विकलको स्मृतिमा स्रष्टाहरू पुरस्कृत

विकलको स्मृतिमा स्रष्टाहरू पुरस्कृत

काठमाडौँ : आख्यानकार रमेश विकलको १४ औँ स्मृति सभाका अवसरमा स्रष्टाहरू पुरस्कृत भएका छन्। रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्य सहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन्।

५० हजार रुपैयाँ राशिको  विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिएको छ। १५ हजार रुपैयाँ राशिको विकल समाजसेवा पुरस्कार डाक्टर रवीन्द्र समीरलाई प्रदान गरियो।

विकल सृजना पुरस्कार विमल निभा, विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बाल साहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कला सङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरियो। यी सबै पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको छ।

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरिएको छ।

सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसाल सहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, एमालेका नेता रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चूडामणि बन्धु लगायतले विकलको बहुआयामीक व्यक्तित्वबारे चर्चा गरेका थिए।

३ पुस, २०७८, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।