हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

६ वर्षअघि छाउपडीको विषयमा अध्ययन गर्न जाँदा आछामका एक पुजारीले भने, ‘प्रथमेहनी चाण्डाली, द्वितीय ब्रम्हघातिनी, तृतीय रजकी पोकतः चतुर्थेहनी शुद्धयति।’

अर्थात् महिनावारीको पहिलो दिनकी महिला अति दुष्ट वा क्रुर कर्म गर्ने जातकी चण्डाल्नीझैं घृणित हुन्छे। महिनावारीको दोस्रो दिनकी महिलालाई ब्रम्हहत्या गर्ने सरहकी अपराधी भनिएको छ भने तेस्रो दिनमा नुहाएकी रजोवती महिला धोबिनी सरह मानिन्छे। चौथौ दिन नुहाइधुवाइ गरी चोखो कपडा लगाएर गाईको गहुँत खाएपछि मात्र महिनावारी भएकी महिला शुद्ध हुन्छिन्। 

यस्तै विचारहरुको कारणले नै सुदूरपश्चिम र कर्णालीमा महिलालाई छाउ गोठमा राखिन्छ। उनीहरु यस्तो अमानवीय संस्कृति चुपचाप अपनाइरहेका छन्।

यसरी महिनावारीबारे अवैज्ञानिक र अरुलाई होच्याउने र धार्मिक विचारलाई तपार्इंहरु के भन्नुहुन्छ? यस्ता तथ्य र भनाइहरुको विरुद्ध बोल्ने धेरै महिला र पुरुष छन्। तर प्रायः छाउपडीको बारेमा कुरा गर्दा त्यस्ता विचार अगाडि आउँदैनन्

सुत्केरी भएको बेला बस्न बनाइएको सानो घरलाई पडी वा कुडी भन्ने भन्ने चलन छ। छाउ (महिनावारी) भएकी महिला यसरी घर (पडी) मा बस्ने सामाजिक चलनलाई छाउपडी भनिन्छ। कतैकतै गाईवस्तु बाँध्ने ठाउँमा नै महिलालाई राख्निन्छ। सुदूरपश्चिमका जिल्लाहरुमा चाहिँ गाईगोठमा राख्ने चलनमा कमी आएको छ । 

सात वर्षअघि केही वृद्धाहरुसँग कुरा गर्दा उनीहरुले भनेका थिए, ‘हामीलाई त गाईवस्तु सरह नै गोठमा राखिन्थ्यो। गोबरबाट बच्न रातभरि खुम्चिएर बस्नुपर्थ्यो। जाडोमा मरेझैं हुन्थ्यो। घरका मानिसहरु बरु गाई-भैंसीलाई चिसो नलागोस्, महिलालाई केही हुँदैन भन्थेँ। पातलो ओड्ने पाइन्थ्यो। अहिले त सँगै कोठामा बस्न पाइन्छ।’

गाई-भैंसीसँग गोठमा नबसी छाउपडीमा ढोका लगाएर बस्ने अवस्था आउनुलाई नै सुदूरपश्चिममा विकास मान्नुपर्ने अवस्था छ।

एक वर्षअघि अछाम, रिडीकोटकी शर्मिला मुल छाउगोठमा आगो बालेर रात बिताउँदा मृत्यु भयो। २०१३ अप्रिलमा कालीकोटको गेलामा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भइन्। बझाङको रिठापाडामा २०१० मा १८ वर्षीय  दिव्यश्वरीको सर्पले टोकेर मृत्यु भएको थियो। चिसो र अँध्यारो ठाउँमा पराल राख्न प्रयोग गरिएको ठाउँमा बनाएको छाउगोठमा बस्दा, सर्पले घाँटीमा डसेपछि दिव्येश्वरकी चिच्याएकी थिइन्। 

यस्ता दर्दनाक घटनाको अध्ययन गर्ने क्रममा हामीले धेरै थाहा पायौं। तर अचम्म लाग्छ, २०६७ साल वैशाख १९ गते सर्वोच्च अदालतले गरेको निर्णय कतै पनि पालना भएको छैन।

‘महिलालाई छाउ गोठमा पठाउने प्रयासलाई कुरीति घोषणा गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले चिकित्सकहरु समेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानको उपाय पहिचान गर्नुपर्ने’ जस्ता शब्दहरु कतै हराए।

छाउपडीका विषयमा स्वास्थ्य मन्त्रालय सुतिरहेको छ। छाउपडीका कारण महिला र किशोरीहरुको प्रजनन र मानसिक स्वास्थ्यमा के असर पर्छ होला? भनी सुदूरपश्चिम र मध्यपश्चिमका स्वास्थ्यकर्मीहरुलाई मैले सोध्दा उत्तर थियो, ‘खोई त्यस्तो समस्या लिएर त कोही आएको छैन। महिलाको स्वास्थ्यमा छाउ गोठमा बसेर खासै असर परेको छैन।’

त्यस्ता कुराहरुले हामी स्वास्थ्यकर्मीहरु समस्याप्रति कति अनभिज्ञ र असंवेदनशील छौँ भनेर देखाउँछ। किनभने काठमाडौंमा चाहिँ महिनावारी भएको  बेलामा पौष्टिक खाना खानुपर्छ, सफा प्याड प्रयोग गर्नुपर्छ, आराम गर्नुपर्छ भनेर सिकाउने हामीहरु जब किशोरी र महिलाहरु अफ्ठ्यारो, फोहोर कुनामा, गाई र भैंसीसँगै बस्छन्, उनीहरुको स्वास्थ्यमा केही असर पर्दैन भन्ठान्छौं। 

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो। एकचोटी छाउ भएको बेला बारीमा बसेर घरबाट ल्याएको खाना खाँदै थिँए, बेस्सरी पानी पर्यो। थालभरि पानी भयो। त्यो दिन गोठमा पानीले भिज्दै भोकै सुत्नु पर्यो।’ 

छाउगोठका यस्ता दर्दनाक कहानीले पनि हाम्रा नीति निर्मातालाई छुँदैन। उनीहरु ‘वास्तवमा छाउपडी प्रथा हटिसकेको छ, खाली तिमीहरु नभएको कुरा मात्र लेखिरहन्छौ’ भनेर गैरजिम्मेवार बन्छन्।

सुदूरपश्चिमका एक जना वामपन्थी नेताले मलाई झपारेका थिए, ‘तिमी केही महिलासँग पहिलेको कुरा गरेर नेपालमा छाउपडी प्रथा छ भनेर लेख्छ्यौ। म पनि मध्यपश्चिममा गएको छु। आजकाल त गाउँमा छैन यो प्रथा।’

मैले भनें, ‘तपाईं हेलिकोप्टर चढेर वा मोटरमा सदरमुकामसम्म जानुहुन्छ अनि कहाँ देख्नुहुन्छ यस्ता छाउपडी। मोटर नपुग्ने ठाउँमा, दुई दिन हिँडेर जानुपर्ने ठाउँमा गएर हेर्नुहोस् त, कति महिला पीडित छन्?’

यो उत्तर ती वामपन्थी नेतालाई मात्र होइन, सुदूरपश्चिमका सबै राजनीतिक दलका नेताहरुलाई हो। 

महिला विरुद्धको हिंसामा बोल्ने नेताहरु कृपया एक चोटी यी महिलाको दुःख बुझिदिनुहोस्। सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु तपाईंहरुले २०६२ सालमा गरेको फैसलालाई सरकारले कसरी अपमान गरेको छ, हेरिदिनुहोस्।

महिला अस्तित्वमाथि प्रहार गर्ने र महिला हिंसालाई बढावा दिने छाउपडी प्रथालाई रोक्न कसलाई गुहार्ने होला महिलाहरुले? दलका नेता, न्यायाधीश र नीति निर्माणकर्ताले सुनेनन् र बुझेनन् भने के यहाँका महिलाहरु सर्पले टोकिएर, चिसोबाट कठ्याङ्गिएर, सानो शिशुको मृत्यु भएको हेरेर बसिरहने कहिलेसम्म? आउँदो ५ सय वर्षसम्म?

६ पुस, २०७८, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।