विमलेन्द्र निधी : गेम चेञ्जरकै गेम बिग्रियो

विमलेन्द्र निधी : गेम चेञ्जरकै गेम बिग्रियो

काठमाडौँ : नेपाली कांग्रेसका सस्थापकहरुको सन्तानमध्येबाट एक जनाले १४ औँ महाधिवेशनमा पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै निकै चरणको छलफल चलाए विमलेन्द्र निधीले। बिपी कोइरालाका छोरा शशाङ्क कोइराला अनि गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई आफ्नै घरमा डाँकेर छलफल गरे।

चाक्सीवारिमा रहेको सिंह निवास गएर छलफल गरे। महाराजगन्जको कोइराला निवास पनि पुगे। १५ औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गरिहाल्छु नि भन्ने शेरबहादुर देउवाको आश्वासनलाई पत्याएनन् उनले। निधीको दाबी अनुसार देउवाले वचन पुरा गरेका भए त १४ औँ मै देउवाको समूहबाट उनी नै सभापतिको उम्मेदवार हुनुपर्ने हो। तर भएन। १३ औँ मा दिएको वाचा १४ औँ महाधिवेशनमा तोडेका देउवाले १५ औँ महाधिवेशनमा पुरा गर्ने के ठेगान।

१४ औँ महाधिवेशनमा देउवा नै पार्टी सभापतिको उम्मेदवार बन्ने पक्कापक्की भएपछि उनी समूहबाट बाहिरिएर सम्पर्क कार्यालय खोलेरै सक्रिय हुँदै जिल्लाहरू घुम्न थाले। मिडियामा आफ्ना अजेण्डाहरु बताइरहे। प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले राखेको आफ्नो समूहको भेलामा निधिलाई छुटाएनन्। उनले त्यो भेलामा पनि अब नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकै थिए। तर देउवाले मानेनन्।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मा उनीसँग निकट भइरहेका थिए। उनको समूहबाट उम्मेदवार हुने आकाङ्क्षीहरू बढ्दै थिए।

तर महाधिवेशन नजिकिएसँगै माहौल बदलिँदै गयो। पार्टीका संस्थापकका सन्तानमध्येबाट साझा उम्मेदवार चयन गर्ने प्रयास सफल भएन। सबै आ-आफ्नै तरिकाले जोड बलमा लागे। उनी संस्थापन समूहमा फर्क नसक्ने अवस्थामा थिएनन्। संस्थापन इतर समूहमै चिरा परेकाले उनका लागि त्यो पनि रोजाई बन्न सकेन।

संस्थापकहरूका सन्तानमध्ये प्रकाशमान आफैँ सभापतिको उम्मेदवार बने। शशाङ्क ब्याक भएर केन्द्रीय सदस्यको मात्र उम्मेदवार बने। महामन्त्रीको दाबेदार विश्वप्रकाश शर्मा देउवाको समूहमा नअटाए पनि उनीतिर आएनन्। सिंहतिर गए।

अन्तमा महेन्द्र नारायण निधीको योगदान अनि आफ्नो सक्रियता सम्झिएर पार्टीका प्रतिनिधीहरुले मतदान गर्ने विश्वास लिँदै विमलेन्द्रले शनिवार पार्टी सभापतिको उम्मेदवारी दर्ता गरे। उम्मेदवारी दर्ताको समयमा उनले न प्रकाशमानझैँ शक्ति प्रदर्शन गरे न देउवा र शेखरझैँ समूहसँगै गएर उम्मेदवारी दिए। उनी केही शुभेच्छुकहरूसँग राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गरेर फर्किए।

एक्ला कमान्डर

तीनै जना भने पनि सभापतिका उम्मेदवारहरूले प्यानल बनाएका छन्। तर उनी एक्लै भोट मागिरहेका छन्। निधिका सहयोगीका अनुसार उपाध्यक्षकी उम्मेदवार दिब्यश्वरी शाह, महामन्त्रीका उम्मेदवार डा राजाराम कार्की उनकै प्यानलका हुन्। तर प्यानल झल्कने कुनै प्रचार सामाग्री सार्वजनिक भएको छैन।

सभापतिका प्रतिष्पर्धीहरु चर्को प्रतिस्पर्धामा उत्रिदा उनी एक्लै भृकुटीमण्डपमा घुमेर महाधिवेशन प्रतिनिधीहरुसँग भोट मागिरहेका थिए। आइतबार भृकुटीमण्डपमा पुगेका उनले पहिलो चरणमा कसैको ५१ प्रतिशत मत नआउने र दोस्रो चरणमा सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने भनेर आफू सभापतिको रेसबाट बाहिर भएको केवल देउवालाई सभापति हुनबाट रोक्न मात्र उम्मेदवारी दिएको सन्देश दिइसकेका छन्।

मधेसका बलिया खम्बा

विमलेन्द्र सभापतिको उम्मेदवारमा कमजोर देखिए पनि उनी मधेसका भने बलिया खम्बा हुन् पार्टीका। डा रामवरण यादव राष्ट्रपति भएसँगै महन्थ ठाकुरले कांग्रेस पार्टी छाडेपछि उनी मधेसका लागि पार्टीको निर्विकल्प नेता बने।

उनको राजनीतिक यात्रा पनि लामै देखिन्छ। उनी २०१७ मा राजा महेन्द्रले बिपी कोइरालाको जन निर्वाचित सरकारलाई अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा विद्रोहको आगो दन्कियो।

२०२६ सालतिर पञ्चायती व्यवस्था विरुद्धको आगो देशैभरि फैलिएसँगै विद्रोहको लप्का जनपुरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा पुग्यो।

विमलेन्द्र निधी कक्षा १० मा पढ्थे त्यो समयमा। त्यति बेला ९ र १० कक्षा उच्च शिक्षाको कोटीमा पर्थ्यो। उच्च शिक्षासम्म मात्रै पढाउने विद्यालयमा विमलेन्द्र पनि ठुला कक्षाका विद्यार्थीहरूमा परे। विमलेन्द्रहरु कक्षाकोठामै समूह बनाएर पञ्चायत विरुद्धको नारा लगाउँथे।

एक दिन विद्यालयको कक्षा कोठामा नाराबाजी चलिरहेको बेला गस्तीमा हिँडेका प्रहरीहरू आएर केही विद्यार्थीलाई पक्राउ गरेर हिरासतमा लग्यो। जसमा एउटा अनुहार विमलेन्द्रको थियो।

उनी पहिलो पटक जेल पर्दा भर्खर १४ वर्ष लागेका थिए। त्यो समयमा फलामे ढोका भनिने एसएलसी उनले जेलको ढोका भित्रबाटै दिए।

तत्कालीन समयमा विमलेन्द्रका बाबु महेन्द्रनारायण निधी कांग्रेसका प्रभावशाली नेता थिए। कांग्रेसका संस्थापक नेतामध्ये पर्थे महेन्द्रनारायण। तत्कालीन जहानियाँ राणा शासन विरुद्ध भारतको बिहारमा तीन दिनसम्म सम्मेलन आयोजना गरिएको थियो। बैरगनिया सम्मेलन नाम दिइएको उक्त सम्मेलनमा महेन्द्रनारायण पनि सहभागी थिए।

सम्मेलनमा भाग लिने जति सबैले जहानियाँ राणा शासन फाल्न ‘डु अर डाइ’ अर्थात् कि राणा शासन खत्तम गर्ने, कि हामी खत्तम हुने नीति आत्मसात् गरेर आन्दोलनमा होमिएका थिए।

महेन्द्रनारायणले छोरो छुटाउन चाहेको भए विमलेन्द्रले जेलबाटै एसएलसी दिन पर्ने थिएन। तर उनले छोरोलाई जेलमै छाडिदिए, छुटाउन गएनन्।

घरमा राजनीतिक वातावरण भएकाले पनि सानैदेखि उनमा राजनीतिक चस्का पसेको थियो। साथमा भाग्यले पनि साथ दियो। बिपी कोइराला उनको राजनीतिक जीवनमा उज्यालो बोकेर आए। २०३६ सालमा जनकपुरमा नेपाल विद्यार्थी सङ्घको तेस्रो अधिवेशनमा सम्बोधन गर्न गएका बिपीले बन्द सत्रमा अध्यक्ष पदका लागि विमलेन्द्रको नाम सिफारिस गरिदिए।

लामो समयदेखि नेविसंघको अध्यक्ष पद सम्हाल्ने तयारी थालेका बेनुपराज प्रसाईँ बिपीको प्रस्ताव स्विकार्दै पछि सरे। बिपीको ठाडो आदेशमा निधी २०३६ सालमा नेविसंघको अध्यक्ष बने।

२४ वर्षको उमेरमा नेविसंघको अध्यक्ष बने पनि निधिलाई कांग्रेसको केन्द्रीय राजनीतिमा आउन समय लाग्यो। केन्द्रीय राजनीतिमा पहिलो गाँसमै उनलाई ढुङ्गा लागेको थियो।

नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य उठे पनि उनले अर्का नेता भीमबहादुर तामाङसँग हारे। १०औँ महाधिवेशनमा भने निधी केन्द्रीय सदस्य बन्न सफल भए।

गिरिजाप्रसादसँग राजीनामा माग्ने नेता

१० औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनिसकेपछि उनले पछाडि फर्किन परेन। राजनीतिक रूपमा उनले सफलताका खुट्किला उक्लिइरहे। दोस्रो अधिवेशनमा नेविसंघ अध्यक्ष बनेका शेरबहादुर देउवा र तेस्रो अधिवेशनमा नेविसंघ अध्यक्ष बनेका विमलेन्द्रको विचार मिल्न पुग्यो।

उनी देउवाको छायाजस्तै बनेर राजनीतिमा अगाडि बढिरहे। जता देउवा उतै विमलेन्द्र जस्तै भयो। कांग्रेस फुटेर देउवाले नयाँ पार्टीको नेतृत्व लिँदा विमलेन्द्र महामन्त्री बनेका थिए। पछि पार्टी एकीकरण भयो। त्यहाँ पनि उनी महामन्त्रीकै रूपमा प्रवेश गरे।

पार्टीका कतिपय नेता–कार्यकर्ता शेरबहादुरले नेतृत्व गरेका हैनन्, गुट र फुटको नेतृत्वकर्ता विमलेन्द्र हो समेत भन्थे। किनभने त्यो समयमा गिरिजाप्रसाद कोइरालाको प्रतिपक्षमा उभिने विमलेन्द्र नै थिए।

पहिलो संविधानसभामा माओवादी पार्टी पहिलो बन्यो। कांग्रेसको इतिहासमै लज्जास्पद हार थियो त्यो। त्यही बेला चुनावी समीक्षा हुँदा चर्काचर्की पर्यो। बैठक सकिएपछि विमलेन्द्र एक्लैले गिरिजाप्रसादलाई भेटेर ‘अब राजीनामा दिनुस्, अरू विकल्प छैन,’ भनेका थिए।

१२ औँ महाधिवेशनमा पहिलो पटक कांग्रेसको महामन्त्री पदका लागि निर्वाचन हुँदा विमलेन्द्र र प्रकाशमान सिंह उठेका थिए। विमलेन्द्र हारे। १३ औँ महाधिवेशनमा विमलेन्द्रले केन्द्रीय सदस्य जिते। देउवा सभापति भए। उनै देउवाले २०७५ सालमा विमलेन्द्रलाई उपसभापति बनाए।

संसद् र सत्ता यात्रा

२०५१ सालको मध्यावधि निर्वाचनमा उनकै बाबुको धनुषा क्षेत्र नम्बर ४ को उम्मेदवार बनेर संसद् प्रवेश गरेका उनी २०५६ को निर्वाचनमा भने पराजित भए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट उनले जितेका थिए। २०७४ को निर्वाचनमा उनी पराजित भए।

उनी २०५२ मा सामान्य प्रशासन मन्त्री बनेका थिए। २०५९ मा शिक्षा मन्त्री बनेका उनी २०७० मा भौतिक योजना मन्त्री बने। २०७३ मा उनी उपप्रधानसहित गृहमन्त्री भएका थिए।

उनका बुबा पार्टीमा कोइरालाभन्दा कृष्णप्रसाद भट्टराई निकट थिए। देउवा भट्टराइको उत्तराधिकारीको रूपमा उदाएका थिए। त्यसैले पार्टी फुटेर एक भएसँगै मीनेन्द्र रिजाल लगायतका नेताहरू तत्कालीन संस्थापनतिर लाग्ला पनि निधीले देउवाको साथ छाडेनन्। धेरै महत्त्वपूर्ण अवस्थामा उनले देउवाको रेस्क्यु गरेका थिए।

आइजिपी काण्डले बढायो दुरी

विमलेन्द्र देउवाका मुख्य सहयोगी थिए। एमालेको सरकार ढालेर माओवादी केन्द्रसँग मिलेर सरकार बनाउँदा आधा कार्यकाल पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाए। दोस्रो कार्यकालमा देउवा प्रधानमन्त्री बन्दा निधी उपप्रधानसहित गृहमन्त्री बने। त्यो बेलामा एमाले र माओवादीको गठबन्धन तोड्ने मुख्य खेलाडी उनैलाई मानिएको थियो। उनलाई गेमचेञ्जर नै भनियो।

गिरिजाप्रसाद कोइरालाविरुद्ध होस् या सुशील कोइराला विरुद्ध होस् जब देउवा विपक्षमा उभिन्थे कांग्रेसका कोइरालाहरू देखिएको देउवा भए पनि रणनीति निधीको हो भन्थे।

उनी गृहमन्त्री भएपछि नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा देउवा र निधीको छनौट मिलेन। देउवा जयबहादुर चन्दको पक्षमा देखिए निधी नवराज सिलवाल।

कांग्रेस सभापति दाबेदार-१

प्रकाशमान : विरासत गणेशमानको, लाभ सत्ताको

कांग्रेस सभापति दाबेदार-२

देउवा विरुद्ध शेखरको दुस्साहस

यो केस अदालतसम्म पुगेर निकै विवादित भयो। यसमा निधीले सिलवाललाई साथ दिएको भन्दै देउवा रिसाए। आखिर दुवैले मन पराएका कुनै आइजिपी भएनन्। प्रकाश अर्याल आइजिपी भए। सिलवाल एमालेतिर लागेर सांसद भए।

त्यहीँबाट चिसिएको यी दुवैको सम्बन्ध १४ औँ महाधिवेशन नजिक आएपछि भने वारपार भयो। १३ औँ महाधिवेशनमा अब नेतृत्वको दाबी नगर्ने र आफूलाई सघाउने भनेको भन्दै निधीले सभापतिमा दाबी गरे। देउवाले आफैँ दोहोरिने निर्णय गरे। उनी देउवा समूह छाडेर एक्लै भए पनि सभापतिको तयारीमा लागे र उम्मेदवारी समेत दिए।

क्षत्रियवाद हाबी

मधेसमा क्षेत्रीय राजनीति बढ्दै गएसँगै मधेसवादी दल बलियो हुँदै गयो। उनको क्षेत्रमा समेत चुनौती बढ्यो। त्यसपछि उनको राजनीतिक अजेण्डा बदलिन थाल्यो। मधेसवादी दलका नेताको स्वर र उनको स्वर करिब मिल्न थाल्यो। कांग्रेसका नेताहरूले यो मन पराएनन्। मधेसको सवालमा उनको धारणा र प्रथम राष्ट्रपति डा यादवकै धारणाविच मेल भएन।

पहिलो मधेस आन्दोलनमा जनकपुरमा पहाडे समुदायविरुद्ध भएको गतिविधिमा उनी महामन्त्री भएर पनि आफ्ना पार्टीका नेता कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप समेत लागेको थियो। पार्टीमा पनि उनको छवि राष्ट्रिय नेताभन्दा मधेसको नेताको रूपमा बदलिँदै गयो।

मधेसमा पार्टी कमजोर हुँदै गएको बेलामा मधेसवादी दल र एमालेको गठबन्धनमा राजेन्द्र महतोले एमालेको मत पाएर जिते उनी पराजित भए। भारतीय पक्षसँगको निकट सम्बन्धले पनि उनलाई पार्टीभित्रै शङ्काले हेर्नेहरू पनि छन्।

तर उनले पार्टीभित्रको सङ्घर्ष भने छाडेका छैनन्। उनले आफ्नै बलियो समूह बनाउन सकेनन्। तर पार्टीको १३ औँ महाधिवेशनमा देउवालाई सभापतिको बाटो खुलाउने उनी १४ औँ महाधिवेशनमा सभापतिको दोस्रो यात्राको मुख्य तगारो बन्न सफल भएका छन्।

२६ मंसिर, २०७८, २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।