महालक्ष्मी उपाध्याय डिना : खुल्लामा पराजित, आरक्षणमा विजयी 

महालक्ष्मी उपाध्याय डिना : खुल्लामा पराजित, आरक्षणमा विजयी 

काठमाडौँ : नेपाली कांग्रेसमा निर्वाचित हुने १३ पदाधिकारी मध्ये एक जना महिला सहमहामन्त्रीमा डिना उपाध्याय विजयी भएकी छन्।

कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीमा एक जना महिला सहमहामन्त्रीको आरक्षण कोटामा उपाध्याय निर्वाचित भएकी हुन्। 

कांग्रेसले विधान संशोधन गरेर ८ सहमहामन्त्री मध्ये एक जना महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको थियो। डिनासँग महिला आरक्षण कोटामा प्रतिस्पर्धा गरेकी कमला पन्त पराजित भइन्। 

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिनाले २ हजार ५३३ मत पाइन भने कमला पन्तले २ हजार १०५ प्राप्त गरिन्। ४ हजार ६८५ मत मध्ये ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। 

कांग्रेसको केन्द्रीय पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनु पर्ने माग सम्बोधनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने डिनाले प्रतिबद्धता जनाएकी छन्।

सहमहामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारसँग डिनाले महिलालाई निर्णायक भूमिकामा पुर्याउन लड्दै आएको सुनाइन्। 

कांग्रेसको विधान संशोधन समितिमा बसेर काम गरेकी डिनाले आरक्षणमा नभएर सशक्त भएर लड्ने क्षमता बनाउनु पर्ने बताइन। डिना कांग्रेसको १३ औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा पराजित भएकी थिइन। 

कांग्रेसको १२ औँ महाधिवेशनमा आरक्षण कोटामा केन्द्रीय सदस्यमा निर्वाचित उनी १४ औँ महाधिवेशनमा आरक्षण कोटाबाटै पदाधिकारीमा निर्वाचित भइन।

१३ औँ महाधिवेशनमा पराजित भए पनि उनलाई पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। 

मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट २०४८ र २०५१ सालमा दुई पटक संसदीय निर्वाचनमा उम्मेदवारी दिए पनि उनी दुवै पटक पराजित भएकी थिइन। 

विद्यार्थी राजनीतिबाट आएकी डिना जलस्रोत राज्यमन्त्रीसम्म बनेकी छन्। उनी संविधान सभामा समानुपातिक कोटाबाट सदस्य भएकी थिइन। 

१ पुस, २०७८, २३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।