'विश्व हल्लाउने गजलकार हाम्रै समाजबाट निस्कन सक्छन्'

'विश्व हल्लाउने गजलकार हाम्रै समाजबाट निस्कन सक्छन्'

डाक्टर सा'ब म चामल बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुस्।

पालुङ्गटारका प्रदीप रोदनको यो शेर आज पनि गरिबी चित्रण गर्न उत्तिकै प्रयोग गरिन्छ। २०७० सालबाट गजल लेख्न सुरु गरेका प्रदीपले २०७५ पछि धेरै मञ्चमा आफूलाई प्रस्तुत गरिसके। 

स्वतन्त्र र बहर दुवै विधामा कलम चलाउने प्रदीप गजललाई व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। उनै गजलकार प्रदीपसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले  मलाई मनपर्छ कोलमका लागि गरेको कुराकानीको अंश, प्रदीपकै भाषामा। 

००

नेपाली गजलमा मुलतः बहर र स्वतन्त्रका दुई धार देखिएको छ। एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको छ। तर जति बेला मैल गजल लेख्न सुरु गरें त्यस समयमा यो विवादले यति आक्रामक रूप लिएको थिएन।

मलाई गजलको 'यो धार ऊ धार'भन्दा पनि गजल, गजल जस्तो लेख्न सकौं भन्ने लागिरहन्छ। म त्यसमा नै अभ्यासरत पनि छु। यी दुईबीचको समस्या सुत्रमा गएर अड्किएको छ। तर सबैलाई एकै प्रकारको सुत्रमा हालिरहँदा नवीनता नआउने पनि हुन्छ। 

सुत्रात्मक लेख्न सक्नले लेखौं। त्यसमा विवाद हुँदैन। त्यो गजल नै रहन्छ। तर मलाई दुःखको, पीडाको, आक्रोशको भाव व्यक्त गर्ने कुनै ठोस सुत्र हुन्छ जस्तो पनि लाग्दैन। 

म सुरुमा स्वतन्त्र गजल लेख्थें। २०७० सालबाट मेरो गजल यात्राको सुरु भयो। गोरखाका रमेश भट्ट 'साधु' भन्ने गजलकार साथी हुनुहुन्थ्यो। उहाँले 'अक्षरहरूको पिरामिड' नामक संयुक्त गजल संग्रहका लागि गजल लेख्न भन्नु भयो। उहाँले  नै सुरुमा मलाई गजलको कखरा सिकाउनु भयो। 

उहाँ स्वतन्त्र गजल लेख्नुहुन्थ्यो। त्यति बेला १५ वटा स्वतन्त्र गजल लेखें। त्यो छापियो पनि। 

दुई वर्ष मैले स्वतन्त्र गजल नै लेखें। तर समय क्रमसँगै म बहरतिर तानिए। आवाज शर्मा, टंक गुरुङ लगायतका बहर गुरुहरूको संगतमा रहेर बहर यात्रा सुरु भयो।

गजलको भाव र  त्यसको प्रभाव क्षेत्र हेरेर म अहिले बहर र स्वतन्त्र दुवै किसिमका गजल लेख्ने गर्छु। जस्तो प्रेमिल कुरा, दर्शनका कुरा हुदाँ म बहरमा तानिन्छु। 

तरनुममा उत्रिन सक्ने भाव आयो भने बहरले तान्छ। तर, सत्ताप्रतिको आक्रोश, उग्र भावनात्मक समवेदना जुन तपाईंको अन्तर मनमा छ, त्यस्ता चिजहरूलाई म  स्वतन्त्रमा लेख्छु। जसले स्वतन्त्रमा हुँदा बढी मिठास दिन्छ। 

गजल लेखनमा मेरो आफ्नो आत्मअनुशासन पनि छ, त्यो के हो भने म गजल लेख्न बस्दा सकभर एक बसाइँमा दुई गजल लेख्छु,लेख्न कोसिस गर्छु। एक बहरमा र अर्को स्वतन्त्र। मलाई समाजले चिनेको स्वतन्त्र गजलबाट हो।

००

म कुनै बेला तनहुँको 'मेरो एफएम'मा गीति कार्यक्रम चलाउँथें। कार्यक्रम सञ्चालन गरिरहँदा मभित्रका भावनाहरू स्वाभाविक रूपमा निस्कने नै भए। रेडियोमा काम गरिरहँदा कार्यक्रमलाई सकभर साहित्यीक बनाउने प्रयास रहन्थ्यो। 

गजल लेख्न थालेपछि त्यसले मेरो कार्यक्रमलाई थप उँचाइमा लग्यो। त्यसले मलाई गजल लेख्न हौंसाइ रह्यो।

००

आफ्नो अस्तित्व खोजीरहँदा मलाई बुद रानाका गजलहरूले खुबै छुन्थे। सबैभन्दा बढी प्रभाव ममा उहाँको व्यक्तित्वले पार्यो। व्यक्ति त सधैं सबैलाई मन नपर्न सक्छ, तर व्यक्तिको विशेषता भने मन परिरहन्छ।

बुद राना वृद्ध उमेरमा पनि गजल साधनमा उत्तिकै तल्लीन हुनुहुन्छ। यही विशेषताले उहाँ मलाई मन पर्ने गजलकार पनि हुनुहुन्छ। उहाँकै जस्तो साधना गर्ने अभ्यास म पनि गरिरहेको छु। त्यसले लेखनमा परिपक्वताका साथैं इमान्दारीता पनि ल्याउँछ भन्ने लाग्छ।

तर समस्या के छ भने साधनाको मूल्य देखिँदैन र साधक सधैं असहज जीवनमा नै अल्झिनुपर्ने बाध्यता छ। 

गजल लेखेर नै बाँच्न सकियो भने भोलिका दिनमा विश्व हल्लाउन सक्ने शायर हाम्रो समाजबाट पनि निस्कन्छ। हामीले बाहिरका सर्जकलाई पढे जस्तै हाम्रा सर्जकलाई पनि विश्वले हेर्छ, पढ्छ। 

जब गजल लेखेर नै जीवन धान्न सकिन्छ, त्यो पेशा बन्छ। पेशा भएपछि साधनाको स्तर फरक हुन्छ। साधना गतिलो भएपछि सृजनाको वजन बढ्छ। सृजना अब्बल भएपछि त के चाहियो अरु? 

०००

म साधारण मानिस। म जस्ता, मभन्दा राम्रा धेरै छन्। ती सबैलाई सहज रूपमा यस क्षेत्रमा आउन प्रेरण दिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसको लागि नेपाली गजल व्यावसायिक हुनुपर्छ। बनाउनुपर्छ।

म आफैं पनि ०७५ सालमा सर्वनामको मेहफिलबाट उदाएँ। त्यही कार्यक्रममा मैले सुनाएको गजलले नै मलाई गजलकारको रूपमा स्थापित गरायो। 

समाजले माया गरिदिनु भएको डाक्टर साहेब वाला सेर मैले कार्यक्रमको निम्तो आएपछि लेखेको थिएँ। त्यसले नयाँ परिचय दियो मलाई। 

अबको पुस्ताले गजल जस्तो गजल लेख्न साधनामा लाग्नु जरुरी छ। बहर, स्वतन्त्र भन्ने कुरा समयले निर्धारण गर्दै जाला। त्यो समयलाई छाड्दै, हामी साधना गरौं। 

गजल जस्ता गजल लेखौं। र गजललाई व्यावसायिक बनाएर यो क्षेत्रमा अपार सम्भावना भएकाहरूलाई आकर्षित गरौं।

३ पुस, २०७८, १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।