महामन्त्रीमा गगन-विश्वको जोडी : पदाधिकारीमा गुट तितरबितर

महामन्त्रीमा गगन-विश्वको जोडी : पदाधिकारीमा गुट तितरबितर

महामन्त्रीमा विजयी थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार थिए। यता शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए। कांग्रेसका मतदाताले दुई फरक प्यानलका उम्मेदवारलाई विजयी बनाएका छन्। 

कुल ४७४३ मतदातामध्ये ४६८२ जनाले मतदान गरेका थिए। 

थापाले कुल ३०२३ मत ल्याउँदा शर्माले कुल १९८४ मत ल्याए। अन्य उम्मेदवारमध्ये प्रकाशशरण महतले १५५६ मत ल्याए। प्रदीप पौडेलले १३९३ मत ल्याए। मतपरिणामअघि नै हात झिकेका मिनेन्द्र रिजालले ८०९ मत ल्याए। राजाराम कार्की १०६ मतसहित पुछारमै रहे। 

यता पार्टी केन्द्रीय कार्यालय सानेपामा 'कांग्रेसभित्र क्रान्ति दुई-तिहाइको महामन्त्री' भन्दै नाराबाजी सुरु भएको छ।

यसअघि पनि उपसभापतिका लागि भएको मतगणनाबाट दुई फरक प्यानलका उम्मेदवार विजयी भएका थिए। उपसभापतिमा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका हुन्। 

योसँगै कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा गुट तितरबितर भएको छ। अब सहमहामन्त्री सहित केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ। 

कांग्रेसमा कोषाध्यक्ष मनोनीत हुने व्यवस्था रहेको छ। 

१ पुस, २०७८, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।