नेपाली दर्शकको मुड : पैसा तिरेर नहेर्ने, नि:शुल्क पाए नछोड्ने

नेपाली दर्शकको मुड : पैसा तिरेर नहेर्ने, नि:शुल्क पाए नछोड्ने

छलफलमा नायिका रेखा थापा, फिल्म वितरक अशोक शर्मा र निर्माता अर्जुनकुमार वक्ताका रुपमा थिए। उनीहरुसँगै नेट टिभीका अध्यक्ष मनोज अग्रवाल पनि भर्चुअल्ली जोडिएका थिए।

छलफलमा अग्रवालले विश्वका फिल्म हलहरु बन्द भए पनि फिल्म उद्योग बन्द नभएको भन्दै ओटिटी र डिजिटल प्ल्याटफर्मको प्रशंसा गरेका थिए। छलफलभन्दा केही समयअघि मात्रै निकै महँगो पैसा तिरेर नेटटिभीले ‘लक्ष्मी बम’ नामको हिन्दी फिल्म नेपाल ल्याएको थियो।

अग्रवालको डिजिटल प्ल्याटफर्मबारे कुरा सुनेर छललफलमा सहभागी तीनै जना भड्किए। किनभने, अग्रवाललले लक्ष्मी बम जसरी नेपाली फिल्म किन्न नसक्ने बताए। उनले नेपाली फिल्म मार्जिन बेसमा किन्न नसकिने, सेयरिङ बेसमा लिएमात्रै आफूहरुले नेपाली फिल्मलाई सहयोग गर्नसक्ने बताएका थिए।

निर्माता अर्जुन कुमारले त छलफलमै अग्रवाललाई र्याखर्याख्ती पारे। फिल्ममा लगानी मेरो, परिश्रम पनि मेरो तर पैसा चाहिँ तिमीसँग बाँड्नुपर्ने ? भारतको फिल्म ल्याउँदा ग्वाम्मै पैसा तिर्ने, अनि हाम्रो चाहिँ दर्शकले हेरे पाइने, नहेरे नपाइने ? तिमीहरुजस्तै बिचौलियाका कारण नेपाली फिल्म तल झरेको हो।

तीनै जनाले डिजिटल प्ल्याटफर्म हलको विकल्प हुनै नसक्ने टिप्पणी गरे। नेपाली सिने समाज भनेको हलमा पपकर्न खाँदै फिल्म हेर्ने समाज हो। हलबिना नेपाली फिल्म पूर्ण हुनै सक्दैन, वितरक अशोक शर्माले अर्जुन कुमारलाई शान्त बनाउँदै भनेका थिए।

त्यस्तै नायिका रेखा थापाले पनि शर्माको कुरामा सहमति जनाउँदै भनेकी थिइन्, ‘फिल्म वैकल्पिक हो। मनोरञ्जन मानिसको आधारभूत आवश्यकतापछि मात्रै आउँछ। हल भनेको मनोरञ्जन लिने ठाउँ हो, ओटिटी या डिजिटल प्ल्याटफर्म नेपालीको रोजाइ हैन।’

उनले थोरै नेपालीको हातमा मात्रै इन्टरनेटको पहुँच पुगेकाले सम्पूर्ण नेपालीलाई फिल्म देखाउन हलको विकल्प नभएको पनि प्रष्ट पारेकी थिइन्।

हल छाडेर युट्युबमा मस्त नेपाली फिल्मका दर्शक
कोभिडको समयमा हलको विकल्प नभएको विषयमा छलफल भएको थियो। अहिले हल खुलेका छन्। तर नेपाली फिल्मका लागि दर्शक छैनन्। कोभिडपछि प्रदर्शनमा आएका कुनै पनि नेपाली फिल्मले दर्शकको मन जित्न सकेका छैनन्। उल्टै विदेशी ब्यानरका फिल्महरुले दर्शक एकलौटी बनाइसकेको अवस्था छ।

हलमा दर्शक नभए पनि नेपाली फिल्मलाई माया गर्नेहरुको कमी भने छैन। नेपाली फिल्मप्रेमीहरु हलको साटो युट्युबमा सरेका छन्।

कोभिडअघि प्रदर्शनमा आएका नेपाली फिल्महरु यतिबेला युट्यबमा धमाधम आइरहेका छन्। हलमा सुपर फ्लप भएका फिल्महरुमा दर्शकको प्रशंसाको बाढी आइरहेको छ। उदाहरणका लागि हलमा फिटिक्कै जम्न नसकेको फिल्म ‘हजार जुनीसम्म’ लाई लिन सकिन्छ। झन्डै तीन साताअघि युट्युबमा आएको फिल्म हजार जुनीसम्मले हलमा प्रदर्शन हुँदा बकबास फिल्मको उपाधि पाएको थियो।

निर्देशक विकाशराज आचार्यको पुरानै कथा भन्ने शैली, स्वस्तिमा खड्का र सलोन बस्नेत बाहेक अन्य कलाकारका अभिनय नै लजाउने अभिनय, ठाउँठाउँमा अपाच्य लाग्ने संवाद लगायतले फिल्म मन नपर्ने धेरै कारण दिएको छ। 

यिनै विविध कारणले फिल्म हलमा सफल हुन सकेन तर जब युट्युबमा प्रर्दशन भयो, फिल्मले धेरैको आँखाबाट आँशु खसाल्यो। धेरैले उक्त कथामा आफूलाई देखे, लामो समयपछि त्यति राम्रो फिल्म हेर्न पाए दर्शकले। 

फिल्मको प्रशंसा देखेर आँखै तिरमिराउने प्रतिक्रिया आयो, युट्युबको कमेन्ट सेक्सनमा। यसका कलाकार र निर्माता दर्शकको अपार माया देखेर सामाजिक सञ्जालहरुमा पोख्खिए।

अर्को फिल्म ‘यात्रा’ को पनि उस्तै हाल भयो। कतिपय दर्शकले नाम समेत नसुन्दै हलबाट आफ्नो बाटो तताएको यात्रा जब युट्युबमा आइपुग्यो, सबैको हाईहाई भयो। लामो समयसम्म नेपाली ट्रेन्डिङको एक नम्बरबाट यो फिल्मलाई कसैले हल्लाउन सकेन।

हलमा सुपरफ्लप भएको ‘मंगलम’, ‘घामड शेरे’ लगायतका फिल्महरु अहिले पनि दर्शकको रोजाइमा छन्। हलमा लगानी उठाउन सफल फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हेरेर यतिबेला नेपाली दर्शक बयान गरेर नथाक्ने अवस्थामा छन्। एक हप्तामा प्रशंसाका चार हजार बढी प्रतिक्रिया यो फिल्मले समेटिसकेको छ।

नेपाली फिल्मका दर्शक छन्/छैनन्
कोभिडपछि हलमा लागेको फिल्म ‘डाँडाको बर-पिपल’ हेर्न कुनै दर्शकले हलसम्म जाने कष्ट गरेनन्। सिंगो हलमा दुई जना दर्शकले मात्रै फिल्म हेरेको समाचार पनि आए। त्यसपछि केही नेपाली फिल्म हलमा लागे पनि दर्शकलाई मात्र होइन, हलवालालाई समेत त्यसको अत्तोपत्तो भएन।

सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाज्का व्यवस्थापक सुशील मानन्धर नेपाली फिल्मलाई शो दिनु घाटाको व्यापार गर्नुजस्तै भएको बताउँछन्। उनी भन्छन्, ‘कोभिडअघि पनि नेपाली फिल्म केहीले मात्रै व्यावसायिक सफलता पाउँथे। अहिले त फिल्म गतिला नबनेका हुन् या दर्शकले नेपाली फिल्मको माया मारेका हुन् भन्न सकिन्न।’

हलमा दर्शक नआए पनि युट्युबमा त सुपरहिट भइरहेका छन् नि ? भन्ने प्रश्नमा उनले भने, ’खै के हो, नेपाली फल्मका दर्शक छन् पनि, छैनन् पनि भन्दा ठिक होला।

मानन्धर मात्रै हैन, राइजिङ मलमा रहेको क्युज सनेमाज्का सुपरभाइजर सुवास योगी पनि यतिबेला नेपाली फिल्मको दर्शक छन् या छैनन् पत्ता पाउन नसक्ने स्थितिमा रहेको बताउँछन्। उनी भन्छन्, ‘दर्शक छन् भनौं नेपाली फिल्मका लागि हल खाली छ। छैनन् भनौं युट्युबमा फिल्म मारामार छ। विदेशका भएका नेपाली धेरै सिनेमाप्रेमी हुन् कि जस्तो लाग्छ मलाई।’

धेरै नेपाली ण्वैैदेशिक रोजगारीमा गएका छन्। उनीहरु नेपाली फिल्मका सच्चा दर्शक हुन्। हलमा उनीहरु आउन सक्दैनन्, त्यसैले फिल्म युट्युबमा हिट भएको होला।’

निःशुल्क पाए जे पनि हेर्छन् नेपाली दर्शक
सिनेमाघर एपका प्रमुख कार्यकारी अधिकृत तथा लगानीकर्ता सागर खरेल युट्युबमा फिल्म हेर्ने बानी नेपाली फिल्मका लागि घातक भएको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा युट्युब निःशुल्क प्ल्याटफर्म हो। एडसेन्ससँगको सहकार्यमा आएका केही विज्ञापनको आधारमा युट्युबले निर्मातालाई पैसा दिन्छ। तर दर्शकले निःशुल्क हेर्न पाउँछन्। करोड लगानी भएको फिल्म निःशुल्क घरमै बसेर हेर्न पाइन्छ भने कसले दुःख गर्छ।’

नेपाली दर्शकलाई कला भनेको परिश्रम हो, परिश्रमको मोल हुन्छ र मोल तिरेर मात्रै त्यसको स्वाद चाख्न पाइन्छ भन्ने कुराको बोध गराउन जरुरी रहेको उनले बताए। खरेल स्क्रिनिङ प्ल्याटफर्म सिनेमाघर एपसँग सम्बिन्धत भएकाले पनि पैसा तिरेर फिल्म हेर्ने कुरामा उनले विभिन्न बचनको झटारो भेटिरहेका हुन्छन्। फिल्म पैसा नतिरी हेरेको कुरा गर्दा इन्टरनेटको पैसा तिरेको छु, यो कसरी निःशुल्क भो भनेर उल्टै उनीतिरै खनिन्छन्। उनले हाँस्दै भने, ‘इन्टरनेट फरक प्रविधि हो, कला छुट्टै हो भन्ने कुरा त बुझाउन सकिएको छैन, अरु के कुरा गर्नु।’

निःशुल्क फिल्म हेराउने बानी लगाउनकै लागि यो एपले पाँच सयमा युट्युबमा नआएका १८ बढी फिल्महरु हेर्न दिएको छ। साथमा वर्षभरि एपमा आएका फिल्महरु त्यही पैसामा हेर्न पाइन्छ। यति हुँदा पनि कतिपय दर्शक फिल्म युट्युबमा कहिले आउँछ भनेर प्रश्न सोध्न नछाडेको उनको गुनासो छ।

७ पुस, २०७८, १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।