'गुन्डा नाइके' गणेश देउवा प्यानलका केन्द्रीय सदस्य उम्मेदवार, राजु स्वतन्त्र 

'गुन्डा नाइके' गणेश देउवा प्यानलका केन्द्रीय सदस्य उम्मेदवार, राजु स्वतन्त्र 

काठमाडौं : आपराधिक पृष्ठभूमिका केहीले जिल्ला तहमा कांग्रेसको राजनीतिमा प्रभाव बढाइरहेकै थिए। त्यसमध्ये पनि दुई जनाले केन्द्रको राजनीति पनि परीक्षण गर्ने भएका छन्। 

ती हुन् काभ्रेका गणेश लामा र काठमाडौंका राजु गोर्खाली। यी दुवै बारम्बार चर्चामा आइरहने पात्र हुन्। चर्चाको कारण- अपराध।

राजु काठमाडौंको बालुवाबाट उदाएका थिए। गणेश लामा ठमेलहुँदै रक्तचन्दन र काभ्रे-सिन्धुपाल्चोकको ढुंगागिटीले उकासिए। 

जबर्जस्ती रकम असुली, हत्या प्रयास, ठगीलगायतका दर्जनौं अपराधमा जोडिएका लामा काभ्रेली समूहका नाइके थिए। प्रहरीले इन्काउन्टर थालेपछि खुल्ला अपराधमा निष्क्रिय बनेका उनी विजय गच्छदारसँगै कांग्रेस प्रवेश गरेका थिए। 

काभ्रेबाट प्रदेश सांसद उठेर पराजित भएका लामा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाको प्यानलमा छन्। 

यता डिस्कोमा विवादहुँदा तरवारले हानेर आफ्नै साथी मारेका राजु गोर्खाली पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्। काठमाडौंमा क्षेत्रअनुसार गुण्डा नाइके जन्मदा चावहिलका गोर्खाली पनि सक्रिय भएका थिए। 

काठमाडौं सुन्धारामा रहेको बेबीलोन डिस्कोका सञ्चालक राकेश लिम्बूको हत्यापछि उनी लामो समय फरार रहेर पछि पक्राउ परेका थिए। 

आपराधिक प्रभाव बढाउने उनको स्रोत काठमाडौंका बालुवाखानी थिए। २०७५ मा उनी काठमाडौं मलका व्यापारीहरूलाई धम्क्याएको आरोपमा पक्राउ परेका थिए। गोर्खाली सिन्धुपाल्चोक क्षेत्र नम्बर २बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। 

यसअघि गुण्डा नाइके सगुन श्रेष्ठ सिन्धुपाल्चोकको पालिका सभापति र दावा लामा काभ्रेको पालिका सभापतिमा चयन भइसकेका छन्।

२६ मंसिर, २०७८, १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।