सामान्य विवादमा छिमेकीले दिए दर्दनाक मृत्यु, अडियो छाडेर अपराधी फरार

सामान्य विवादमा छिमेकीले दिए दर्दनाक मृत्यु, अडियो छाडेर अपराधी फरार

धनगढी : २० दिनअघि मात्र भारतबाट घर आएका कैलाली, जानकी गाउँपालिका-९ का अर्जुन भनिने अरुण दास शुक्रबार साँझबाट परिवारसँग सम्पर्कविहीन भए। घरमा रहेकी उनकी श्रीमती धनादेवी दास र छोरी चिन्तित थिए। उनीहरूले सबै आफन्तकहाँ सोधपुछ गरे। तर अरुणको पत्तो लागेन। 

श्रीमतीले रुँदै रात काटिन्। छोरी बा खै भनेर कराइरहेकी थिइन्। बुबा खेलौना लिन गएका छन् भन्दै धनादेवीले छोरीलाई फकाइन्। भोलिपल्ट पनि अर्जुनको पत्तो थिएन। यत्तिकैमा एक जना छिमेकीले धनाको म्यासेन्जरमा अडियो पठाए। 

अडियोमा आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी थिए। 

श्रीमानको चिन्ताले आत्तिइरहेकी धना अडियो सुन्दा केहीबेर अचेत जस्तै भइन्। 

उक्त अडिओमा ‘घाँटी अलग छ, शरीर अलग छ। तपाईँ एक/दुई दिनमा थाहा पाउनुहुन्छ। हामी हत्या गरेर नेपालगन्जको रुपैडिहा नाका हुँदै भारत जाँदैछौ भनिएको छ।’

यो सुनिसकेपछि धनाको शरीर काँप्न थाल्यो। के गर्ने, के नगर्ने उनले सोच्नै सकिरहेकी थिइनन्। शनिबार दिउँसो ३ बजिसकेको थियो। उनी अत्तालिँदै प्रहरी चौकी अमरावती पुगिन्। अडियो आउनुभन्दा अघिसम्म घटनाबारे प्रहरी बेखबर थियो। अडियोकै आधारमा अनुसन्धान सुरु गर्ने तरखर गरिरहेको प्रहरीलाई अमरावती सामुदायिक वनमा एक जनाको बिभत्स अवस्थामा शव भेटिएको सूचना आयो।

‘प्रहरी टोली त्यहाँ पुगेर हेर्दा शव तिनै महिलाको श्रीमानको रहेछ। हामी पुग्दा टाउको र शरीर अलग-अलग भएको अवस्थामा शव थियो। घटना शुक्रबार राति तीन/चार बजेको हाराहारीमा भएको देखिन्छ। तर हामीले सूचना शनिबार दिउँसो मात्रै पायौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘घटना भएको १२ घण्टापछि मात्रै खबर पायौँ। अहिले अनुसन्धान जारी छ। घटनापछि अडियो पनि बाहिरिएको छ। घटनामा पाँच/छ जनाको संलग्नता देखिएको छ। हामी तिनीहरूको खोजी गर्दैछौं।’

फोन रेकर्ड मृतककी श्रीमतीबाटै बरामद भएको प्रहरीले जनाएको छ। मृतककी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति अहिले प्रहरीको नियन्त्रणमै छन्। 

मोबाइलले निम्त्याएको घटना 
स्रोतका अनुसार मृतक अर्जुनले छिमेकी स्थानीय एक जनाको मोबाइल र अन्य सामान लुकाएका थिए। युवाहरूको समूहले फिर्ता गर्न भन्दै पटक-पटक धम्काइरहेका थिए।

उनीहरूले मृतककी श्रीमतीलाई पनि धम्की दिएका थिए। तर मृतककी श्रीमतीले आफू क्षतिपूर्ति तिर्न तयार रहेको भन्दै श्रीमानलाई केही नगर्न आग्रह गरेकी थिइन्। उनीहरूले सामान फिर्ता नगरे देखाइदिने चेतावनी दिएका थिए।

अचानक शुक्रबार साँझबाट अरुण बेपत्ता भए। शुक्रबार राति तीन बजे युवाहरूको समूह फेरि मृतक अर्जुनको घरमा गएर उनकी श्रीमतीसँग सामान मागेको देखिन्छ। शुक्रबार राति पनि सामान नभेटिएपछि अरुणको राति नै घाँटी रेटेर हत्या गरिएको स्रोतको दावी छ। 

मोबाइलसँगैको सामग्री लागुऔषध रहेको हुनसक्ने प्रहरीको आकलन छ। ‘घटनास्थलमा पनि चुरोटका ठुटाहरू भेटिएका छन्। राति चाउचाउ खाएको पनि देखिन्छ। घटनास्थलबाटै लागुऔषध जस्तै देखिने सामग्री पनि बरामद भएको छ। त्यो लागुऔषध हो वा होइन, हामी अनुसन्धानमा छौं’, प्रहरी उपरीक्षक अधिकारीले भने।

उठेन शव, भएन सहमति 
मृतकका परिवारले शव उठाउन मानेका छैनन्। हत्यारालाई पक्राउ गरी कारबाही नभएसम्म शव नउठाउने उनीहरूको अडान छ। 
तर हत्यामा संलग्नहरू फरार छन्। दोषीमाथि कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने पीडित पक्षको माग छ। तर क्षतिपूर्ति दिन प्रशासन तयार नभएपछि अहिलेसम्म शव उठेको छैन। 

जानकी गाउँपालिका-९ की वडा सदस्य सुनकोसा सार्कीका अनुसार प्रशासन क्षतिपूर्ति दिन तयार छैन। अहिले छलफल चलिरहेको छ। मृतकका परिवारले अहिलेसम्म प्रहरीमा जाहेरी पनि दिएका छैनन्।

४ पुस, २०७८, १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।