फोहोर छान्दा बच्चाको शव हातमा परेपछि

फोहोर छान्दा बच्चाको शव हातमा परेपछि

यो त ओखलढुंगा, चिशंखुगढीका लालबहादुर श्रेष्ठको प्रयास हो। २० वर्षदेखिको अभ्यास हो। कर्म हो, धर्म हो।

०००
आमा-बाका कान्छा छोरा हुन् लालबहादुर। २०५६ सालमा माइलो दाजुले घर छडेर हिँडे। जेठो दाजु खेती-किसानीमा नै व्यस्त।

माइला दाजुले गाउँमा नै केही गर्ने सोचले किराना पसलको होलसेल गर्ने निर्णय गरे। सोही अनुसार घरबारी र खेत गाउँका धनीमानीको सिरानीमुनि तमसुक बनेर पस्यो।

व्यापार सोचे जस्तो भएन। साहुले दिनदिनै दैलो ताक्न थाले। माइला दाजुको घर छोडेर हिँड्नुको कारण यही थियो।

पसलमा भएको सामान रित्याउँदा पनि चार लाख ऋण बाँकी बस्यो। साहुको तारन्तारको घरबारी खाइदिने धम्कीले लालबहादुरले पनि घर छाड्ने निर्णय गरे। उनले घर छाड्दा भने परिवारको साथ थियो। 

‘साहुहरु सधैंजसो पैसा माग्न आउँथे। पैसा तिर्नसक्ने अवस्था थिएन। तमसुक गराउँथे। घर-खेत खाइदिने धम्की दिन्थे,’ लालबहादुर भन्छन्, ‘घर-खेत जोगाउन घरमा सल्लाह गरेर म काठमाडौं आएँ।’

२०५६ सालमा काठमाडौं हिँड्दै गर्दा लालबहादुरको मनमा सहरले काम देओस्, कामले पैसा। अनि पैसाले साहुको ऋण तिर्ने बाटो नदेखाओस् भन्ने थियो।

लालबहादुर सहर आइपुगे। गाउँले नातेदारको कोठा थियो बानेश्वरमा। त्यहँ एक महिना बिताए। सो समयमा उनी कुल्ली बने। ८ कक्षा पढ्दापढ्दै घर छोडेका लालबहादुरको उमेर थियो, जम्मा १४ वर्ष।

सहरमा कुल्ली बनिरहँदा उनले पढाइ त बिर्सिए नै, पैसा पनि कमाउन सकेनन्। काम दुःखको, पैसा नहुने। बेस्सरी दुःख गर्दा पनि पैसा कमाउने माहोल नै बनेन। 

लालबहादुरलाई बास दिने गाउँले नातेदार फोहोर-मैला संकलन गर्ने काम गर्थे। उनको आफ्नै संस्था पनि थियो- जन जागरुक सफा-सुग्घर अभियान।

‘भारी बोक्ने काममा पैसा भएन। पैसा फोहोरको काममा छ भने ती आफन्तले,’ लालबहादुर सम्झन्छन्, ‘उनैले फोहोर संकलन गर्ने काम लगाइदिए।’

लालबहादुरको तालुबाट नाम्लो छुट्यो। आङबाट डोकाहरु भागे। ऋब हातमा रिक्साको ह्याण्डल बसे। पैतालामा रिक्साको पाइडल।

फोहोर उठाउन उनी मान्छेका घरघर पुग्थे। फोहोरको सदस्यता विस्तार गर्थे। सानै उमेरमा कर्मशील भएको देखेर मान्छेले उनलाई सय-पचास रुपैयाँ दिन्थे पनि। तर सधैं एउटै अवस्था हुँदैनथ्यो। आज जस्तो शिक्षित समाज २० वर्षअघि काठमाडौंमा पनि थिएन जस्तो लाग्छ उनलाई। 

‘खाते भनेर हेयभावले हेर्ने मान्छे पनि थिए,’ लालबहादुर भन्छन्, ‘होटलमा भात खाँदा हामीलाई अलग्गै राख्थे। मान्छेले अति नै घृणा गर्थे।’

अरुले नराम्रो बचन लगाइरहँदा लालबहादुरलाई ऋणले पोल्थ्यो। ऋण सम्झिएपछि मान्छेका बचन बिर्सन खोज्थे।

हुन त आफ्नो कामै पनि फोहोरसँग नै खेल्नुपर्ने थियो। लालबहादुर उतिबेला मन बुझाउने मन्त्र सम्झन्छन्, ‘सफा मान्छेलाई फोहोरसँग डर लागिहाल्छ। तर उनीहरु हाम्रै कारण सफामा छन्। त्यो चाहिँ बुझाउनुपर्छ।’

फोहोर संकलन गर्दा सकभर मान्छेलाई फोहोर व्यवस्थापनबारे सिकाउन पनि चुक्दैनन् उनी।

०००
फोहोर संकलन गर्न थालेको एक वर्षपछि लालबहादुर घर गए। साहुलाई भेला परे। 

वर्षभरि काम गरेर जम्मा पारेको २० हजार साथमा लगेका थिए। साहुलाई २० वटा हजारका नोट तेर्स्याए उनले, ‘अब म कमाउने  भएँ।’ लालबहादुरलाई यति प्रमाणित गर्नु थियो साहुहरुमाझ। उनी सफल भए। 

साहुले तमसुक उनका बाका हातमा हाल्दिए। बाले घरबारी र खेत साहुको हुने तमसुक आफ्नै हातले च्याते। लालबहादुरलाई झन् आँट बढ्यो। 

‘मैले एक वर्षमा कमाएको यही २० हजार हो। विस्तारै ऋण तिर्छु भनेर साहुहरुसँग अपिल  गरें,’ लालबहादुर भन्छन्, ‘१५ वर्षको केटोले यसरी आँट गरेको देखेर साहुहरुले पनि मन फेरे। मैले व्याज तिर्न नपर्ने भयो।’

विस्तारै घटाउँदै जानु, साहुहरुले यत्ति भने लालबहादुरलाई। उनले विस्तारै ऋण चुक्ता गर्दै गए।

०००
सुरु-सुरुमा लालबहादुरलाई फोहोर उठाउन घिन लाग्थ्यो। हातले भात खान पनि सक्दैनथे। विस्तारै बानी पर्यो। तर त्यो बानी पार्ने काम पैसाले गरेको थियो। 

उनले फोहोर संकलन मात्र गरेनन्, आफूले ल्याएको फोहोरबाट कवाडीका सामान पनि छान्न थाले। त्यसले कमाइमा निकै सुधार ल्यायो। केही वर्षमै माइला दाजुले लगाइदिएको ऋण पनि चुक्ता भयो। 

ऋण चुक्ता भएको केही समयमा नै खबर आयो। घर छाडेर हिँडेका माइदा दाइले संसार पनि छाडे। उनी घर नफर्की कहिल्यै नफर्कने बाटो हिँडे।

फोहोर उठाइरहँदा उनका हातमा सुनका झुम्का, औंठी र सिक्री पर्थे त कहिले दिसा। कहिले बच्चाको शव त कहिले टन्नै कवाडी।  

एक पटक लालबहादुरलाई फोहोर उठाएकै कारण प्रहरी चौकीमा समेत जानु पर्यो। 

२०५८ सालतिर सिनामंगलमा फोहोर उठाउँदै थिए। सधैंझैं फोहोर उठाउने काम सकेर कवाडी छान्ने काम सुरु हुँदै थियो, लालबहादुरले नै उठाएर ल्याएको फोहोरमा नवजात शिशुको शव भेटियो। कवाडी छान्नेहरुले प्रहरीलाई फोन गरे। प्रहरीले उनलाई चौकी लगे।

‘प्लास्टिकको झोलामा बच्चाको शव रहेछ,’ उनी भन्छन्, ‘प्रहरीले चौकीमा लग्यो। सोधखोज गर्यो। मैले प्रहरीलाई साँचो कुरा बताएँ। त्यो घटना अहिले पनि मेरो आँखामा आउँछ। मन चिसो हुन्छ। फाल्नलाई किन जन्माएको होला?’

०००
लालबहादुर घरघरमा फोहोर व्यवस्थापनको तालिम दिनु जरुरी ठान्छन्। उनलाई रहर छ, असरल्ल छरिएका फोहोरका पोका-पुन्तुरा सडकमा देख्न नपरोस्। भन्छन्, ‘मेरो बस चल्थ्यो भने त फोहोरमैला व्यवस्थापन सानै कक्षाबाट पढाउँथें। फोहोररहित सहर-गाउँ बनाउँथे। आफ्नै फोहोर, आफ्नै मोहोर अभियान चलाउँथें।’

फोहोर उठाउँदै गर्दा लालबहादुर फोहोर उठाउनेहरुको पक्षमा वकालत समेत गर्दै आइरहेका छन्। उनी आज पनि फोहोर उठाउन उसैगरी हिँड्छन्। तर पहिले रिक्सामा हिँड्ने उनी अहिले गाडीमा हिँड्छन्।

‘फोहोर उठाउने काममा ठूलो रिस्क छ,’ उनी भन्छन्, ‘फोहोर भनेकै हामीलाई नचाहिने चिज न हो। जसका कारण हाम्रो स्वास्थ्यमा समस्या निम्तिन्छ।’

फोहोरमा अरुले प्रयोग गरेका सुई, सिसाका टुक्रा लगायतका अन्य धेरै जोखिमयुक्त वस्तु हुन्छन्। ती सबै बाहिरबाट नै देखिँदैनन्। खोल्दा अकस्मात, अप्रत्यासित रुपमा त्यसले दुर्घटना निम्त्याइदिन सक्छ। त्यसैले उनी फोहोर-मैला संकलक, व्यवस्थापकलाई स्वास्थ्य बिमा हुनुपर्छ भन्ने धारणा राख्छन्।

‘जोखिम उच्च छ। कोरोनाकै बेलामा हेरौं न। मान्छे मान्छेसँग डराउने बेला थियो। हामी त ती सबै मान्छेका फोहोर उठाउँथ्यौं। त्यो सानो जोखिम हो त?’ उनी भन्छन्, ‘फोहोरमा पैसा छ। कमाइ पनि ठिकै हुन्छ। तर स्वास्थ्यमा जोखिम छ। भोलि स्वास्थ्य समस्याका कारण यो काम गर्न सकिएन भने के त विकल्प?’

उनी प्रश्न मात्र गर्दैनन्। आफ्नो तर्फबाट सामाधान पनि निकाल्छन्। हाल उनी तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण नामक संस्थासँग जोडिएर काम गरिरहेका छन्। साथै, उनका मातहतमा रहेका ४७ कर्मचारीलाई वैकल्पिक सिप विकास गर्न प्रेरित पनि गरिरहन्छन्।

‘भोलि संस्था नै खारेज होला वा केही समस्या भएर यो काम गर्न नसकिएला। तब के गर्ने त? बाँच्न आधार चाहिएन,’ उनी सुनाउँछन्, ‘फोहोर-मैलामा काम गर्ने अधिंकाश ग्रामीण क्षेत्रका दुःख पाएका मान्छे छन्। शिक्षा त उनीहरुसँग छैन, यहाँबाट निस्कनु पर्दा केही सिप भयो भने जीवन धान्न सहज भयो नि।’

१४ वर्ष रिक्सामा फोहोर संकलन गरेपछि विगत ७ वर्षदेखि उनी सुपरभाइजर पदमा छन्।  

०००
२० वर्ष काठमाडौंका विभिन्न स्थानमा लालबहादुरले रिक्सा र गाडीमा सिट्ठी फुक्दै फोहोर उठाए। फोहोर उठाएर नै जितपुरफेदीमा जग्गा किने। घर बनाए।

‘फोहोरमा पैसा नै पैसा छ। हामीले फोहोर फाल्छौं। तर फोहारमा फ्याल्न लायकको कुनै चिज नै हुँदैन,’ उनी भन्छन्, ‘फोहोर भनेको त मोहोर नै मोहोर हो।’ 

तर, फोहोरलाई मोहोरमा रुपान्तरण गर्न भने हामीसँग उचित अवसर नभएझैं लाग्छ उनलाई।

‘पढे-लेखेका मान्छे फोहोरमा आउनुपर्यो। उनीहरुले प्रविधि ल्याउनुपर्यो। काम नलाग्ने भनेर फालिने प्लास्टिकजन्य वस्तु, कवाडी, फुटेका सिसा, सड्ने कुरा, फलिएका खाना सबैमा पैसा नै पैसा छ। तर ती फोहोरलाई मोहर बनाउन न कवाडी छान्ने व्यवस्थित ठाउँ छ। न प्रविधि नै। न त सुरक्षा नै छ छान्ने कर्मचारीलाई।’

फोहोरजन्य व्यापार मात्र गर्ने हो भने महिनामा लाखौं आम्दानी गर्न सकिन्छ, लालबहादुरलाई यस्तै लाग्छ। र, उनी भन्छन्, ‘शिक्षित मान्छे खोजिरहेछ फोहोर।’

५ पुस, २०७८, १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।