कांग्रेस महाधिवशेन : पार्टीभित्र धनगिरी, बाहुबली, दादागिरी देखियो

कांग्रेस महाधिवशेन : पार्टीभित्र धनगिरी, बाहुबली, दादागिरी देखियो

लोकतन्त्रको परिभाषा निर्वाचन मात्रै होइन। यसको परिभाषा व्यापक हुन्छ। तर महाधिवेशनको चटारोमा रहेका नेपाली कांग्रेसका नेताहरुमा भने लोकतन्त्र भनेको चुनाव मात्रै हो भन्ने भाव देखिन्छ।

लोकतन्त्र सोच हो, संस्कार हो। राजनीतिक रुपमा प्रणाली लोकतन्त्र लेख्दैमा नेपाली समाज पूरै लोकतान्त्रिक भइहाल्ने होइन। लोकतान्त्रिक आचरण र विचरण पनि हुनुपर्छ  लोकतान्त्रिक हुनलाई।

नेपाली समाज पितृसत्तात्मक छ। पछिल्लो समय त झन् भड्किएको देखेको छु। जसले पैसा कमायो ऊ नै सम्मानित देखिन्छ। के, कस्तो आचरण भनेर कमै मात्र कुरा भएको पाइन्छ।

लोकतन्त्र प्रणाली पनि हो, आचरण पनि हो। लोकतान्त्रिक हुनु भनेको ठूलो उचाइ चुम्नु हो। लोकतान्त्रिक नेताहरुको जीवनशैली पारदर्शी हुनुपर्छ। उत्तरदायी हुनुपर्छ, परिवारप्रति मात्र होइन, नागरिकप्रति। 

अबको लोकतन्त्र समावेशी 
लोकतन्त्रमा सबै राजनीतिक दलहरु समावेशी हुनुपर्छ। भूगोल मात्रै होइन, हाम्रो जात-जाति पनि विविधतायुक्त छ। लोकतन्त्रको दुहाइ दिँदै पहिले केही एलिटटहरु स्वतन्त्रता उपभोग गर्दै शासन गर्थे। अब त्यसो होइन, लोकतन्त्र भनेको समावेशी हुनुपर्छ। जसमा महिला, जनजाति, मधेसी, थारु, अल्पसंख्यक सम्पूर्ण पर्छन्। 

सन् १९९० पछि लोकतन्त्र विस्तार भएको हो। नेपालमा भने २०६३ सालपछि भएको हो। त्यसकारण नेपालको ठूलो जनआन्दोलन २०६२/०६३ लाई भनेको हो। हाम्रो लोकतन्त्र परम्परागत होइन, विस्तारित लोकतन्त्र हो। एलिटहरुले कब्जा गरेको लोकतन्त्र अहिले सबै वर्गको भएको छ। 

नेपालको संविधानले सबैलाई समान हैसियत दिएको छ। आरक्षणको व्यवस्था गरिएकोछ। भारतमा पनि यो व्यवस्था छैन, जहाँ हरेक शासन गर्ने स्थानमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरेको होस्।

दावीका साथ भन्छु, यो संविधान बाँचिरह्यो भने अबको १०० वर्षपछि वाह! क्या संविधान बनाएका रहेछन् ऊ बेला भन्नेछन्। केही कमी-कमजोरीका बाबजुद धेरै समावेशी छ अहिलेको संविधान। 

समावेशी लोकतन्त्र क्षेत्री-बाहुनलाई मन नपरेको देखिन्छ। स्वभाविक पनि हो, वर्षौंदेखि आफूले एकछत्र उपभोग गर्दै आइरहेको कुरामा अरुलाई भाग लगाउँदा चित्त दुख्छ नै।

अहिले लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोध त्यसकारण भएको हो। दलित, मधेसी, जनजाति, महिला अथवा अरु कुनै धर्म मान्नेलाई सोधौँ त यो लोकतन्त्र कति समावेशी छ भनेर? पिँधमा रहेका नागरिकलाई समावेशी लोकतन्त्रले धेरै नै राहत दिएको छ।

धर्म निरपेक्षता किन पनि ठिक छ भने राज्यले कुनै धर्म अँगाल्ने होइन, राष्ट्र धार्मिक रुपमा स्वतन्त्र हुने हो। हिन्दु धर्मले महिला तथा शुद्र भनेर दलितलाई निकै अपमान गरेको छ। लोकतान्त्रिक राष्ट्र कुनै एक धर्मको हुँदैन। 

राजनीतिमा विचारको खडेरी 
नेपाली राजनीतिमा अहिले विचारो खडेरी परेको छ। नेपाली कांग्रेसमा पनि त्यस्तै देखिएको छ। २०६२/०६३ पछि झन् धेरै विचारहरु आउनुपर्थ्यो सो अनुसार आएन। नेपाली कांग्रेसमा किन पनि बढी जोड दिइरहेको छु भने यो पार्टीको महाधिवेशन हुँदैछ। नेतृत्वमा को आउने भनेर यत्तिको रस्साकस्सी ठिकै होला तर विचार शून्य रस्साकस्सीको के अर्थ? के हामीले विचारहीन कांग्रेस बनाउन खोजेका हौँ?

२००६ सालमा भएको चौथो महाधिवेशनदेखि नै कांग्रेसको महाधिवेशनमा नीतिमा छलफल हुन्थ्यो। अहिले आएर  किन रोकियो?

कांग्रेस सभापति शेरबहादुर देउवा विचारहीन हुनुहुन्छ। उहाँ कुनै विचार भएको नेता होइन। उहाँको लागि लोकतन्त्र भनेको समय-समयमा निर्वाचन हुनु र उहाँ प्रधानमन्त्री बन्नु हो। उहाँलाई पार्टी र जनताको बारेमा कुनै चासो छैन।

नेता दुई प्रकारको हुन्छ, प्राविधिक रुपमा सभापति र विचारको नेता। प्राविधिक रुपमा चुनाव जितेर सभापति हुने हो। विचारको भनेको उसको विचार देश तथा विदेशमा फैलिनु हो। प्रभाव पार्न सक्नु हो। नेपाली कांग्रेसले बिपी कोइराला जस्तो विचारक नेता पनि पाएकै हो। 

पहिलो बिपी कोइरालाहरु सभापति हुँदा लेखपढ गर्ने, जिज्ञासा राख्ने कार्यकता थिए। अहिले त सभापतिदेखि कार्यकर्तासम्म विचारको अभाव देखिन्छ। 

नेपाली कांग्रेस मात्रै नभई सबै पार्टीभित्र धनगिरी, बाहुबली, दादागिरी देखिएको छ। पार्टीहरु धमिरा लागे जस्तो भएका छन्। पार्टीहरु, नेताहरु लिबरल हुँदै जानुपर्ने हो, सो देखिँदैन। 

नेपालको राजनीतिमा नेपाली कांग्रेसले समातेको धारले सधैं जितिरहेको छ। नेपाली कांग्रेसले गरेको हरेक क्रान्ति मात्रै नभएर संविधान बनाउने कामको पनि नेतृत्व गरेको छ। एकतन्त्रीय शासन गर्ने सोच भएका कम्युनिस्टहरु पनि लोकतान्त्रिक धारमा आएको देखिन्छ।

म दावीका साथ भन्छु, नेपालका कम्युनिस्ट नेताको भन्दा कांग्रेस कार्यकताको जीवनशैली पारदर्शी छ। गलत काम गरेको खण्डमा उनीहरुले कारबाही पनि भोगिरहेका छन्। 

लोकतन्त्रमा आस्था राख्नु, लोकतान्त्रिक आचरणमा ढल्नु नै आजको आवश्यकता हो। नेपाली कांग्रेसले अहिले कस्तो नेतृत्व  छान्छ, त्यो त महाधिवेशनले नै बताउँला तर लोकतन्त्र भनेको निर्वाचन मात्रै नभएर विचार पनि हो भन्ने नेतृत्व आउनुपर्छ भन्ने मलाई लाग्छ। किनभने, नेपाली समाज विचारहीन भएको छ। अब आउने नेतृत्व विचार बनाउने हुनुपर्छ। 

(नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रित गरी उकेराले आचार्यसँग गरेको कुराकानीमा आधारित।)

२४ मंसिर, २०७८, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।