उकेरा कोलम

सर्जन विकासको सुख-दुःख:

सचिवले सरकारी जागिर खाइदिए, शल्यक्रिया सफल हुँदा पनि ती महिला बाँचिनन्


'शल्यक्रिया' चिकित्सकहरूको परीक्षा हो। निर्णय लिने क्षमताको परीक्षा। वीर अस्पतालका सर्जन डा. विकास नेपाल त्यो परीक्षामा धेरै पटक पास भएका छन्।

शल्य चिकित्सक (सर्जन)हरू कहिलेकाहिँ 'शल्यक्रिया गरेर बिरामी बचाउने कि, नगरी बिरामी बचाउने' भन्ने दोधारमा हुन्छन्। नगरौँ, बिरामीको मृत्यु निश्चित छ। गरौँ, जोखिम धेरै छ।

चार वर्षअघि डा. विकास त्यही दोधारमा थिए। १५ वर्षकी किशोरी वीर अस्पताल पुगेकी थिइन्। उनको देब्रेपट्टि पेटमा ठूलो ट्युमर थियो। वीर उनको अन्तिम आश थियो। यसअघि पुगेका अस्पतालका चिकित्सकहरूले 'जोखिम छ' भनेर शल्यक्रिया गर्नै डराएका रहेछन्।

उनले सुरुमा ती किशोरीको सिटी, एमआरआई रिपोर्ट हेरे। क्यान्सरै हो कि भन्ने पनि लाग्यो उनलाई।

विकासको परीक्षा सुरु भइसकेको थियो। शल्यक्रिया नगरे ती किशोरीको ज्यान जानसक्थ्यो। शल्यक्रिया गरे पनि जोखिम उत्तिकै थियो। 

किशोरीको पेटमा 'रेट्रोपेरिटोनिल' ट्युमर थियो। यस किसिमको ट्युमरको शल्यक्रिया गर्दा कहिलेकाहिँ मृगौला समेत निकालेर शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर मुख्य जोखिम चाहिँ-  शल्यक्रिया गर्दा समेत कतिपय बिरामीको शरीरबाट यो ट्युमर पूर्णरूपमा निकाल्न सकिँदैन। 

विकासको टीमलाई यो जोखिमबारे थाहा थियो। तर, उनले परीक्षा दिने निधो गरे। ट्युमरको शल्यक्रिया गर्ने साहस गरे। 

शल्यक्रिया सुरु भयो। र केही घण्टाको अथक मेहनतपछि चिकित्सकको टीमले किशोरीको पेटको ट्युमर निकाल्न सफल भयो। 

भाग्यवश, त्यो ट्युमर क्यान्सर होइन रहेछ। विकासको टीम झनै खुशी भयो। ती किशोरीले पुनर्जीवन पाइन्।  ‘धन्न बायोप्सी रिपोर्टमा क्यान्सर देखिएन। साधारण खालको ट्युमर देखियो’, विकासले भने। 

ती किशोरी अहिले पनि ६/६ महिनामा फलोअपमा आउने गर्छिन्। विकासले चार वर्षअघि शल्यक्रिया गरिएकी ती किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ। आफ्नो ज्यान बचाइदिएकोमा ती युवती विकासप्रति निक्कै कृतज्ञ छिन्।

०००

कहिलेकाहिँ शल्यक्रिया सफल भइसकेपछि र अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेको बेला पनि कतिपय बिरामीको अचानक मृत्यु हुन्छ। यस्ता घटनाको पनि साक्षी बनेका छन्, विकास। 

महिलाको अचानक मृत्यु हुँदा...
केही दिनअघिको मात्रै घटना हो। ६५ वर्षकी महिला अस्पताल आएकी थिइन्। स्वास्थ्य जाँच गर्दा उनको हर्नियामा आन्द्रा बटारिएर आन्द्रा बन्द भएको पत्ता लाग्यो। 

समस्याको पहिचानपछि विकासको टीमले शल्यक्रिया थाल्यो। शल्यक्रिया सफल पनि भयो। तीन दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी पनि हुँदै थियो।

तर ती महिलामा मुटुको समस्या पनि रहेछ। डिस्चार्जको तयारी गरिरहेको अवस्थामा अचानक मुटुको चाल बन्द भयो। उनी डिस्चार्ज हुन पाइनन्। घर जाने दिन अस्पतालमा उनको प्राण गयो। 

चिकित्सकको जीवनमा कतिपय परीक्षा यस्तै हुन्छन्। सबै सफल भएर पनि अन्ततः सफलता हात पर्दैन।

दिसा खस्ने महिलाको उपचार...
दुई हप्ताअघि। ५५ वर्षकी महिला वीर अस्पताल पुगेकी थिइन्। उनलाई दिसा चुहिरहने समस्या थियो। 

तिनको शरीरको 'दिसा गर्ने घर' नै करिब १० सेन्टिमिटर बाहिर निस्केको थियो। त्यसैले बस्दा वा हिँडडुल गर्दा जतिबेला पनि दिसा चुहिरहन्थो। 

जता गए पनि झोलामा धेरै वटा कपडा बोकेर हिँड्नुपर्ने बाध्यता थियो उनलाई। दैनिक जीवनमा कष्टको पराकाष्ठा भोग्दै थिइन् उनी। 

उनले वीर पुग्नुअघि अन्य अस्पतालमा पनि उपचार गराएकी रहिछन्। अरू चिकित्सकले शल्यक्रिया गरे पनि सफलता भने मिलेको रहेनछ।

आफन्तसँग वीर पुगेकी ती महिलाको रोग विकासको टीमले हेर्ने भयो। सुरुमा त उनी निको होला भन्ने विश्वासै गर्थिनन् रे। तर विकासको टीमले पहिला उनलाई सम्झायो। र 'ल्याप्रोस्कोपी सर्जरी' विधिबाट शल्यक्रिया गर्‍यो। चिकित्सकीय भाषामा यसलाई ‘ल्याप्रोस्कोपिक भेन्ट्रल मेस रेक्टोपेक्सी’ विधि भनिन्छ। 

शल्यक्रियापछि सकियो। विकासको टीमले 'सफल शल्यक्रिया' भन्यो। तर सफलता मापन गर्ने आधार अन्ततः बिरामी नै हुन्। ती महिलाको दिसा चुहिने र दिसा गर्ने घर झर्ने दुवै समस्या समाधान भयो। 

दुई हप्तापछि उनी फलोअपमा पनि आएकी थिइन्। त्यस बेला उनले आफू पूर्णतया निको भएको पनि बताएकी थिइन्।  

यो खाले समस्या बढीजसो महिलामा नै हुने डा. विकासले सुनाए। बच्चा जन्माउने क्रममा मलद्वार वरिपरिका मांसपेशी कमजोर हुने भएकाले दिसा गर्ने घर खस्ने जोखिम हुने उनी सुनाउँछन्।

जोखिम हेरेर शल्यक्रिया
विकासका अनुसार शल्यक्रिया गर्दा पनि जोखम छ। नगर्दा त झनै धेरै छ। ‘रिस्क अलिकति लिएर फाइदा धेरै हुन्छ भने त शल्यक्रिया गर्नै पर्‍यो नि!’, उनले भने।  

जोखिम बढी तर शल्यक्रियापछि लाभ कम हुने भए टीममा छलफल गरेर मात्रै शल्यक्रिया गरिने उनी सुनाउँछन्। 

तर, कतिपय अवस्थामा भने शल्यक्रिया नगरी बिरामी नै नबाँच्ने हुन्छ। यस्तो बेला बिरामी तथा आफन्तसँग छलफल गरेर शल्यक्रिया गरिने उनले सुनाए। 

त्यसो त शल्यक्रिया गरेर पनि लाभ हुने भएपछि धेरै बिरामीलाई फर्काउनु परेको पनि उनको अनुभूति छ। विशेषगरी क्यान्सरको समस्या भएका बिरामीलाई शल्यक्रिया नगरी फर्काउनुपर्छ। 

बिरामी बाँच्दैन भनेर थाहा पाउँदै बिरामी फर्काउनुपर्दा उनको मन कटक्क हुन्छ। तर उपचार सम्भव नहुने बिरामीलाई उनको टीमले उपचार हुँदैन भनेर एक्कासी भन्दैनन्। बिरामीको अवस्था हेरेर किस्ता किस्तामा उनीहरूलाई बचाउन नसकिने कुरा भन्ने गर्छन्। 

जन्म नुवाकोट, रोजाइमा सर्जरी
नुवाकोटको विदुरमा २०३८ सालमा जन्मिएका विकासले नवकोटकै ‘पायोनिर अङ्ग्रेजी स्कुल’बाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौंको ‘बागमती हायर सेकेण्डरी स्कुल’मा ११ र १२ पढे। 

त्यसपछि विकासले एमबीबीएसको तयारी गरे। एक वर्षपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि उनी छनोट भए।

सन् २००१ मा विकास चितवनको भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्सेस’मा एमबीबीएस अध्ययन गर्न पुगे। २००७ मा अध्ययन पूरा गरे। त्यो बेला छात्रवृत्ति कोटामा अध्ययन गरेबापत दुई वर्ष अनिवार्य सरकारी अस्पतालमा काम गर्नुपर्ने नियम आयो। नियमअनुसार उनले नुवाकोटको त्रिशूली अस्पतालमा दुई वर्ष काम गरे।

त्रिशूली अस्पतालमा काम गरिरहेको अवस्थामा विकासले २०६६ सालतिर लोकसेवा परीक्षा दिए। लोकसेवामा नाम निस्कियो। उनी सरकारी जागिरे भए। उनको पहिलो पोस्टिङ त्रिशूली अस्पतालमै भयो। त्यहाँ कुल तीन वर्ष काम गरे।

त्यसो त त्रिशूली अस्पतालमा काम गर्दा नै स्नातकोत्तर तह (एमएस सर्जरी) अध्ययनका लागि उनले प्रवेश परीक्षा दिएका थिए। पछि छनोट पनि भए। विकासको रोजाइ 'सर्जरी' थियो। सर्जरी नभए मेडिसिन। तर आफूले छानेको विषय उनले पढ्न पाएनन्। 

त्यसैले भारतको ‘अल इन्डिया इन्स्टिच्युट’ पुगेर एमएस सर्जरी अध्ययन थाले। 

अध्ययनमा जाँदा सरकारी जागिर चैट
विकास सन् २०११ मा ‘अल इन्डिया इन्स्टिच्युट’मा भर्ना भएका थिए। तर भारतमा एमएस सर्जरी अध्ययन गर्न गएको समयमा उनको सरकारी जागिर भने गएछ। 

एक वर्ष मात्रै सरकारी जागिरेका रूपमा काम गरेका हुनाले उनले अध्ययन बिदा पनि पाएका थिएनन्। बिदाका लागि निवेदन त दिएका थिए। तत्कालीन स्वस्थ सचिवले पढ्न जानु बिदासिदा मिलाउँदै गरुँला पनि भनेका थिए। सचिवकै कुरा सुनेर उनी ढुक्क पनि भएका थिए। तर, बिदा पाउनु त परको कुरा विकासको जागिरै गयो। 

उनी त्यहाँ अध्ययन गरिरहेको बेला 'भविष्यमा सरकारी जागिरका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ' भनेर पत्रिकामा उनको नाम नै निस्कियो। 

सरकारी जागिर गुमेपछि विकासको मन चसक्क भएको थियो। खाइपाई आएको जागिर गुम्दा कसलाई पो नबिझ्ला र! 

तर, जागिर त फेरि पनि  पाइहालिन्छ भन्दै उनी सर्जरी अध्ययनमा लागे। अध्ययन राम्रो भयो। सन् २०१४ मा सर्जरी विषयको विशेषज्ञता हासिल गरेर उनी नेपाल फर्किए।

प्राथमिकतामा सरकारी अस्पताल
नेपाल आएपछि उनलाई निजीभन्दा सरकारी जागिर नै गर्ने मन थियो। करार नै भए पनि सरकारी अस्पतालमा नै काम गर्ने उनको लक्ष्य थियो।

तर, अध्ययन सकेर नेपाल फर्किएको केही महिना उनले भनेजस्तो काम पाएनन्। २/३ महिनापछि भने पाटन अस्पतालमा लेक्चररका रूपमा काम पाए। त्यहाँ पाँच महिना काम गरे। पाटनमा काम गर्दा उनले शिक्षण अस्पताल (टिचिङ)मा सर्जरी विषय अध्ययन गरेका चिकित्सकको आवश्यकता रहेको थाहा पाए।

विकासले त्यो बेला सोचे– 'पाटन सानो ठाउँ हो। टिचिङ ठूलो। टिचिङमा काम गर्न पाइयो भने त धेरै ज्ञान तथा सीपको विकास गर्न सकिन्छ।'

विकास त्यसपछि पाटन अस्पतालको जागिर छाडेर करारमा नै टिचिङ अस्पतालमा काम गर्न पुगे। त्यहाँ उनले उपप्राध्यापकको भूमिकामा रहेर काम गरे। त्यहाँ सन् २०१७ सम्म करिब तीन वर्ष सर्जनका रूपमा काम गरे।

तर करारमा मात्रै काम गरेर वृत्तिविकास नहुने विकासले बुझे। उनले पुनः लोकसेवाको परीक्षा दिए। सफल भए। २०७४ सालमा उनी फेरि सर्जरी विषयको विशेषज्ञ चिकित्सकका रूपमा सरकारी जागिरे भए। 

विकास ९ औं तहको कन्सल्टेन्ट सर्जनका रूपमा स्थायी जागिरे भएपछि उनको पोस्टिङ वीर अस्पतालमा भयो। त्यसयता उनी वीरमै छन्। उनी सरकारी जागिरे भएको दुई वर्ष पनि नपुग्दै प्रमुख कन्सल्ट्याण्टका रूपमा लोक सेवामार्फत ११औं तहमा पुग्न सफल भएका छन्। विकास प्रमुख कन्सल्ट्याण्ट सर्जन तथा सह–प्राध्यापक पनि हुन्। 

अप्रेसन थिएटरमा रमाउने बानी 
चिकित्सकको जीवन व्यस्त जीवन हो। बिहानदेखि बेलुकीसम्मै विकास अप्रेसन थिएटरमै हुन्छन्। 

नयाँ-नयाँ किसिमको समस्या लिएर बिरामी अस्पताल पुग्ने भएकाले दैनिक अप्रेसन थिएटरमा छिर्नुअघि आफूहरूले पनि नयाँ-नयाँ योजना बनाउनुपर्ने उनको अनुभव छ। यो पेशाको चुनौती र रोमाञ्चकता यही हो। 

डा. विकासकी श्रीमती आर्किटेक्ट इन्जिनियर हुन्। श्रीमतीको तुलनामा उनी नै बढी व्यस्त हुन्छन्। तर आफूले रोजेको पेशा भएकाले कुनै पश्चात्ताप र अल्छी नलाग्ने उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

मलाई बढो खुसी लागेको छ मत परिणामहरू हेर्दा। जसलाई दलीय अन्ध मोह छैन ती मतदाता पनि पक्कै मै जत्तिकै खुसी होलान् यी परिणाम देखेर। यो....

चौथो अंग : नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

२०५९ सालतिर एक म्यागेजिनमा काम गर्थें म। 'आमुने-सामुने' भन्ने कोलम थियो। एमालेको सातौँ महाधिवेशन चलिरहेको थियो त्यो बेला। केपी शर्मा ओली र माधवकुमार नेपालसँग कुरा गरेर....

टेको पाउन नसकेको टेकबहादुरको सपना जसले सडक किनारमा पनि साथ पाएन

यो यत्ति लोकप्रिय भयो कि उनको चुनाव प्रचारकै अफिसियल गीत जस्तै भइदियो। चुनावी प्रचारको मञ्चमा खुबै गाए उनले यही गीत। यसले धेरैलाई छोयो पनि। अहिले....

प्राध्यापक बिन्दुको प्रसव पीडा र खुसी : आमाले तेरो छोरीको खुट्टा बांगो छ भन्दा सात्तो गयो

पाँच पुस्तादेखि हामी काठमाडौंका बासिन्दा हौं। मेरो बुबा देविभक्त प्याकुरेल पहिले कुनै सरकारी कार्यलयमा काम गर्नुहुन्थ्यो रे। तर तराईको जग्गामा खेतिपाती समेत गर्नुपर्ने भएकाले जागिर....

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्। धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा....