सत्ता र शक्तिको भीडले बिर्सिएकी शैलजा

सत्ता र शक्तिको भीडले बिर्सिएकी शैलजा

तत्कालीन राजा ज्ञानेन्द्रले शासन-सत्ता आफ्नो हातमा लिएपछि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो प्रधानमन्त्री बनाए। तर दुवै जनाले ज्ञानेन्द्रलाई खुसी बनाउन सकेनन्। त्यसपछि सुरु भयो, निष्कलंक नेताको खोजी।

दरबारले सही मानिस खोजिरहेका बेला दुई व्यक्तिहरु दरबारको नजरमा परे, कृष्णप्रसाद भट्टराई र शैलजा आचार्य। किसुनजीले सुरुमै दरबारको आग्रहलाई अस्वीकार गरेपछि प्रधानमन्त्रीको प्रस्ताव आयो शैलजालाई।

शैलजासँग नजिक रहेका पत्रकार किरण पोखरेल त्यो समय सम्झँदै भन्छन्, ‘शैलजा दिदीसँग दरबारले सिधै प्रस्ताव राख्न सकेन। बद्रिप्रसाद भन्ने एक जना मन्त्री थिए, उनी आफैंले पनि दरबारको प्रस्ताव शैलजा दिदीलाई सुनाउन सकेनन्। 

शैलजाको व्यवहार सिधा थियो। उनी घुमाएर कुरा गर्न जान्दैनथिन्। सिद्धान्तभन्दा बाहिरको कुरा उनले कुनै हालतमा स्वीकार्दैनथिन्। त्यसैले दरबारले सिधै शैलजालाई प्रस्ताव राख्न सकेन र त्यो काम पोखरेलको काँधमा आइलाग्यो।  

दरबारले सिधै भन्न आँट नगरेको कुरा पोखरेलले पनि सिधै भन्न सक्ने कुरा भएन। उनले घुमाएर शैलजालाई सुनाए, ‘बिपी पनि पञ्चहरुको विचार बुझ्न उनीहरुको संगत गर्नुहुन्थ्यो रे हो?’ 

शैलजाले हो भन्ने जवाफ दिइन्। साथमा भनिन्, ‘अरु समयमा त तपाईं खासै भूमिका बाँध्नुहुन्थेन, आज के भयो।’

मौका यही हो ठानेर पोखरेलले भने, ‘दरबारले तपाईंलाई भेट्न खोजेका छन् रे, भेट्दैमा के हुन्छ र है।’

उनले सजिलै भनिन्, ‘दरबारले बोलाएको छ भने अवश्य भेट्छु। सबैले भेटिरहेका छन्, मैले किन नभेट्ने।’

दरबारको आफ्नै नियम हुनेरहेछ। राजाले नै भेट्न चाहेको मानिसले पनि आफैंले दर्शन भेट गर्न चाहेको भन्नुपर्ने। भेटेपछि कारण राजालाई सोध्न नपाइने रहेछ।

दरबारियाहरुले शैलजा दिदीलाई उतैबाट भेट्न चाहेको आसयमा कुराकानी गर्न बद्रिप्रसादमार्फत आग्रह गरेछन्। यो कुरा पोखरेल आफैलाई पनि व्यक्तिगत रुपमा मन परेन। उनले शैलजालाई टेलिफोन गरे र दरबारको कुरा जस्ताको तस्तै सुनाए। भेट्न उनीहरु नै बोलाउने, अनि भनाइमा दर्शनभेट गर्न जानुपर्ने!

यो कुरा शैलजालाई मनपर्ने कुरै भएन। उनले सिधै इन्कार गरिदिइन्। पोखरेलले अनुहार अँध्यारो बनाउँदै भने, ‘मैले त्यो समयमा सिधै नभनेर एक पटक दरबारसँग भेट्ने वातावरण बनाइदिएको भए सिद्धान्तमा अडिग नेतृ प्रधानमन्त्री हुन्थिन् कि!’

शक्ति र सत्ताको अघि बिलाएकी शैलजा
दरबारको प्रधानमन्त्री बन्ने आग्रह अस्वीकार गरेकी नेतृ शैलजा आचार्य, नेपाली कांग्रेसकी बहादुर नेतृ मात्रै हैनन्, नेपालकै पहिलो महिला उपप्रधानमन्त्री समेत हुन्। तर उनलाई नेपाली कांग्रेसले जुन स्थान दिनुपर्थ्यो, त्यति दिन सकेन।

नयाँ पुस्ताका कतिपय नेताले त शैलजाको नामै नसुनेको बताए पत्रकार किरण पोखरेलले। उनले भने, ‘शैलजा दिदीले प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई दिएको योगदानको उचित कदर गर्न नेपाली कांग्रेस नराम्रोसँग चुकेकै हो। 

यसरी शैलजाको योगदानलाई बिर्सनु, उनको उचित कदर गर्न नसक्नुमा कुनै एक व्यक्तिको या एक नेताको मात्रै दोष छैन। उनले भने, ‘शैलजा आचार्यलाई उचित तरिकाले नसम्झनु नेपाली समाजको दोष हो। समाज अत्यन्तै स्वार्थी भयो। शक्ति र सत्ताको प्रभावमा मानिसहरु लागे। निष्ठा, आदर्श, नैतिकता  र आचरणसँगै शैलजालाई पनि सबैले भुले।’ 

पोखरेलका अनुसार यदि समाज सत्ता र शक्तिको पछि नदौडिएको भए नयाँ पुस्ताले शैलजाको योगदान बिर्सने थिएन। 

कांग्रेसका कुनै पनि पुरुष नेताले सम्झँदैनन् शैलजालाई 
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय सह-महामन्त्रीको महिलातर्फको उम्मेदवार बनेकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) नेपाली कांग्रेसले शैलजालाई जति सम्झनुपर्ने हो, त्यति नसम्झेको स्वीकार्छिन्। उनी भन्छिन्, ‘आन्दोलनको क्रममा म पनि शैलजा दिदीसँगै जेल बसें। हामीले उहाँको विचारलाई पार्टीले सँगै लैजानुपर्छ भनेर कुरा पनि बैठकमा उठाउँदै आएका छौं। तर हाम्रो कुरा बैठकले सुन्दैन।’

कांग्रेसका बैठकहरुमा कुनै पनि पुरुषले शैलजा आचार्यको कुरा नउठाएको उनले बताइन्। ‘उहाँको विचार कति सशक्त थियो। उहाँ कति साहसी हुनुहुन्थ्यो भन्ने कुरा पार्टीका सबैलाई थाहा हुँदाहुँदै पनि उहाँको विचारबारे कहिल्यै छलफल भएको पाइएन, यो दुखद कुरा हो,’ उनले भनिन्, ‘महिला नेतृको फोटो पनि कतै राखिँदैनथ्यो तर अब भने हामीले त्यसको प्रयास थालेका छौं। हामी अझै लडिरहेका छौं।’

समावेशीताको आवाज सुरुमा शैलजाले नै उठाएको भन्दै महालक्ष्मीले भनिन्, ‘देशभर महिला नेतृत्वको खुट्किलो खन्ने काम शैलजाकै हो। जसरी गणेशमान, किशुनजी, बिपी लगायतका नेतालाई नेपाली कांग्रेसले सम्झिन्छ, त्यसरी नै शैलजालाई पनि सम्झनुपर्ने हो। केही महिलाले उहाँलाई सम्झिए पनि पुरुष नेता नै बाधक बनेका छन्।’

आफूहरु कांग्रेसको महिला नेतृत्वमा रहुन्जेल शैलजा दिदीलाई बिर्सन नदिने पनि उनले बताइन्।

स्मृति ग्रन्थ निकाल्ने तयारीमा छौं
नेपाली कांग्रेसकै अर्की नेतृ कमला पन्त पनि शैलजाको विचार नयाँ पुस्तामा पुर्याउन काम गरिरहेको बताउँछिन्। ‘शैलजा आचार्य आदर्श समाज’ संस्था खोलेर उनका विचारलाई फैलाइरहेको पन्तको भनाइ छ।

शैलजा आचार्य आदर्श समाजको आफू उपसभापति भएको भन्दै पन्तले भनिन्, ‘उहाँ हाम्रो पथप्रदर्शक हो। उहाँले योगदान गरेबमोजिम पार्टीले सम्झन नसक्नु बिडम्वना हो।’

समाज स्वार्थी भएको भन्दै पन्तले भनिन्, ‘सबैले बलेको आगो ताप्ने रहेछन्, शैलजा दिदीको विषयमा पनि त्यस्तै भयो।’ भ्रष्टाचार विरोधी नेतृ भएकैले उहाँकै विचार अनुसार भ्रष्टाचार विरुद्धका अभियानहरु आदर्श समाजले चलाइरहेको पनि उनले बताइन्।

जति सम्झनुपर्यो, त्यति सम्झन नसकेको भन्दै उनले भनिन्, उहाँको बारेमा स्मृति ग्रन्थ पनि निकाल्ने तयारीमा छौं।’ आउँदो पिँढीले शैलजाको नाम पनि नसुन्ने डरले नै आदर्श समाज नामको संस्था स्थापना गरिएको र स्मृति ग्रन्थको अवधारण ल्याएको उनले बताइन्।

शैलजाको विचार महसुस हुँदैछ
पहिलेको तुलनामा शैलजा आचार्यको सोधिखोजी बढिरहेको पत्रकार किरण पोखरेलले अड्कल काटे। उनले भने, ‘स्थानीय ब्यानरहरुमा शैलजाको फोटो देखिन थालेको छ। जब मानिसको आशाको त्यान्द्रो चुँडिन खोज्छ नि, अनि बल्ल पुराना कुराहरु याद आउने हो।’ नेपाली कांग्रेस यतिबेला विचार र सिद्धान्तमा स्खलित हुन थालेकाले नयाँ पिँढीले शैलजाको सोधिखोजी थालेको उनले बताए।

तर, कांग्रेस नेतृ कमला पन्त भने पोखरेलको कुरालाई स्वीकार्दिनन्। उनी भन्छिन्, ‘त्यसरी शैलजा दिदीको विचारलाई पछ्याए त राम्रो हुन्थ्यो। तर अबको पिँढीले विचारलाई सम्मान गर्लान् जस्तो लाग्दैन। खाने, पिउने, मोज मज्जा गर्ने, जसको क्षमता छ, त्यसलाई गिराउन हात धोएर लाग्ने समाजको स्थापना भइरहेको छ। नेपाली कांग्रेसको भविष्य तपाईं हामीले सोचेजस्तो उज्यालो पक्कै छैन।’

को हुन् शैलजा आचार्य?
राजा महेन्द्रले कु गरेपछि सानो उमेरमै प्रजातान्त्रिक आन्दोलनमा होमिएकी नेतृ हुन्, शैलजा। बाँचुन्जेल नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका निभाएकी उनी २०१७ सालमा आफूले ओढेको कालो पछुयौरा तत्कालीन राजा महेन्द्रको अगाडि फालेर तीन वर्ष जेल समेत बसिन्।

मोरङ, विराटनगरमा जन्मिएकी आचार्य कोइराला परिवारकी सदस्य हुन्। वि.सं. २०४८ सालको आम निर्वाचनमा मोरङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी त्यसलगत्तै कृषिमन्त्री बनेकी थिइन्। तर मन्त्रालयमा भ्रष्टाचार व्याप्त भएको भन्दै उनले पदबाट राजीनामा दिइन्।

२०५१ सालमा फेरि मोरङबाटै निर्वाचित भएकी उनी २०५४ सालमा संयुक्त सरकारमा उपप्रधान तथा जलस्रोत मन्त्री बनिन्। उनी मन्त्री भएकै समयमा लघु जलविद्युतका लागि बाटो बनाइन्। ‘स्मल इज ब्युटिफुल’ भन्ने धारणा उनको थियो।

२०६६ साल जेठ २९ गते उपचारका क्रममा शिक्षण अस्पतालमा शैलजा आचार्यको निधन भएको थियो।

२६ मंसिर, २०७८, १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।