रियालिटी शोमा कपिराइट : आवाजविनाको गीत, संगीतविनाको नृत्य

रियालिटी शोमा कपिराइट : आवाजविनाको गीत, संगीतविनाको नृत्य

गायिका रेखा शाहले बिहीबार फेसबुकमा लामो स्ट्याटस लेखिन्। उनले आफूले रेडियो नेपालमा गाएको 'सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जिन्दगानीमा' बोलको चर्चित गीत अनुमतिबिना विभिन्न रियालिटी शोहरुमा गाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्। 

रियालिटी शोहरुमा उनका गीत गाएको मात्रै भन्दा पनि त्यही गीत गाएर विजेता बनेका भाइबहिनीहरुले व्यावसायिक प्रयोजनका लागि पनि आफ्नै गीत गाएकोमा रेखाको बढी असन्तुष्टि थियो।

अनुमति बिना म्युजिक ट्र्याक बनाउँदै स्रष्टा-सर्जकमाथि अन्याय गरेको र हेपाहा प्रवृत्ति देखाएको उनको गुनासो थियो। यस्तै अवस्था रहिरहे आफू कानुनी प्रक्रियामा जाने समेत उनले लेखेकी छन्।

यतिबेला नेपालका टेलिभिजनहरुमा संगीतसँग जोडिएका आधा दर्जन रियालिटी शोहरु चलिरहेका छन्। जसमा गायन तथा नृत्य शोहरु छन्। अझै संगीत नै जोडिएका टिकटक स्टार, बाजा बजाउने ब्याण्ड च्याम्पियन नेपाल लगायतका रियालिटी सशीहरु पनि छिट्टै सञ्चालनमा आउनेवाला छन्। तिनीहरुको अनलाइन अडिसन चलिरहेको छ।

जति धेरै यस्ता शोहरु बन्छन्, रेखा शाहजस्ता सर्जक-स्रष्टा मारमा पर्छन् नै। अर्कोतर्फ नयाँ प्रतिभालाई पनि स्थान दिनुपर्ने बाध्यता छ।

गायक रामकृष्ण ढकाल भने सुरुवाती चरणमा अरुकै गीत गाएर गायनमा प्रवेश गर्ने बताउँछन्। आफ्नै उदाहरण दिँदै उनी भन्छन्, 'मैले नारायणगोपालको गीत गाएर आज यो स्थानसम्म आइपुगेको हुँ। अरुको गीत गाएर नै पहिलो पाइला चाल्ने हो। अहिले धेरै भाइबहिनीहरु मेरै गीत गाएर संगीतमा खुड्किलो चालिरहेका छन्।'

पहिलो पटक आयोजना भएको ढकाल एकल साँझमा व्यावसायिक प्रयोजनकै लागि आफूले नारायणगोपालको गीत गाएको भन्दै उनी थप्छन्, 'तर अब अनुमति लिन सजिलो छ, बिना अनुमति गीत नगाइदिनुहोला।'

म्युटमा चलिरहेका छन् रियालिटी शो

आवाजबिना गीत गाइरहेका छन् गायक गायिकाहरु। संगीतबिना नृत्य गरिरहेका छन् नृत्यांगनाहरु। सुन्दा अनौठो लागे पनि यतिबेला नेपालका रियालिटी शोहरुको हालत यही छ।

बालबालिकाका लागि बनाइएका कमै कार्यक्रमहरु छन् नेपालमा। बेलाबखत यो विषयमा कुरा उठिरहेकै बेला नेपालमा आयो फ्रेन्चाइज सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्पस्। नेपाल आइडललाई तीन जना आइडल दिइसकेका निर्णायकहरुले सारेगमप लिटिल च्याम्पसमा सहभागी बालबालिकाको गायनको निर्णय गर्ने भएपछि यो कार्यक्रम झनै खास हुने नै भयो।

कार्यक्रम प्रसारण भयो। टेलिभिजनसँगै युट्युबमा पनि कार्यक्रम सँगै लाइभ गरियो। झण्डै २१ हजार दर्शकले त्यो समयमा सारेगमप लिटिल च्याम्पसलाई युट्युबमा लाइभ हेरेका थिए।

कार्यक्रमको सुरुवात धुमधामका साथ भयो। साना बालबालिकाको जादुमयी आवाजमा दर्शक लठ्ठिँदै गए। अचानक गीतबाट आवाज आउन छाड्यो। भारतबाट आएकी प्रतियोगी प्रकृतिले 'खुट्टा तान्दै गर' बोलको गीत बडो सुन्दर तरिकाले प्रस्तुत गरिरहेकी थिइन्, तर कपिराइटका कारण अडियो म्युट भयो। उनी बिनाआवाज गीत गाइरहिन्।

अर्को नृत्य रियालिटी शो डान्स च्याम्पियनको सातौं एपिसोडमा अविनाश हमाल र निखिल नेप प्रोपरको घमासान ब्याटल नृत्य भयो। दुवैले निर्णायकको मन जित्न कडै मिहिनेत गरेको उनीहरुको नृत्य हेर्दा देखिन्थ्यो। दुई निर्णायक जगत रावल र निरुता सिंहले त उठेर स्ट्याण्डिङ ओभियसन नै दिए।

दुई प्रतियोगीले नृत्य गरिरहँदा निर्णायकको आँखा पनि उसैगरी नाचिरहेका थिए। तर यो नृत्यको मज्जा दर्शकले भने लिन सकेनन्। किनभने युट्युबमा राख्दा कपिराइटको समस्या उजागर गर्दै गीतको अडियो काटिएको थियो। अविनाश र निखिल लाखौं दर्शकको अगाडि बिना संगीत नाचिरहे।

अनुमति लिएका छन् केही रियालिटी शोले

अहिलेसम्म द भ्वाइस किड्स नेपाल रियालिटी शोले कपिराइटको झमेला व्यहोरेको छैन। भ्वाइस अफ नेपालको तीन वटा शो र डान्सिङ विथ द स्टार नेपालको पहिलो सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको टोलीले यो सोको निर्माण गरेको हो।
सोका उद्घोषक समेत रहेका सुशील नेपाल भन्छन्, 'हामीले स्रष्टा-सर्जकसँग अनुमति लिएर मात्रै उनीहरुको गीत-संगीतलाई कार्यक्रममा प्रस्तुत गर्छौं। प्रस्तुत गर्दा स्क्रिनमा वास्तविक सर्जक-स्रष्टाको नाम लेख्न छुटाउँदैनौं।

पहिलो सिजनमा आफूहरुले रोयल्टी समेत तिरेको भन्दै नेपालले भने पछिल्लो सिजनहरुमा भने गायक-गायिका आफैं मेरो गीत गाइदेऊ भन्दै आए, त्यसपछि रोयल्टी तिरेनौं।

सुशीलका अनुसार कतिपय सर्जक-स्रष्टा आफ्नो गीतलाई कार्यक्रममा नसमेटेको भनेर चित्त समेत दुखाउँछन्। 'एउटा गीत गाइदिए, अर्को किन नगाइदिएको भन्छन्। कार्यक्रममा पैसा तिरेर गीत गाइदेऊ भन्ने जमातमा रोयल्टी किन तिर्नु,' उनले भने।

कुनै स्रष्टालाई गीत गाउन लागेको भन्नेबारे जानकारी दिँदा उनीहरु निकै खुसी हुने पनि उनले बताए। 'अनुमति लिएर संगीत प्रयोग गरिएकाले हाम्रा कार्यक्रमहरुमा कपिराइटको समस्या आएको छैन,' उनले भने।

भ्वाइसकै तीन सिजनमा कोचको भूमिका निभाएका दीप श्रेष्ठको पनि नेपालकै जस्तो भनाइ छ। उनी भन्छन्, 'हाम्रा कार्यक्रमहरुले नामै नचिनेका गायक-गायिकालाई चर्चामा ल्याउँछ। उनीहरुको स्टेज कार्यक्रममा माग बढ्छ। एउटा गुमनाम संगीतले चर्चाको शिखर चुम्छ। यो फाइदाको कुरा पनि हो।'

उनले नेपाल आइडलबाट चर्चा कमाएका गायक पुष्पन प्रधानको उदाहरण दिँदै भने, 'पन्छी बोलको गीत प्रचारप्रसारको अभावले छायामा परेको थियो। एक प्रतियोगीले गाइदिने बित्तिकै त्यसको खोजी सुरु भयो। कसैले नचिनेको गायक रातारात चर्चित भए। हामी गायकहरुका लागि यो खुसीको कुरा हो।'

कराउनेहरु कराइरहन्छन्...

'तिम्ले पराइ ठानेपछि', 'मर्छु बरु छटपटीमा', 'रुपै मोहनी' लगायतका गीत लेखेर चर्चा कमाएका गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी यसअघि रोयल्टी समाजमा आवद्ध थिए। कलाकारको रोयल्टीबारे आवाज उठाउने उनैले डान्स च्याम्पियनको एक भिडियो सामाजिक सञ्जालमा खुसी हुँदै राखे।

यो भिडियो बजाउन अनुमति लिए/नलिएको बारे सोध्दा उनले भने, 'मसँग निर्माण टिमले अनुमति लिएको छैन, ओरिजिनल गीत ओएसआर डिजिटलकै वेबसाइटमा राखिएकाले उनीहरुले सोध्ने दुःख नगरेका हुन् कि!'

यसरी स्रष्टा-सर्जकको अनुमतिबिना सिर्जनाको उपयोग गर्नु अपराध भएको भन्दै उनले आश्वासनको आसयमा भने, 'पहिले आर्थिक अधिकार र नैतिक अधिकार दुवै हनन् थियो। सिर्जना धनीको नाम समेत राखिँदैनथ्यो। तर आजभोलि नाम राखिदिन्छन्। आर्थिक अधिकार पनि विस्तारै सुधार गर्दै जालान्।'

कलाकार आफैंले अपराधमा छुट दिएको अधिकारीको आरोप छ। सर्जकहरु झगडा गर्न नजान्ने भन्दै उनले भने, 'अब सर्जक-स्रष्टा नै सचेत भएर प्रतिलिपि अधिकारको दावी गर्नुपर्छ। नत्र बुझेर कलाको सम्मान गर्ने चलन नेपालमा छैन।'

१० पुस, २०७८, १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।