बालबालिकामा ह्याण्ड, फुट एन्ड माउथ डिजिजको जोखिम, पाँच दिन आइसोलेसनमा बस्न चिकित्सकको सुझाव

बालबालिकामा ह्याण्ड, फुट एन्ड माउथ डिजिजको जोखिम, पाँच दिन आइसोलेसनमा बस्न चिकित्सकको सुझाव
तस्बिर : डा. कृष्णप्रसाद विष्ट

काठमाडौँ : कान्तिबाल अस्पतालमा ‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज’को समस्या लिएर पुग्ने बालबालिकाको सङ्ख्या बाक्लै छ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टले यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको सङ्ख्या धेरै रहेको जानकारी दिए। उनले भने,‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज भन्ने बढेको छ।’

गत वर्षको तुलनामा यो वर्ष अलि बढी देखिएको डा. विष्ट बताउँछन्। उनले भने,‘धेरै वर्षदेखि देखिएको थियो।’

सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रवीन्द्र शर्मा पनि यो सङ्क्रामक रोग फैलिएको बताउँछन्। केही दिन अघिसम्म यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको धेरै नै रहेको डा. शर्माले जानकारी दिए। तर, केही दिन यता भने त्यस्ता बालबालिकाको सङ्ख्या कम भएको उनी बताउँछन्। डा. शर्माले भने, ‘२/४ दिन भयो शान्त हुन थालेको छ। नत्र धेरै नै स्कुले बालबालिका आएका थिए।’

ह्याण्ड, फुट एन्ड माउथ डिजिज सबै मौसममा हुन सक्ने चिकित्सकको मत छ। सामान्यतः गर्मी मौसम सकिएर जाडो सुरु हुने बेलामा यो रोग बढी देखिने छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवाली बताउँछिन्। उनी भन्छिन्,‘जाडो सुरु हुने बेलामा बढी देखिन्छ।’ जाडोमा बालबालिका बढी नजिक हुने भएकाले यो मौसममा सर्ने जोखिम धेरै हुने चिकित्सकको मत छ।

डा. विष्टले यो सरुवा सङ्क्रामक (भाइरल) रोग भएको बताए। उनले भने,‘यो भाइरल डिजिज हो। कन्ट्रयाकबाट सर्छ।’ चिकित्सकको मत अनुसार भाइरस सङ्क्रमणको कारण ह्याण्ड, फुट एन्ड माउथ डिजिजको सङ्क्रमण हुन्छ।

पाँच वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा यो समस्या बढी देखिने चिकित्सकको मत छ। तर, २३ वर्ष उमेर समूहसम्मका व्यक्तिमा समेत यो रोग देखिएको डा. शर्मा बताउँछन्। उनले भने,‘२० वर्ष मुनिकालाई यो रोग देखिन्छ। मैले २/४ जना २२/२३ वर्षकोमा पनि समस्या देखेको छु।’

यस्ता देखिन्छन् लक्षण 

चिकित्सकका अनुसार ‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज’भएको अवस्थामा विशेष गरी मुख र हात (हत्केला) मा पानी फोका जस्ता घाउका फोका आउँछन्। ठेउलाका जस्ता फोका मुखभित्र, पैतालामा र  हातमा निस्कने डा. शर्मा बताउँछन्। डा. शर्माका अनुसार कतिपय बालबालिकामा कुइना र घुँडामा पनि यस्तो समस्या देखिन्छ। अभिभावकलाई थाहा नहुँदा ठेउलाको शंंका हुने डा. विष्ट बताउँछन्।

विशेष गरी हात, खुट्टा र मुखमा फोका (घाउ) आउने भएकाले नै यो रोगलाई  ‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज’का नामले चिनिएको चिकित्सकको मत छ।

कतिपय बालबालिकाको यौनाङ्ग र मलद्वारको वरिपरि तथा हिपमा पनि पानी फोका जस्तो घाउका फोका देखिने चिकित्सक बताउँछन्।

यसको लक्षणस्वरुप ज्वरो आउन सक्छ। १/२ दिन हल्का ज्वरो आउने डा. ज्ञवाली बताउँछिन्। उनले भनिन्,‘कसै कसैलाई १/२ दिन ज्वरो पनि आउँछ।’ कतिपयलाई भने ज्वरो नआउन सक्ने चिकित्सक बताउँछन्।

बालबालिकाको घाँटी दुख्ने, घाँटी खसखसाउने,  खाना खान नमान्ने, बोल्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। यस्तो समस्या भएका अधिकांश बालबालिकाको मुखभित्र घाउ देखिने, जिब्रोमा घाउ देखिने डा. ज्ञवाली बताउँछिन्। उनले भनिन्,‘हेर्दा मुखभित्र गालाभित्र, जिब्रोमा, फोका फुटेर अल्सरजस्तो रातोरातो, सेतोसेतो भइसकेको हुन्छ।’

मुखभित्र मात्रै हैन मुख र नाक वरिपरि समेत फोका देखिने क्रम बढेको डा. शर्मा बताउँछन्। ‘हामीले हेर्दा यो वर्षदेखि मुख र नाकको वरिपरि फोका आइरहेको छ,’उनले भने,‘अहिले धेरैको मुखभित्र देखिएको छैन,मुखबाहिर देखिएको छ।कोही–कोहीको मुखभित्र र बाहिर दुवै ठाउँमा फोका देखिएको छ।’

त्यसैगरी खुट्टाको पैतालामा पनि घाउ देखिने चिकित्सक बताउँछन्। यस्तो सङ्क्रमण भएको खण्डमा बालबालिकालाई दुख्ने भएकाले रुने डा. विष्टले बताए। कतिपय सङ्क्रमितलाई चिलाउने र कतिपयलाई नचिलाउने चिकित्सक बताउँछन्। कसैको हातभरि फोका आउँछ।

लक्षणअनुसारको उपचार विधि

चिकित्सकका अनुसार यो सङ्क्रामक (भाइरल) रोग भएकाले यही नै भन्ने विशेष औषधि/उपचार छैन। लक्षण अनुसार यसको उपचार गरिने डा. विष्टले जानकारी दिए। उनले भने,‘बढी चिलायो भने चिलाउन कम गर्ने औषधि दिने हो। ज्वरो आए सिटामोल दिइन्छ। त्यस्तो कडा औषधि त चाहिँदैन।’ यो संक्रमणविरुद्ध उपचारको लागि विशेष एन्टिभाइरल औषधि नभएको चिकित्सक बताउँछन्।

सामान्यतः केही दिनपछि यो सङ्क्रमण आफैँ ठिक हुन्छ। डा. ज्ञवालीले भनिन्,‘७/१० दिनपछि बिस्तारै आफैँ कम हुँदै जान्छ।’

मुखको  घाउका लागि दुखाई कम गर्ने मलम पाइने भएकाले यस्ता मलमको प्रयोग गर्न सकिने चिकित्सकको सुझाव छ। त्यसैगरी दिनमा १÷२ पटक साबुन पानीले धुनुपर्ने हुन्छ।

घाउ चिलाएको खण्डमा स्टेराईड मलम लगाउन सकिन्छ। तर, मुखमा हात लगाउने साना बालबालिकालाई भने यो मलम लगाउन नहुने चिकित्सक बताउँछन्।

यो रोगका कारण जटिलता निम्तने जोखिम कम हुन्छ। तर,जटिलता निम्तिएको खण्डमा मेनेन्जाईटिस तथा नसा सम्बन्धी जटिलता निम्तन सक्ने डा. ज्ञवाली बताउँछिन्। त्यसैले यो रोगको लक्षण देखिए विशेषज्ञ चिकित्सकको सल्लाह तथा परामर्श लिन चिकित्सकको सुझाव छ।

बच्ने उपाय

ह्याण्ड, फुट एन्ड माउथ डिजिजको सङ्क्रमण भएको समयमा बालबालिकालाई आराम गर्न दिनुपर्ने चिकित्सकको सुझाव छ। यस्तो अवस्थामा विद्यालय तथा चाइल्ड केयरमा पठाउनु हुँदैन। यो सरुवा रोग भएकाले अन्य बालबालिकालाई सर्ने जोखिम हुने डा. ज्ञवाली बताउँछिन्। उनी भन्छिन्,‘घाउबाट निस्केको पानी अरू बच्चाले चलायो भने, जुठो खायो भने अन्य बच्चामा सर्न सक्छ।’

त्यसैले बालबालिकालाई घाउ कोट्याउने तथा चलाउन दिनु हुँदैन। सङ्क्रमित बालबालिकाबाट अन्य बालबालिकालाई टाढै राख्नुपर्छ। धेरै बालबालिका भएको ठाउँमा राख्नु हुँदैन।

बालबालिकालाई यो सङ्क्रमण देखिए करिब पाँच दिन विद्यालय नपठाउन डा. शर्माले सुझाव दिए। उनले भने,‘५/७ दिन होम आइसोलेसनमा बस्नुपर्छ।’

ह्याण्ड, फुट एन्ड माउथ डिजिज सङ्क्रमित खानपानबाट सर्ने भएकाले खानपान राम्रोसँग सफा गरेर तथा पखालेर खानुपर्ने चिकित्सकको सुझाव छ।

डा. शर्मा यो रोग श्वासप्रश्वासबाट समेत सर्ने बताउँछन्। ‘श्वासप्रश्वासबाट सर्ने हो। फोका फुटेर त खासै सर्ने हैन’, उनले भने,‘फोका फुटेर सर्ने चान्स त हुन्छ, त्यो न्यूनचान्स हो।’

यस्तो सङ्क्रमण भएको खण्डमा बालबालिकालाई खानपान गर्न असहज हुने तथा भिटामिनको कमी हुने भएकाले प्रशस्त मात्रामा झोलिलो पदार्थ दिनुपर्ने चिकित्सक बताउँछन्। झोलिलो पदार्थमा समेत पिरो, चिल्लो र धेरै नुनिलो दिन नहुने डा. ज्ञवालीको सुझाव छ।

डा. ज्ञवालीका अनुसार यस्तो सङ्क्रमण भएका बालबालिकालाई दुखाई कम गर्ने भएकाले चिसो जुस, पानी जस्ता पेय पदार्थ दिनु पर्छ। शरीर दुख्ने भएकाले आराम गर्न दिनुपर्ने चिकित्सकको सुझाव छ।

६ पुस, २०७८, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।