खर्बपति नेता विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा अयोग्य, उम्मेदवारी नै विधान विपरीत

खर्बपति नेता विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा अयोग्य, उम्मेदवारी नै विधान विपरीत

तर निर्वाचन समितिले विधान विपरीत केन्द्रीय सदस्यको उम्मेदवार बनेका चौधरीको उम्मेदवारी सदर गरेपछि पार्टी संस्थापन समूह शेरबहादुर देउवाले उनलाई आफ्नो समूहमा राखेका थिए।

पार्टीको विधानमा पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिले कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख छ। चौधरी पहिल्यै विधान विपरीत केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका थिए। पार्टीले पछि विधानको बाधा अड्काउ फुकाउको निर्णय गर्दा उनलाई महाधिवेशन प्रतिनिधि हुन बाटो खुल्यो।

तर पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगरपालिका सभापति र उपमहानगरपालिकाको सभापतिको उम्मेदवार बन्न भने सो प्रावधान कायमै राखियो।

विधानको धारा २१ को उपधारा ८ मा विभिन्न समूहसँगै मधेसी महाधिवेशन प्रतिनिधिमध्येबाट  चार महिला सहित नौ जना निर्वाचित हुने प्रावधान राख्यो। जसमा उम्मेदवारको योग्यता  कम्तीमा दश वर्ष निरन्तर क्रियशिल सदस्य भएमा भन्ने उल्लेख छ। विधानको बाधा अड्काउ फुकाएको निर्णय गर्दा केन्द्रको हकमा यो प्रावधान निलम्बन नभएकाले उनको उम्मेदवारी विधान अनुसार अवैध हो।

उद्योगपति चौधरी २०६९ जेठ १५ सम्म एमालेमा थिए। उनी एमालेको समानुपातिक कोटामा सांसद भएका थिए। उनी २०७४ कात्तिक १३ मा मात्र कांग्रेस प्रवेश गरेका थिए। पार्टीको विधान अनुसार अन्य पार्टीको सदस्यता नत्यागी पार्टीको सदस्य बन्न योग्य हुँदैनन्। विधानको परिच्छेद-२ मा ' सदस्यता पाउन योग्य हुनेमा ' अन्य राजनीतिक दलको सदस्य नभएको वा सदस्यता त्याग गरेको उल्लेख छ।

उनको क्रियशिल सदस्यताको अवधि १० वर्ष पुग्दैन। उनलाई पार्टी सभापति देउवाले कात्तिक १३ मा पत्र पठाएर कांग्रेसमा स्वागत गरेका थिए। यो आधारमा उनी कांग्रेसको सदस्य भएको चार वर्ष पुग्दैछ।

सुनिल र गच्छदार जोगिए

विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित सुनिल बहादुर थापा २०७८ मा मात्र कांग्रेसको सदस्य बनेका थिए। कांग्रेस छाडेका विजय गच्छदार पनि २०७४ मा पार्टीमा फर्किएका थिए। तर विधान निलम्बन गर्दा राखिएको प्रावधानले यी दुबैलाई भने केन्द्रमा रहन बाधा पुर्याएको छैन।

विधानको व्यवस्था निलम्बन गर्दा पार्टीका सचिव कृष्ण पौडेलले प्रमाणित गरेको निर्णयको २ नम्बरमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्दा जुन पदमा समायोजन भएको हो उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिने निर्णय गरियो। गच्छदार उपसभापति र थापा सह महामन्त्रीको हैसियतमा पार्टीमा समायोजन भएकाले उनीहरूमा यी समस्या रहेन।

३ नम्बरमा कुनै राजनीतिक दल नेपाली कांग्रेससँग एकीकरण वा विलय हुँदाका अवस्थाबारे मात्र उल्लेख भएकाले गच्छदार र थापाका हकमा १० वर्षको प्रावधान आकर्षित हुने देखिएन। तर चौधरीको हकमा भने उनको उम्मेदवारी नै विधान विपरीत देखिएकाले उनी केन्द्रीय सदस्य निर्वाचित भए पनि अयोग्य हुनेछन्।

चौधरीलाई कांग्रेसमा स्वागत गर्दै पार्टी सभापति देउवाले निकालेको विज्ञप्तीको मिति र विधानको बाधा फुकाउन भएको निर्णयको प्रावधान।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले उम्मेदवारी दर्ता भएर दाबी विरोधको समयमा कसैले उजुरी दिएको भए विधान अनुसार हेरेर आवश्यक निर्णय गर्न सकिने भए पनि दाबी विरोध नपरी मतदान समेत सकिसकेको अवस्थामा सिमितिले त्यस्ता उम्मेदवारको हकमा केही गर्न नसक्ने दाबी गरे।

'दाबी विरोध नपरेका उम्मेदवार मतदान प्रक्रियामा गइसकेको अवस्थामा निर्वाचित भए भने त्यो सदरै हुन्छ। सीमितले त्यसमा केही गर्न सक्दैन,' उनले भने।

५ पुस, २०७८, २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।