शेरबहादुर देउवा : सन्त नेताको 'बदमास' चेला

शेरबहादुर देउवा : सन्त नेताको 'बदमास' चेला

काठमाडौँ :  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका अन्य उम्मेदवारहरू पार्टीको रूपान्तरणको अजेण्डाहरु अगाडि बढाउँदै महाधिवेशन प्रतिनिधीहरुसँग भोट माग्न व्यस्त रहँदा  शेरबहादुर देउवाले भने पार्टीको निर्वाचनलाई सत्तासँग जोडेर भोट मागिरहेका छन्।

पहिलो चरणमै नतिजा आफ्नो पक्षमा पार्न कृष्ण सिटौलाका हरेक माग स्वीकार गरेका उनी आइतबार जति कार्यक्रममा गए' म सभापतिमा हारे भने प्रधानमन्त्रीबाट पनि हट्छु अनि फेरि केपी ओलीको शासन सुरु हुन्छ' भन्दै महाधिवेशन प्रतिनिधीहरुलाई तर्साइरहेका छन्।

सभापतिमै पराजित भएका नेताले सरकारको नेतृत्व गरिरहनु नैतिक रूपमा अलि नमिले पनि देउवा आफैँले राजीनामा दिए बाहेक निर्वाचन अगाडि सरकार परिवर्तन हुने सम्भावना छैन। देउवा नेतृत्वको सरकार ढल्नु भनेको अर्ली इलेक्सनमा जानु मात्र विकल्प हो। 

पहिलो चरणमै नतिजा आफ्नो पक्षमा नआए दोस्रो चरणमा सबै आफू विरुद्ध गठबन्धनमा लाग्ने भयले उनी पार्टीको निर्वाचनलाई सत्तासँग जोड्दै आफ्ना पुराना मित्र ओलीलाई देखाएर महाधिवेशन प्रतिनिधीहरुलाई तर्साइरहेका छन्।

उद्घाटन शत्रमा पनि उनले भोट माग्दा स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका थिए। साढे पाँच वर्षको बिचमा पार्टीमा बढेको अलोकतान्त्रिक गतिविधि, २०७४ को निर्वाचनमा पार्टीले ब्यहोरेको लज्जास्पद पराजयको कारणबारे उनले कतै विश्लेषण गरेनन्। उनी त भइनै गए। उनको समूहका कुनै उम्मेदवारले पनि यसमा प्रवेशै गरेका छैनन्।

भोलि कस्तो कांग्रेस ? यो देउवालाई चासो भएको विषय पनि हैन। पार्टीको रूपान्तरण र लोकतान्त्रिककरण उनको प्राथमिकताको विषय पनि हैन। उनका लागि सभापति पदको महत्त्व भनेको ज्योतिषीको भविष्यवाणी सफल बनाउने साधन मात्र हो। उनलाई सात पटकसम्म प्रधानमन्त्री हुनुछ। त्यसैका लागि हो उनको सभापतिमा उम्मेदवारी। त्यसैले उनले भोट माग्दा सत्य बोल्दै सत्ता-सत्ता मात्र भनिरहेका छन्।

१२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका उनले १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गरेपछि नै सत्ताको ढोका खुलेको थियो। १३ औँ महाधिवेशनका उनका मुख्य रणनीतिकार विमलेन्द्र निधीको दाबी सत्य हो भने उनले १४ औँ महाधिवेशनमा उनलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने वचन दिएका थिए।

सरकार बनाउन असम्भव सिट पाएर प्रतिपक्षी दलको नेता बन्न बाध्य भएका उनी नेकपामा बढेको किचलो र एमालेमा भएको विद्रोहले सत्तामा फर्किए। उनले निधिलाई दिएको वचन बिर्सिँदै आफैँ नेतृत्वमा दोहोरिने निर्णय गरे। यसको कारण यही गठबन्धनको बलमा निर्वाचनमा जाँदा पुन प्रधानमन्त्री हुनै विश्वास नै  हो।

उनको राजनीतिक यात्रा र उनको प्राथमिकताले पनि उनको राजनीतिको ध्येय सत्ता सत्य बाँकी सबै बकवास हो भन्ने देखिन्छ नै।

 सन्त नेताका 'बदमास' चेला

२००३ सालमा डडेलधुरामा जन्मिएका हुन् देउवा। उनको राजनीति २०२१ सालमा नेपाली विद्यार्थी सङ्घबाट सुरु भएको थियो। २०२८ सालमा नेविसंघको सभापति बनेका उनी पञ्चायती निरङ्कुश व्यवस्था ढाल्न २०४६ सालमा भएको आन्दोलनताका बेलायतमा थिए। शक्ति भनेपछि हुरुक्कै हुने उनको स्वभाव देखेर कृष्णप्रसाद भट्टराइले नै दरबार छिर्नबाट जोगाउन उनलाई पढ्न बाहिर पठाएको भनिन्छ अझै।

२०४६ को जनआन्दोलन सफल भएपछि उनी २०४७ मा काठमाडौँ फर्किए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारको गृहमन्त्री बने।

पार्टीमा भट्टराई र कोइरालाबिच दुरी बढ्दै थियो। देउवा भट्टराई समूहमा थिए। दुवै वरिष्ठ नेताबिच विवाद बढेको फाइदा उनलाई भयो। २०५१ मा मध्यावधि निर्वाचन भएपछि देउवा भट्टराइको सहयोगमा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ मा मनमोहन अधिकारीको नेतृत्वको सरकार ढलेपछि राप्रपाका सूर्यबहादुर थापासँगको सहकार्यमा उनी प्रधानमन्त्री बने।

उनको पहिलो प्रधानमन्त्रीकालमै नेपाली राजनीतिमा विकृतिको चाङ भित्रिए। प्राडो र पजेरोदेखि सुरा सुन्दरी काण्डसम्म मच्चियो। नेपालको इतिहासमै सबै भन्दा ठुलो ४८ सदस्यीय मन्त्रीमण्डल बनाए उनले। बाबुराम भट्टराईले बुझाएको ४२ बुँदे मागलाई टोकरीमा फाल्दा देउवाकै कार्यकालमा माओवादीको सशस्त्र द्वन्द्व सुरु भएको थियो।

कांग्रेस सभापति दाबेदार-१

प्रकाशमान : विरासत गणेशमानको, लाभ सत्ताको

कांग्रेस सभापति दाबेदार-२

देउवा विरुद्ध शेखरको दुस्साहस

कांग्रेस सभापति दाबेदार-३

विमलेन्द्र निधी : गेम चेञ्जरकै गेम बिग्रियो

माओवादीको शक्ति बढ्दै जाँदा २०५६ मा देउवा डडेलधुराबाट निर्वाचित भए तर, संसदीय दलको नेता हुन सकेनन्। पद नपाएको झोकमा उनले २०५७ मा पोखरामा भएको कांग्रेसको १० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिए। कोइरालाले ९३६ मत ल्याएर जिते। सन्त नेता भट्टराइको समर्थन पाएका देउवाले ५०७ मत पाए।

जति वेला कोइराला नेतृत्वको सरकारलाई दरबार र सेनाको असहयोग थियो त्यति वेलै एमालेले ५७ दिन संसद् घेराउ गर्यो। कोइरालाले २०५८ साल असारमा बाध्य भएर राजीनामा दिए। गिरिजाको राजीनामा पछि भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सुशील कोइरालालाई हराएर देउवा दलको नेता मात्रै बनेनन् दोस्रो पटक प्रधानमन्त्री समेत बने।

पार्टी नि फुट्योजनअधिकार नि गुम्यो

पार्टीमा विवाद बढ्दै गयो। सङ्कटकाल थप्ने/नथप्नेबारे पार्टीमा बढेको विवादमा उनले पार्टी मात्र फुटाएनन् संसद् विघटनको सिफारिस गरे। तोकिएको मितिमा निर्वाचन गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई पदच्युत गरे। देउवा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति भए।

संसद् विघटनको विरोधमा गिरिजाप्रसादको नेतृत्वमा पुनर्स्थापनाको आन्दोलन भयो। संसद् पुनर्स्थापनाको आन्दोलनमा रहेका दलहरूलाई गिज्याउँदै उनी २०६१ मा 'गोरखाको राजाबाट न्याय पाएँ' भन्दै पुन प्रधानमन्त्रीमा नियुक्त भए। प्रधानमन्त्रीमा देउवाको तेस्रो कार्यकाल ८ महिना पनि टिक्न सकेन। ज्ञानेन्द्रले देउवालाई अपदस्थ गरेर माघ १९ मा ‘कु’ गरे।

देउवा फेरि शक्तिबाट पछारिए। देउवा गुटको राजनीतिमा रमाए। गिरिजाप्रसादसँग कुम जुधाएका देउवा संसद् पुनर्स्थापनाको पक्षमा लागेनन्। प्रधानमन्त्रीमा आफूलाई पुनर्स्थापित गराउनु पर्ने उनको मागमा उनका समूहले बाहेक अन्य दलले साथ दिएनन्।

२०६२ २०६३ को जनआन्दोलनपछि गिरिजाप्रसादले प्रजातान्त्रिक काङ्ग्रेससँग पार्टी एकता गरेर देउवासहितका नेतालाई मूलधारमा फर्काए। उनको नेतृत्वको सरकार फर्किएन। संसद् भने फर्कियो।

उनी कांग्रेसको ११ औँ महाधिवेशनमा पार्टीमा थिएनन्। देउवा अनुपस्थित २०६२ भदौमा भएको ११ औँ महाधिवेशनले कांग्रेसको विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णय गरेको थियो। २०६४ मा मात्रै  देउवा समूहसहित कांग्रेसका भित्रिएका थिए। 

गिरिजाप्रसादको निधनपछि २०६७ असोजमा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा देउवा सुशील कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। फेरि पाटी फुटाउलान् भनेर कोइरालाले देउवालाई पार्टीको वरिष्ठ नेता भने बनाएर राखे।

सुशीला कोइरालाको निधन पछि २०७२ फागुनमा भएको कांग्रेसको १३ औँ महाधिवेशनमा देउवा पार्टीको सभापतिमा निर्वाचित भए। तत्कालीन संस्थापन समूहमा एकमत हुन सकेन। संस्थापनको विवादमा खेल्दै उनलाई पार्टी सभापतिमा आसीन गराउन महत्त्वपूर्ण भूमिका निभाए कृष्ण सिटौलाले।

अलोकप्रिय तर सधैँ सत्तामा

उनी डडेलधुराको संसदीय निर्वाचनमा सधैँ जित्छन्। तर सर्वसाधारणबिच उनको छवि त्यत्ति सकारात्मक देखिँदैन। अर्काको विवादमा खेलेर सत्तामा जान उनी भाग्यमानी नै देखिन्छन्। कहिले आफ्नै पार्टीभित्रको अन्तर कलह त कहिले राप्रपा अनि कहिले एमाले-माओवादीको कलहले सत्ताको नेतृत्वमा पुगेका उनी अहिले नेकपाको कलह र एमालेको विद्रोहले प्रधानमन्त्री बनेका छन्।

सङ्गठन निर्माणमा उनी आफैँ खटिँदैनन्। तर यसमा उनलाई कहिले विमलेन्द्र निधीले साथ दिए त कहिले पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की अनि एनपी साउदलगायतले। समूह व्यवस्थापनमा भने उनी चलाख छन्। आफ्नो समूहमा रहेकाहरूको कमजोरीबारे जानकार उनी परिआए त्यही कमजोरीमा खेल्छन् र आफ्नो समूहमा बस्न बाध्य बनाइरहन्छन्। आफ्नो वरिपरि घुम्ने चाकरहरूलाई लाभ दिइरहन्छन्।

त्यसैले त जनमतमा सधैँ असफल प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार बन्दा देउवालाई सधैँ शक्तिमा पुर्याइरहने खाँण, साउद, लेखक देउवा दाईको निर्देशन भन्दै केन्द्रीय सदस्यको उम्मेदवारमै चित्त बुझाएर बसेका छन्।

मनमा लागेको फ्याट्ट बोल्ने स्वभावका उनको जीवनमा आरजु देउवा भित्रिएपछि आर्थिक विवादमा परिरहे। उनको कुनै प्रधानमन्त्रीकाल विवादरहित हुन सकेको छैन। उनको नेतृत्वको सरकार सधैँ बदनाम भइरह्यो। तर उनी सधैँ सत्तामा रहिरहे।

जति सुकै बदनाम र आलोचित भए पनि उनी सुदूरपश्चिम क्षेत्रको निर्विकल्प नेता बनिरहे। आफ्नो समूह जोगाउन उनी 'देउता अनुसारको पूजा' गर्न खप्पिस रहेको उनीबारे जानकार बताउँछन्। आफ्नो स्वार्थ पुरा हुन्छ भने जस्तोसुकैसँग जे पनि सहमति गर्न पछि नहट्ने स्वभावका उनीबाट लाभ प्राप्त गरेको ठुलो समूहका कारण १४ औँ महाधिवेशनमा सिटौलालाई आफ्नो समूहमा ल्याएर उनी सभापतिका उम्मेदवारमध्ये बलियो प्रतिस्पर्धी बन्न सफल भए।

२६ मंसिर, २०७८, २२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।