क्रिकेट खेलाडीमाथिको कारबाहीमा प्रचण्ड बेखुश: देउवालाई गराए ध्यानाकर्षण

क्रिकेट खेलाडीमाथिको कारबाहीमा प्रचण्ड बेखुश: देउवालाई गराए ध्यानाकर्षण

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई गरेको कारबाहीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। आज भएको प्रचण्ड र देउवाबीचको भेटवार्तामा उनले खेलाडी दुरुत्साहित हुने ढंगले कारबाही भएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् यसबारे जानकारी दिएकी हुन्।  

क्यानले गत मङ्सिर २९ मा नेपाली क्रिकेट टोलीका कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई कारबाही गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो। कारबाहीमा परेका खेलाडीले सन् २०२२ को सेन्ट्रल कन्ट्र्याकको सुरुको ६ महिना सहभागी हुन नपाउने भएका छन्।

खेलाडीको वर्गीकरणको विषयमा सञ्चारमाध्यममा असन्तुष्टि पोखेपछि उनीहरूलाई क्यानले कारबाही गरेको हो।  

देउवा कांग्रेस सभापतिमा पुनः निर्वाचित भएपछिको पहिलो भेटमा प्रचण्डले उनलाई बधाई ज्ञापन समेत गरेका थिए। यस्तै भेटमा राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको छ।

२ पुस, २०७८, १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।