कांग्रेसी कलाकार 'तैं पनि कांग्रेस, मै पनि कांग्रेस' भनेर गीत गाउन डराउँछन्ः सुशान्तकुमार श्रेष्ठ

कांग्रेसी कलाकार 'तैं पनि कांग्रेस, मै पनि कांग्रेस' भनेर गीत गाउन डराउँछन्ः सुशान्तकुमार श्रेष्ठ

तपाईं आफूलाई कलाकार भन्नुहुन्छ या नेता ?
राजनीतिभन्दा पहिले कलाकारितामा लागेको मानिस हुँ। धेरै शुभचिन्तक मैले नेता बनेर हैन, कलाकार बनेर कमाएँ। त्यसैले नेता मात्रै भन्दा वा कलाकार मात्रै भन्दा म अपुरो हुन्छु।

अभिनयमा खलनायकको भूमिकामा जमिरहनुभएको थियो, राजनीति किन आवश्यक पर्यो तपाईंलाई ?
राजनीति विशुद्ध समाजसेवा हो भने कलाकारिता रुचि र पेशा हो। ठूलो भएपछि कलाकार बन्ने रुचि भएकैले म चलचित्र क्षेत्रमा प्रवेश गरें।विस्तारै कलाकारितालाई राम्रो बनाउन राजनीतिक माहोल राम्रो हुनुपर्ने रहेछ भन्ने भयो। त्यसपछि मैले राजनीति गर्ने निर्णय गरें। 

समाज र कला क्षेत्रको सेवा गर्न राजनीति मात्रै उपाय हो र ?
राजनीति एउटा माध्यम हो। कुनै ठाउँमा आफ्ना कुरा पुर्या उनका लागि राजनीति जरुरी छ। मलाई समाजसेवा र कला क्षेत्रको सेवा गर्नु थियो। राम्रो ठाउँमा त अरूले पनि गरिहाल्छन्। जहाँ बिग्रिएको छ, समस्या धेरै छ त्यहाँ काम गर्ने हो।

समाजसेवाका लागि धेरै समस्या भएको ठाउँ राजनीति भएकाले यो मेरो पहिलो प्राथमिकतामा परेको हो। नत्र म पनि अरूसँग मागेर गर्ने समाजसेवा गरिहाल्थें नि !

राजनीतिका लागि नेपाली कांग्रेस नै रोज्नुको कारण ?
म पहिल्यैदेखि लोकतान्त्रिक विचार मन पराउने मानिस। तर एउटा कलाकारले लोकतान्त्रिक विचार मन पराएको होइन, सुशान्तकुमार श्रेष्ठले लोकतान्त्रिक विचार मन पराएको हो। 

बिपी, गणेशमान जस्ता नेताहरूलाई पढेका कारण म लोकतान्त्रिक विचारलाई पछ्याउने मानिस बनें। नेपालको इतिहास बोकेको सबैभन्दा पुरानो पार्टी भएकाले पनि मलाई यसैमा आवद्ध भएर काम गर्न मन लाग्यो। 

नेपाली कांग्रेसको सबैभन्दा मन परेको पक्ष कुन हो तपाईंलाई ?
यहाँ हरेक कुराहरू लोकतान्त्रिक तरिकाले हुन्छ। हालै भएका अन्य पार्टीहरूको महाधिवेशन हेर्नुस् न, एमालेको महाधिवेशन भयो, राप्रपाको भयो। अब माओवादीको हुनेवाला छ। 

तर कुनै पनि पार्टीको यति धेरै चहलपहल तपाईं देख्नुहुन्न। किनभने अरू पार्टीहरूमा यसरी चुनाव भएर नेता बनेकै देख्नुहुन्न। विभिन्न सम्मेलन गर्यो, पकेटका मानिसलाई नेता बनायो। 

तर नेपाली कांग्रेसमा हरेक मानिसलाई आफ्ना कुरा राख्ने, मत राख्ने र विमती जनाउने अधिकार छ। 

सबैभन्दा पुरानो पार्टी भए पनि नेपाली कांग्रेसमा कलाकार खुलेर आएको देखिँदैन। कांग्रेसले कलाकारलाई भाउ नदिएको हो ?
(हाँस्दै) मलाई त कलाकारले चाहिँ कांग्रेसलाई भाउ नदिएको जस्तो लाग्छ। किनभने यहाँ धेरै प्रतिस्पर्धा छ। जरादेखि मेहनत गरेर मात्रै कांग्रेसमा नेता बन्न पाइन्छ। सबै कार्यकर्ताहरूको मतले मात्रै यहाँ राजनीति गर्न पाइन्छ। यहाँ अवसरवादीहरूका लागि ठाउँ छैन। 

अर्कोतर्फ कलाकारहरू राजनीतिमा खुलेर आउन डराउँछन् पनि। कलाकार कसैको होइन, ऊ सबैको हो। तर राजनीतिक दलमा आवद्ध हुनेबित्तिकै ऊमाथि फलानो पार्टीको भन्ने ट्याग लाग्छ। 

कलाकार कुनै एउटा पार्टीको मात्रै हुन चाहँदैनन्। कांग्रेसी विचारधाराका कलाकार 'तैं पनि कांग्रेस मै पनि कांग्रेस' भनेर गीत गाउन डराउँछन्।

तपाईं खुलेर आउनुभयो राजनीतिमा। दर्शक भड्केलान् भन्ने डर लागेको छैन ?
कलाकार राजनीतिमा आउन डराउनुको कारण नै यही हो। कि कोमल ओली जस्तै पूर्णरूपमा कलाकारिता छाडेर राजनीतिमा आउनुपर्यो। कि रेखा थापाजस्तै कड्केर आफ्नो विचार राख्न सक्नपर्यो। 

नत्र बद्री पंगेनी जस्तो विपक्षी पार्टीका दर्शकको आलोचना खेप्न सक्ने हुनपर्यो। यही तीन जना जस्तो मानिस कम भएकैले राजनीतिमा कलाकार कम आएका हुन्। 

म भने यी सबै कुराहरू सहने तरिकाले नै राजनीतिमा हाम फालेको हुँ। मलाई कसैले कांग्रेसी कलाकार भन्छ भने म नराम्रो मान्दिनँ, त्यसलाई स्वीकार गर्छु।

२८ मंसिर, २०७८, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।