प्रकाशमान : विरासत गणेशमानको, लाभ सत्ताको

प्रकाशमान : विरासत गणेशमानको, लाभ सत्ताको

काठमाडौं : २०४६ को जनआन्दोलन तताउने बीउ रोपिएको थलो गणेशमान सिंह अस्ताएसँगै सुस्ताएको थियो। नेपाली कांग्रसको १४औँ महाधिवेशनले चाक्सिबारीको माहोल बदल्यो।

उनै गणेशमानका छोरा प्रकाशमान सिंह कांग्रेस राजनीतिमा सक्रिय रहे पनि उनले गणेशमानले बनाएको चाक्सीबारीको पुरानो साख फर्काउन सकेका थिएनन्। यो बीचमा कहिले भैंसेपाटी केन्द्र बन्यो त कहिले महाराजगन्ज। विस्तारै बोहोराटार र बुढानीलकण्ठ केन्द्र बन्दा चाक्सीबारी सुनसान रह्यो। 

सिंहलाई भेट्नभन्दा सिंह आफैं नेताहरू भेट्न कहिले महाराजगन्जको शशांक निवास पुगिरहे, कहिले बोहोराटारमा रहेको रामचन्द्र पौडेल निवास त कहिले बुढानीलकण्ठमा रहेको शेरबहादुर देउवा निवास धाए। 

१४औँ महाधिवेशनले चाक्सीबारीको दृष्य बदल्यो। पार्टीका महत्वपूर्ण बैठक त्यही भए। सिंह अन्य नेताको निवास धाउनुको साटो नेताहरू उनको निवास धाउन थाले दिन बिराएर। त्यही बदलिएको माहोलले उनी यति हौसिएकी पार्टीको संस्थापक भएर पनि सभापतिमा नाम लेखाउन नसकेका गणेशमानको इतिहास ब्रेक गरेर उनी अहिले पार्टीको सभापती हुने प्रतिस्पर्धामा उत्रिएका छन्।

उनी गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला अनि पार्टीमा नयाँ विचारको प्राण भर्ने विश्वप्रकाश शर्मालाई साथमा लिएर १४औँ महाधिवेशनबाट निर्वाचित भएका सभापतिको इतिहास लेखाउन मैदानमा छन्।

उनी मैदानमा उत्रदा बलियो गुट निर्माण गरेका शेरबहादुर देउवा, संस्थापन इतरको बहुसंख्यक नेताको साथ पाएका शेखर कोइराला अनि नेपाली कांग्रेसमा इतिहास बनाएका महेन्द्रनारायण निधीका छोरा विमलेन्द्र निधीको बलियो चुनौती छ।

सभापतिको उम्मेदवारको दावी गरेदेखि उम्मेदवार भएसम्म उनले प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्ने गणेशमानको त्यागलाई नै मुख्य अजेण्डा बनाइरहेका छन्। महाधिवेशनको प्रचारमा उनले 'सिंह परिवारले मात्र त्याग गर्नुपर्ने?' भन्दै आएका छन्। 

वर्तमान नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने भन्दै उनले उम्मेदवारी त दिए तर देउवाका अन्य प्रतिस्पर्धीभन्दा उनी के मानेमा फरक बलियो तर्क देखिन्न उनमा। गणेशमानको त्याग र देउवाको असक्षमताको उदाहरणले मात्र उनको इतिहार रच्ने योजना सफल हुने देखिँदैन।

गणेशमान सिंह त्यागी नेता हुन् भन्नेमा कुनै विवाद रहेन। तर के प्रकाशमान पनि गणेशमानझैँ त्यागी हुन् त? आफ्नो पूरै प्यानल समेत बनाउन नसकेको उनको अवस्थाले उनमा बाबुमाझैँ त्याग भावना छैन भन्ने नै देखाउँछ।

राजनीतिमा पनि प्रकाशमानले गणेशमानलेझैँ ठूलै त्याग गर्नुपर्ने अवस्था आएन। कांग्रेस राजनीतिमा लागेदेखि उनले पार्टीबाट नपाएको अवसर कमै छ। पार्टीको नेतृत्वमा उनी उपसभापतिसम्म भएकै हुन्।

निरन्तर सांसद बनिरहेकै छन्। पार्टी सत्तामा जाँदा उनले गच्छे अनुसारको अवसर पाउँदै उपप्रधानमन्त्रीसम्म भइसकेका छन्।

हुन बाँकी त्यही प्रधानमन्त्री र पार्टी सभापति हो।

१३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएको भन्दै पार्टीभित्र आफ्नो लोकप्रियता पुष्टि गर्ने प्रयास गरिरहेका छन् उनले। पार्टीको महाधिवेशनमा छानिएका प्रतिनिधिले १३औँ महाधिवेशनझैँ १४औँ महाधिवेशन नहुने प्रष्ट संकेत देखिइसकेको छ। उनले केन्द्रीय सदस्यको रूपमा पाएको मत सभापतिको उम्मेदवारीमा पनि दोहोरिनेमा उनी विश्वस्त हो भने त्यसले ल्याउने नतिजा निराशामात्र हो। 

उनी १४औँ महाधिवेशनमा नेतृत्व लिने तयारीमा थिएनन् भन्ने त १३औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनको बीचको अवधिको उनको सक्रियताले नै देखाउँछ। निधिले देउवा समूह छाडेर पार्टी संस्थापकका सन्तानहरु एक हौँ भन्दै बैठकहरु सुरु गरेपछि नै उनले सभापतिको सपना देख्न थालेका हुन्।

संसदीय राजनीतिमा समेत उनी कमजोर बन्दै गएको निर्वाचनमा नयाँ दलका कच्चा नेता रवीन्द्र मिश्रसँग झिनो मत अन्तरको जीतले नै देखाएको थियो। राजनीति गर्ने थलो जसरी विरासमतमा पाए उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ पनि उसैगरी पार्टीबाट बिरासतमा पाएका हुन्।

उनी पार्टी राजनीतिमा पनि बढी आफ्नै क्षेत्रमा रमाए। उनले आफूलाई राष्ट्रिय नेताभन्दा काठमाडौँको कांग्रेसको नेताको छवि बनाउनमै मिहिनेत गरे र रमाए। काठमाडौंमा उनको जति पकड देखिन्छ काठमाडौं बाहिर त्यो स्वरुपमा छैन। 

१३औँ महाधिवेशनबाट मात्र आफ्नै समूह बनाएका कृष्णप्रसाद सिटौला जतिको संगठन पनि निर्माण गरेको देखिएको छैन। 

विरासतको उपहार
प्रकाशमानको पहिचान केवल गणेशमानको छोरा मात्र हो भन्दा उनीमाथि अन्याय हुन्छ नै। गणेशमान सिंह र मंगलादेवी सिंहको राजनीतिक विरासत उनमा आयो। अहिलेको पहिचान बनाउन उनले पनि मिहिनेत गरेका भने छन्।

मातापिता आठ वर्ष काराबास र अर्को आठ वर्ष भारतमा निर्वासनमा बसेको अवस्थामा पारिवारिक वातावरण बिथोलियो।

राजनीतिक घरानामा जन्मिएका सिंहलाई नेपाली कांग्रसको राजनीतिमा सक्रिय हुन अन्यको तुलनामा सहज भयो नै। उनले परिवारबाट राजनीति सिके, भोगे र अगाडि बढे। 

सिंह विद्यार्थीकालदेखि नै राजनीतिमा होमिए। तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गरेको उनको इतिहास छ। 

उनी नेपाल विद्यार्थी संघको साधारण सदस्य हुँदै काठमाडौं जिल्ला कार्यसमितिको सदस्य र सभापति भए। २०३६ सालको विद्यार्थी आन्दोलन तथा २०३७ सालको जनमत संग्रहमा महत्वपूर्ण भूमिका निर्वाह गरे। 

तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसमा सक्रिय बन्दै प्रतिबन्धितकालमा नै जिल्ला कार्यसमिति काठमाडौंको सदस्य र सचिव भए। 

कांग्रेस नेतृत्वमा भएको सत्याग्रह आन्दोलन-२०४२ र २०४६ को जनआन्दोलनको एक्सन कमिटीको सदस्य भए। 

सिंहले १४औं महाधिवेशनमा सार्वजनिक गरेको अवधारणा पत्रमा उल्लेख भएअनुसार उनी २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापित भएपछि कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको रिक्त सभापति पदमा मानोनित भएका थिए। 

त्यसैगरी पार्टीको आठौं र नवौं महाधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको सभापतिमा निर्वाचित भए।

सिंह कांग्रेस काठमाडौंको तीन कार्यकाल सभापति भए। कांग्रेसको राष्ट्रिय सम्मेलन-२०४७ र पार्टीको नवौं महाधिवेशन-२०५३ को व्यवस्थापन समितिको संयोजक भए।

त्यसैगरी २०५७ मा पोखरामा सम्पन्न १०औं महाधिवेशनबाट पहिलो पटक सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। 

उनी ११ औं महाधिवेशनबाट उपसभापति र १२औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए भने १३औं महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित भएका थिए।

निरन्तर सत्तामा
सिंहले २०५३ को देउवा सरकारमा वातवरण मन्त्रालयको जिम्मेवारी पाएका थिए। २०५६ मा कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषदमा समेत सामेल थिए।

दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रीका रुपमा समेत सिंहले सत्ता लाभ लिए। 

२०६० मा राजा ज्ञानेन्द्रले निरंकुश कदम चाल्दै गठन गरेको शाही आयोगमा समेत बयान दिन्न भनेर त्यसको विरुद्ध लिएको अडान उनले आफ्नो साहसका रुपमा चित्रित्र गर्दै आएका छन्। 

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि सिंहले संविधान सभाका दुवै निर्वाचन (२०६४ र २०७०) मा काठमाडौंबाट विजयी भएर संविधान सभामा नेपाली कांग्रेसको संसदीय दलको उपनेतासम्म भए। उनी २०७४ को चुनावमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि पार्टी विपक्षी दलको हैसियतमा खुम्चिएपछि उनको सत्ता यात्रा रोकियो। नेकपा तितरवितरहुँदा देउवाको नेतृत्वमा सरकार बने पनि उनी सरकारमा सहभागी हुन सकेनन्। उनले आफूले चाहेकालाई मन्त्री बनाउन खोजेका थिए तर भागै पुगेन।

त्यागको मात्रै बखान
पटकपटक पार्टी तथा सत्ताको लाभ लिएका सिंहलाई अनियमितताको दाग लागेको छैन। १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका उनले पार्टी विधिसम्मत नचलेको भन्दै वर्तमान सभापति देउवाको आलोचना गरिरहेका छन्।

पार्टीको नीति तथा नेतृत्व दुवै कमजोर भएका कारण निर्वाचनमा पार्टी कमजोर हुँदा समेत पार्टीभित्र समीक्षा हुन नसकेको उनको तर्क छ। उनी देउवा नेतृत्वको कार्यसमितिका सदस्य हुन्। पार्टीलाई विधिमा चलाउन उनले के प्रयास गरे उल्लेख गरेको देखिँदैन।

पार्टीको भावना र समयको सदाचारलाई बुझेर सिद्धान्त तथा नीतिको परिमार्जन, परिवर्तनका लागि आफूले सभापतिमा उम्मेदवारी दिएको उनको भनाइ छ। 

उनी हरेक भाषणमा गणेशमानको त्यागको उदाहरण दिइरहन्छन्। तर राजनीतिक विष्लेशक हरी शर्माका अनुसार ‘नेताका छोराले बाउको पैतृक सम्पत्तिमा अंश खाने हो, राजनीतिक अंश त कार्यकर्ताले खान्छन्।’

२६ मंसिर, २०७८, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।