कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित 

कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित 

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको सहमहामन्त्रीमा पराजित भएका छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। 

पाण्डेले २ हजार ४११ मत ल्याएर शाहीलाई पराजित गरेका हुन्। शाहीले २ हजार १३३ मत प्राप्त गरे भने अर्का उम्मेदवार चेतराज बजालले ९९ मत मात्र पाए।  

नेपाली कांग्रेसको सहमहामन्त्रीमा किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, बद्री पाण्डे, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन्।

खस आर्यतर्फ राठौर, मधेसीतर्फ यादव, मुस्लिमतर्फ मन्सुर, पिछडिएको क्षेत्रतर्फ पाण्डे र थारुतर्फ चौधरी विजयी भएका हुन्। 

कांग्रेस पार्टी कार्यालय सानेपामा भएको मतगणनामा शेखर कोइराला प्यानलबाट पाण्डे मात्रै निर्वाचित भएका छन्।

शेरबहादुर देउवा प्यानलका राठौर शेखर प्यानलका देवराज चालिसेलाई पराजित गर्दै विजयी भए। 

राठौरले २ हजार ५७६ मत ल्याए भने चालिसे २ हजार ५९ मत प्राप्त गरे। देउवा प्यानलका मन्सुर शेखर प्यानलका शेख वकिललाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भए। मन्सुरले २ हजार ७७६ मत ल्याए वकिलले १ हजार ८७१ मत प्राप्त गरे। 

थारु तर्फको सहमहामन्त्रीमा निर्वाचित चौधरीले २ हजार ५४५ मत ल्याए भने तेजुलाल चौधरीले १ हजार ७७२ मत पाएका छन् ।

सहमहामन्त्री ८ पदमा देउवा प्यानलबाट ६ जना निर्वाचित भएका छन् भने शेखर प्यानलबाट पाण्डे र जीवन परियार निर्वाचित भएका छन्। 

२ पुस, २०७८, १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।