सूर्यबहादुर थापाले झेली गरेर निर्दलको पक्षमा फैसला सुनाए

सूर्यबहादुर थापाले झेली गरेर निर्दलको पक्षमा फैसला सुनाए

वि.सं. २०२४ साल, नुवाकोट।

चतुराले गाउँ पञ्चायतका उपप्रधानपञ्च थिए दक्षदेव थपलिया। उनको पारिवारिक सम्बन्ध थियो, थानसिं गाउँका मच्छिन्द्र पाठकसँग। पाठक त्यतिबेला नेपाली कांग्रेसको संगठन विस्तार गर्न प्रचार विभागमा सक्रिय थिए।

राजा महेन्द्रले दुई तिहाइ बहुमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई अपदस्त गरी २०१७ बाट एकतन्त्रीय शासन चलाउन थाले। कांग्रेस शक्तिहीन भयो। तर शक्तिहीन हुनु तल्लो तहबाटै मजबुत हुने अवसर हो भन्ने पार्टीको रणनीति बन्यो। 

सोही अनुसार सबै गाउँपञ्चको घरमा एक कांग्रेस नीति नेपाली कांग्रेसको प्रचार विभागले लियो। उपप्रधान दक्षदेवको पारिवारिक सम्बन्धका कारण उनका छोरा प्रेमदीप थपलियाको मच्छिन्द्र पाठकसँग राम्रो उठबस थियो। 

त्यतिबेला नेपाली कांग्रेसले पत्रिकालाई आफ्नो पार्टी प्रचारको प्रमुख हतियार बनाइरहेको  थियो। मछिन्द्र पाठककहाँ भारतमा प्रकाशित कांग्रेसको मुखपत्रको रुपमा हुलाकबाट आइपुग्थ्यो। जहाँ नेपाली कांग्रेसले के गर्ने, कसरी समाजमा प्रभाव पार्ने, कांग्रेस भनेको के हो? पढेलेखेका मान्छे किन कांग्रेस हुने? बिपीका अनेक लेखहरु, कांग्रेसका सिद्धान्तदेखि स-साना कुरासम्म समावेश हुन्थ्यो। 

प्रेमदीपसँग राम्रो सम्बन्ध भएका मच्छिन्द्र मौकाको सदुपयोग गर्न चुक्ने अवस्था थिएन। ३ कक्षासम्म पढेका उपप्रधानका छोरालाई कांग्रेस बनाउँदा समाजमा कांग्रेसप्रतिको धारणा फेरिन्छ र साधारण मानिसलाई पार्टीमा अकर्षित गर्न सहज वातावरण बन्ने नै भयो। मछिन्द्रलाई यस्तै लाग्यो र उनले प्रेमदीपलाई उक्त पत्रिका र बिपीका लेखहरु पढ्न बानी पारिदिए।

‘२०२४ सालमा मैले २०१५ सालको बिपीको चुनावी पर्चा पढें। उनका केही लेख पढेँ,’ प्रेमदीप भन्छन्, ‘हेरक नेपालीले आँङ ढाक्न पाउनुपर्छ। हरेकका घरमा एक गाई हुनुपर्छ। २/४ रोपनी जग्गा हुनुपर्छ। यो कुराले किनकिन मनमा खुबै छोयो।’

सामन्ती भनिने पञ्चको छोरामा यति उदारता कहाँबाट आयो? प्रेमदीपसँग यसको उत्तर आज पनि छैन। 

०००
भारतमा प्रकाशित हुने उक्त पत्रिकाका सम्पादक को थिए, भारतको  कहाँ छापिन्थ्यो? कसले छाप्थे प्रेमदीपलाई केही थाहा भएन। पत्रिकाको नामै पनि याद छैन उनलाई। तर पत्रिकाको मध्यपृष्ठ जहाँ कांग्रेसबारे जानकारी आउँथ्यो त्यति थाहा छ। त्यही मध्यपृष्ठका नियमित पाठक बने प्रेमदीप। र, सोही मध्यपृष्ठले नै कांग्रेस बनायो उनलाई।

‘अर्जुननरसिंह केसी र पाठक (मछिन्द्र पाठक) नेपाली कांग्रेस बढाउने ध्यानमा रहेछन्। म बलीको बाख्रा बनेछु त्यतिबेला। उनीहरुको मिसन र मेरो अवस्था ठ्याक्कै मिलेको। अहिले बुझ्दा त्यस्तो लाग्छ,’ उनी भन्छन्, ‘त्यो पत्रिका अर्जुननरसिंहकहाँबाट रानिपौवा हुँदै थानसिं जाथ्यो हुलाकबाट। विस्तारै त्यो पत्रिका चतुराले पनि आउन थाल्यो मेरो ठेगानामा। पत्रिकाको नियमित पाठक भएपछि २०२८ सालबाट मैले केसी र पाठकबाट मासिक २० रुपैयाँ पाउन थालें।’

थपलियाले उक्त पत्रिका आफूले पढिसकेपछि गाउँभरिका मान्छेलाई पढ्न दिन्थे। त्यसैवापत थियो केसी र पाठकले उनलाई मासिक दिने २० रुपैयाँ। 

थपलिया पैसा लिन्थे। रातिराति गाउँलेका घरघरमा पत्रिका पुर्याउँथे। कांग्रेसको बारेमा गाउँलेलाई बुझाउँथे। र, कांग्रेस बनाउँथे।

थापा र पाठक थपलियाका राजनीतिक गुरु जस्तै बने। उनीहरुको इसारामा उनी गाउँलेलाई पत्रिका पढाइरहे। फलतः २०२९ को गाउँ पञ्चायतमा आफ्नै बाबुलाई उनले चुनावमा हराए। तर यो कुरा गोप्य रह्यो। 

‘दिनभर खेती-किसानी र बाले भनेको काम गर्थे। राति गाउँघरमा यसै पनि हिँडडुल भइहाल्थ्यो। बाले मेरै कारण प्रधानञ्च हार्नुभयो। यो कुरा उहाँलाई पत्तै भएन,’ प्रेमदीपले भने।

२०२९ मानै भएको राष्ट्रिय पञ्चायत सदस्यको चुनावामा पनि नगेन्द्रराज जोशीसँग दक्षदेव ४ भोटले हारे। त्यसमा पनि प्रेमदीपको अप्रत्यक्ष हात भने रह्यो।

०००
निर्दलीय शासनको विरुद्ध घरबाटै विद्रोह गरिरहेका प्रेमदीपका बा २०३२ मा प्रधानपञ्च उठे। बाको राजनीतिक लगाब नजिकबाट देखेका उनले कांग्रेसीजनलाई नै मनाएर बालाई प्रधानपञ्चमा जिताए। तर बहुदलको माग उनको यथावत् नै थियो। 

‘बालाई कांग्रेसकै भोटबाट प्रधानपञ्च जिताएँ। तर मनमा भने बहुदल नै थियो,’ थपलिया भन्छन्, ‘२०३६ सालमा जनमतसंग्रह भयो। त्यसबेला म बहुदलको पक्षमा छु भन्ने भेद जोगाउन मलाई हम्मे  पर्यो।’

चुनावी सरगर्मीमा उनले निलोमा भोट हाले। तर उनका बाले निकै निगरानी गरे रे प्रेमदीपलाई। बालाई छलेर निलोमा भोट हाल्दा संसार नै जितेको जस्तो भयो रे उनलाई। तर दुःखको कुरा प्रेमदीपको सपना पूरा भएन।

‘जित्न त बहुदलले नै जितेको हो। सूर्यबहादुर थापाले झेली गरे,’ उनी भन्छन्, ‘जनमत राम्रो थियो बहुदलको। सत्ताको दुरुपयोग गरेर तत्कालीन प्रधानमन्त्री थापाले निर्दलको पक्षमा नतिजा सुनाए।’

०००
समयक्रमसँगै पे्रमदपि अख्खा कांग्रेस बन्दै थिए। गाउँका प्रधान प्रमुख आफ्नै बा थिए। बालाई शंका भइसकेको थियो, प्रेमदीपको बारेमा। बा चिन्तित पनि थिए, प्रधानपञ्चकै छोरो बहुदलको पक्षमा छ।

२०३९ मा गाउँ पञ्चायतको चुनाव भयो। त्यसबेला प्रेमदीप बाका विरुद्ध खुलेरै लागे। एकै भान्सा तर दुई विचार, त्यो पनि एकअर्कामा कट्टर प्रतिद्वन्द्वी।

‘०३९ मा त जानाजान नै बालाई हराइदिएँ,’ उनी भन्छन्, ‘बाका विरुद्ध कांग्रेसीजनको भोट सबै काटिदिएँ। बले हारे,’ उनले भने।

बाको पराजयमा उनी खुसी भए। आफ्नो पार्टीको मिसन पूरा हुँदैछ जस्तो उनलाई लाग्यो। तर घर एकै, दिनदिनै उही अनुहार देख्नुपर्ने। आफ्नो पराजयलाई राम्रोसँग स्वीकार्न नसकिरहेका दक्षदेवलाई २०४२ मा भएको गाउँ पञ्चायतमा उनैले जिताए। तर बालाई कांग्रेस हुनुपर्ने सर्तसहित। बा मन्जुर पनि भए। 

‘अर्जुननरसिंहको मान्छेको सहयोगमा  मैले बालाई जिताएँ फेरि। बा २०४६ मा बित्नु भयो। तर अन्तिम अवस्थामा कांग्रेसप्रति उहाँको स्नेह गजबको थियो,’ थपलियाले भने।

०००
२०४२ सालमा ताराईमा रामराजाप्रसाद सिंहको समूहले पञ्चायत विरुद्ध आफ्नै ढंगबाट काम गरिरहेको थियो। त्यसबेला रामराजा समूह भौतिक आक्रमणमा बढी केन्द्रित थियो। सोही सिलसिलामा भैरहवामा बम पढ्काएको आरोपमा रामराजालाई प्रहरीले खोजिरहेको थियो। उनी भूमिगत थिए।

‘गाउँमा पत्रिका पढाउँदा पढाउँदा धेरैलाई मैले कांग्रेस बनाएको थिएँ। त्यहीमध्ये मैलै नै कांग्रेस बनाएका केशव भेटुवाल भन्ने मान्छेले मलाई पार्टीको कागज हो, सहीछाप गर भने,’ थपलियाले भने, ‘म त मलको भारी बोकिरहेको थिएँ। आफैंले बनाएको कार्यकर्ता विश्वास नहुने पनि कुरा भएन।’

भेटुवालले थपलियालाई कांग्रेसको डकुमेन्ट भनेर हस्ताक्षर गराएको कागज रामराजा समूहको सदस्यताको रहेछ। जहाँ भैरहवामा रामराजा समूहले गरेको विष्फोटको जिम्मेवारमध्ये एक उनी पनि कागजी रुपमा बनाइएका रहेछन्। यो कुरा अञ्चलाधीशले उनको ठेगानामा पठाएको पक्राउ पुर्जी हात परेपछि मात्र थाहा पाए उनले।

‘कल्पना नै गरेको थिइनँ। आफैंले काग्रेस बनाएको मान्छेले मलाई नै अपराधी संगठनको सदस्य बनायदियो,’ उनले भने।

अञ्चलाधीशको चिठी प्रेमदीपको हात पर्दा उनी घरमै थिए। उनका बा चतुराले गाउँ पञ्चायतका प्रधानपञ्च थिए। 

‘बाले यति कुट्नुभयो, त्यो सम्झिँदा पनि आङ दुख्छ अहिले पनि,’ उनी भन्छन्, ‘प्रधानपञ्चले नै दरो भौतिक कारबाही गरेपछि म जेल जानबाट रोकिएँ र देशद्रोहको मुद्दा लाग्नबाट बचें।’

०००
पञ्चायतको जताततै विरोध भइरहेको थियो। गणेशमानको चाक्सीबारीमा ५ हजार कांग्रेसीको भेला भयो। त्यो भेलामा कम्युनिष्टसँग हात मिलाएर निर्दलीय शासन समाप्त गर्ने योजना बन्यो। सोही अनुसार प्रेमदीप पनि २०४६ को आन्दोलनमा सहभागी भए। देशमा बहुदल आयो।

बहुदल आएपछि प्रेमदीपको योगदानको कदर गर्दै उनलाई गाविस उपाध्यषको पदमा पार्टीले उठायो। तर उनी पाँच भोटले हारे।

चुनाव हारेपछि पार्टीले २०५० सालमा उनलाई जिल्ला सहकारी संघमा राजनीतिक नियुक्ति दिइयो। दुई वर्ष उनी जिल्ला सहकारीमा अध्यक्षको रुपमा रहे। त्यसपछि उनको मनमा वैराग्यता बढ्दै गयो र उनी योगी नरहरिनाथको शरणमा पुगे।

योगी नरहरिनाथ प्रेमदीपका बा दक्षदेवका गुरु थिए। दक्षदेवले ६ महिना योगीको भान्से भएर सेवा गरेका रहेछन्। त्यसैले उनी योगीसँग तीन वर्षसम्म सँगै हिँडे। उनको वैराग्यता पनि सकियो। २०५५ सालमा उनी घर फर्के। र, सक्रिय राजनीतिबाट सन्यास लिए।

‘अहिले महाधिवेशन चलिरहेको छ। सबै दौडधुपमा छन्। शक्ति हत्याउन खोजिरहेछन् आफुतिर,’ उनी भन्छन्, ‘तर मलाई त जब बहुदल आयो, मरो मिसन सकियो भन्ने लागिसकेको थियो। निर्दलीय शासन विरुद्ध आफ्नै घरबाट क्र्रान्ति गर्न मलाई सहज थिएन। तर जब मिसन पूरा भयो, म हट्न खोजेको थिएँ राजनीतिबाट। गाविसमा उठाए, हारें।’

पार्टीमा सक्रिय राजनीति गरिरहेको भए कुनै न कुनै ठाउँमा स्थापित हुन सक्थें जस्तो लाग्छ उनलाई। तर नेता भनेको समयको आवश्यकताले जन्माउने हो। आफ्नो समय बुझेर सन्यास लिँदा झन् पावरफुल भइन्छ, प्रेमदीपलाई यस्तै लाग्छ।  

‘राजनीति भनेको पैसा कमाउने, भ्रष्टाचार गर्ने ठाउँ होइन। जब आफ्नो विचारमा अडिग रहन सकिँदैन भने स्थान खाली गराउनुपर्छ। सन्यास लिनुपर्छ,उनी भन्छन्, ‘अहिले म ७० वर्षको भएँ। मैले सक्रिय राजनीतिबाट सन्यास लिएको २२ वर्ष भयो। मिसन र भिजन सकिएपछि सन्यास लिने कल्चर बसाउनुपर्छ। त्यसले नै बिपीको सपना पूरा गर्छ। नेपाली जनताको सपना पूरा गर्छ। हामीले बनाएको कांग्रेसको अस्मिता जोगाउँछ।’ 

२७ मंसिर, २०७८, २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।