आभासमा मैले गुरुको रूपमा दिपेन्द्र गौचन भेटाएँ। अडियो भिजुअल र कथा भन्नमा माहिर उहाँ बराबरको मान्छे मैले आजसम्म हाम्रो सिनेमा उद्योगमा भेटेकै छैन। 

तर विडम्बना हामीले उहाँलाई यही देशमा राख्न सकेनौँ। त्यो हाम्रो दुर्भाग्य हुन पुग्यो। एक जना मान्छेले के फरक पार्छ र पनि भन्लान् भन्नेले। तर गतिलो मान्छे एकै जनाले पनि धेरै प्रभाव पार्छ भन्छु म। उहाँ अडियो भिजुअल विज्ञ हुनुहुन्छ। उहाँलाई सधैँ मिस गरिरहन्छु म।

उहाँ कम्बोडियामा हुनुहुन्छ हाल। बीबीसीसँग आवद्ध भएर त्यहाँ फिल्म पढाउनु हुन्छ। मैले उहाँसँग जति सिक्न पाएँ, अरूबाट सिक्ने अवसर नै पाइनँ।

सिनेमाको वर्गीकरणभन्दामाथि उठेर एउटा कथालाई 'पावरफुल' तरिकाबाट कसरी भन्न सकिन्छ भन्ने उहाँको ध्येय हुन्थ्यो। मैले उहाँलाई भेट्नुअगाडि नै उहाँले 'उजेली' जस्तो सिरियल बनाइसक्नु भएको थियो।

मैलै उहाँसँग 'टमाटर पनि मासु बन्छ' र 'चेली रुदै छ, दलाल हास्दै छ' गरी दुई वटा प्रोजेक्टमा काम गर्ने मौका पाएँ। 'चेली रुदै छ, दलाल हास्दै छ'मा उहाँको को-राइटर भएर काम गर्ने अवसर पनि पाएँ।

हामी मेकरले अन्ततोगत्वा कम्युनिकेट गर्ने दर्शकसँग नै हो। कहिले दर्शकलाई सन्देश दिएर त कहिले दर्शकका मनोविज्ञानलाई उतारेर। गौचनले शिक्षामुलक काम बढी गर्नु भएता पनि उहाँले गर्ने काममा अत्यन्त पावरफुल कथा हुन्थ्यो। र उहाँ आफैँमा पावरफुल स्कृनप्ले लेख्न सक्ने व्यक्ति हुनुहुन्थ्यो। 

जसरी उहाँले पात्रलाई छान्ने, तीनका संवाद छान्ने, पृष्ठभूमिलगायतका ससाना कुरामा निपुणता देखाउने गर्नुहुन्थ्यो त्यसको प्रभावमा ममा पनि रह्यो।

टेक्निकल्ली, इमोशनल्ली निपुण स्कृप्ट-राइटर कोही नेपालमा छन् भने उनै दिपेन्द्र गौचन हुन्। कस्तो कथा भन्न कस्तो पात्र चाहिन्छ भन्ने नै नेपाली मेकरले बुझ्न सकिरहेका छैनन्। त्यही कुराको पूरा सुत्र चाहिँ गौचनसँग थियो। 

लेखकमा हुनुपर्ने अर्को कुरा भनेको काल्पनिकता। काल्पनिकतामा 'यदी' शब्दको प्रयोग अत्यन्तै गर्ने उहाँले। हाम्रा सिनेमा लेखक चुकिरहेको अर्को कुरा 'म्याजिक इफ'को प्रयोगमा पनि हो। त्यो गुण पनि उहाँमा थियो। 

उहाँकै स्कुलिङमा रहेर नै मैले कलिलो उमेरमै सिनेमा बनाउन सकेँ। आज म यो स्थानमा हुन उहाँको महत्त्वपूर्ण योगदान छ। तर मलाई सधैँ गौचनको हाइट र क्षमतालाई जित्ने हुटहुटी रह्यो। 'वधशाला'सम्म पुग्दा उहाँले दिनुभएको प्रतिक्रियाले राम्रो काम गर्दै छु भन्ने विश्वास पनि बढायो मेरो। 
००
नेपालमा सिनेमा लेखन लङ्गडो छ। एउटा मान्छे सन्तुलित भएर उभिन दुई खुट्टा चाहिन्छ। ती दुई खुट्टा भनेको हो र होइन बीचको द्वन्द्व हो। द्वन्द्व छैन त संसारमा कुनै कुरामा मजा नै छैन।  

सिनेमा लेखनमा द्वन्द्व मुख्य कुरा हो। 'हो र होइन'को अस्तित्वको लडाइँले द्वन्द्व ल्याउँछ। द्वन्द्वमा 'हो' ले 'होइन' स्वीकारेर पनि 'हो' नै भइरहन सक्नु पर्छ। 'होइन'ले 'हो'लाई स्वीकारे पनि 'होइन'मा अडिग रहन सक्नुपर्छ।
००
हाम्रो सिनेमा लेखन काल्पनिकतालाई उति प्रयोग नै गर्न खोज्दैन। म्याजिक इफको प्रयोग कम देखिन्छ। जब कल्पनाशक्ति हुँदैन त्यहाँ नवीनता आउँदैन। अनि 'नेपाली सिनेमा चलेन', 'यस्तो भएन', 'उस्तो भएन' भन्नुको विकल्प रहँदैन।

सुरुमा बलिउडले धानेको नेपाली मार्केट आज पनि उसैले धान्दै छ। दलालतन्त्र हावी छ।  त्यसले बलिउड र हलिउडलाई ल्याउँछ। बजारमा त्यसैलाई भजाउँछ। राम्रा बनेका केही सिनेमाहरूलाई पनि पछाडि धकेलिदिन्छ।

निर्देशक, लेखकले भन्दा पनि निर्माता, वितरक, हलवालाहरूको रुचिअनुसारको फिल्म बनाउनुपर्ने अवस्था छ। त्यसले राम्रो स्कृप्टमा लगानी गर्न चाहँदैन। 

राम्रो कथा सहजै जन्मदैन। समय लाग्छ। ज्ञान लाग्छ। कल्पनाशीलता लाग्छ। तर ती सब बजार हेर्ने दलालहरूको 'टेस्ट'मा चल्न थालेपछि राम्रो सिनेमा लेख्न, लेखाउन गाह्रो पर्छ।

राम्रा कथामा बनेका हाम्रा केही सिनेमाले आस देखाएका छन्। तर तिनले उचित ठाँउ र बजार नपाउँदा समस्या भने भएको छ।
००
नेपाली सिनेमा लेखनमा हाम्रो सामाजिक संरचना पनि ठूलो बाधक तत्वको रूपमा देखिन्छ। हाम्रो समाजले बनाएको मूल्यमान्यताभन्दा अर्का सत्य हुन्छ, हुन सक्छ भन्नेतिर सोच्न हामी हुर्किएको समाजले पनि हामीलाई दिँदैन।

सिनेमा दरिलो बन्न कथा बलियो हुनैपर्छ। त्यही कथा लेख्ने, संवाद लेख्ने मान्छे भने यही समाजको, जटकटिएको मानसिकता बोकेको। यस्तो भएपछि द्वन्द्व हुन सक्दैन। जब द्वन्द्व हुँदैन तब कथा हुँदैन। जब कथा हुँदैन, सुविधासम्पन्न प्रविधि भए पनि त्यो सिनेमा हुँदैन। 

१० पुस, २०७८, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।