साफ महिला फुटबलमा नेपालसँग श्रीलङ्का पराजित

साफ महिला फुटबलमा नेपालसँग श्रीलङ्का पराजित

काठमाडौँ : १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ। 

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन् भने सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे।

साफ च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको हो। नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ। 

विभिन्न पाँच राष्ट्र सहभागी प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा खेल भइरहेको छ। लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्। प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन्। 

प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ। खेल आगामी पुस २ गते हुनेछ। 

२९ मंसिर, २०७८, २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।