गायक निर्णयले काभ्रेको नाग्रेमा चलाए गाउँ बनाउने अभियान

गायक निर्णयले काभ्रेको नाग्रेमा चलाए गाउँ बनाउने अभियान

यही मन्त्रलाई आत्मसात गर्दै हिपहप गायक निर्णयले केही दिनअघि काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित नाग्रेमा ‘देशको लागि दस लाख घन्टा श्रमदान, हाम्रो अभियान’ भन्ने कार्यक्रम चलाए।

आफ्नो गाउँ हामी आफैं बनाऔं भन्ने कन्सेप्टमा चलाइएको उक्त अभियानमा सय जना विभिन्न क्षेत्रका व्यक्तिहरु श्रमदानका लागि सहभागी थिए।

यो अभियानमा सञ्चारकर्मी, कोरियोग्राफर, मोडल, गायक–गायिका, खेलाडी, इन्जिनियर, समाजसेवी, योग गुरु, बैंकरदेखि चिकित्सकसम्म सहभागी थिए।

यस्तै गायक निर्णय श्रेष्ठको अगुवाइ र युवा समाजसेवी विजय खड्काको सक्रियतामा नाग्रेस्थित रजवास गाउँमा ‘देशका लागि एक दिन’ अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानमा श्रमदानका लागि युवा स्वयंसेवकको उत्साहजनक सहभागिता थियो।

मिलियन आवर च्यालेञ्ज अन्तर्गत ‘वन डे फर नेसन’ का लागि स्वयंसेवकहरु आफूलाई छुट्याइएको क्षेत्रमा खटिए। १३ वटा समूहका लागि विभिन्न चार वटा काम सुम्पिइएको थियो ।

पहिलो समूह स्थानीय चौतारोको सरसफाइ गर्न खटियो। जसमा समता स्कुलका प्रधानाध्यापक तथा गायक अजय अधिकारी सुशीलसहित जनक तामाङ, अनुशा थापा, सागर कटवाल, भावना तामाङ, अशीमकुमार लम्साल सहितका व्यक्तिहरु सहभागी भए। उनीहरुले करिब दुई घन्टा लगाएर उक्त चौतारो चिटिक्क बनाए।

गायक निर्णय श्रेष्ठकै अगुवाइमा अर्को समूह स्थानीय तामाखानी प्राथमिक विद्यालय पुगेर सरसफाइमा खटियो। टेलिभजिनकर्मी अनिला श्रेष्ठ, योग गुरु डा. चिन्तामणि गौतमसहितका स्वयंसेवक समूहले उक्त विद्यालयको परिसरमा उम्रिएका घाँसपात मात्र सफा गरेनन्, कक्षा कोठालाई पनि सरसफाइ गरेर रङरोगन समेत गरे।

फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, सञ्चारकर्मी अरुणा भट्टराई, बाल कलाकार कुशाग्र भट्टराई, ब्युटिसियन सीमा श्रेष्ठ, मोडल धीरज श्रेष्ठसहितको समूहले स्थानीय नदीमा निर्माण भएको झोलुंगे पुल तथा आसपासका क्षेत्रको सरसफाइ गरेका थिए।

त्यस्तै, फोटो पत्रकार हरिगोपाल श्रेष्ठ, पद्मसागर कक्षपति, सञ्चारकर्मी कृष्ण भट्टराई, सिर्जना दुवाल, फोटो पत्रकार कृष्पा श्रेष्ठ, भिडियो निर्देशक आराध्यलक्ष्मी खड्गी, छायांकार सोहन मानन्धर आदि सहभागी समूहले भने नाग्रेमै निर्माणाधीन अवस्थामा रहेको डे केयर सेन्टरको परिसर सरसफाइ गरेको थियो।

‘देशका लागि महत्वपूर्ण एक घण्टा दिन सकियो भने समाज आफैं बन्छ’ भन्ने उद्देश्यले यो दस लाख घन्टाको च्यालेञ्ज अभियान प्रारम्भ गरिएको हो,’ अभियानका नेतृत्वकर्तामध्येका एक गायक निर्णय श्रेष्ठ भन्छन्, ‘हामी सय जनाको समूहले काभ्रेको यो दुर्गम गाउँमा केही घण्टा श्रमदान गर्दा केही न केही परिवर्तनको अनुभूति स्थानीयले गर्नुभएको छ।’

अभियानका अर्का नेतृत्वकर्ता विजय खड्का भन्छन्, ‘काभ्रेको नाग्रे राजधानीबाट केही घण्टाको दूरीमा भए पनि यो ठाउँ बत्ति मुनिको अँध्यारो जस्तो छ। विद्यालय छ, विद्यार्थी छैनन्। डे केयर सेन्टर छ, भौतिक पूर्वाधार छैन। यो गाउँमा विकास गर्नुपर्ने धेरै कुरा छन्। मिलियन आवर च्यालेञ्ज कार्यक्रमले त्यसको थालनी गरेको छ। यसलाई हामी भविष्यसम्म पनि निरन्तरता दिइरहने छौं।’

समता स्कुलका प्रधानाध्यापक अजय अधिकारी सुशील भन्छन्, ‘काभ्रेको चौरी देउराली गाउँपालिकाको नाग्रे रजवासमा आयोजना गरिएको मिलियन आवर च्यालेञ्ज अभियान केही घन्टा योगदान दिएर हामीले हाम्रो ठाउँ आफैं बनाउन सक्छौं भन्ने एउटा सांकेतिक सुरुवात मात्र हो। यो अभियानलाई देशव्यापी बनाउन सकियो भने हाम्रो देश अझ सुन्दर बन्ने छ।’

समाजसेवी गायक निर्णयले दुई दशकदेखि ‘निर्णय एजुकेसन टुर फर नेसन’ अभियानलाई निरन्तरता दिइरहेका छन्।

उनले ‘एक कापी, एक कलम’ अभियानलाई देशव्यापी बनाइसकेका निर्णय भन्छन्, ‘हरेक विद्यार्थीले वर्षमा एउटा कापी, एउटा कलम, एउटा इरेजर दियो भने पहुँच नपुगेका बालबालिकाका लागि अरु दातासँग हात थाप्नु पर्दैन।’