कांग्रेस महाधिवेशनमा संबैधानिक राजतन्त्र चाहिन्छ भन्दा राप्रपा अध्यक्ष लिङदेनले स्रोताको ताली पाए, नेताहरुको 'गाली खाए'

कांग्रेस महाधिवेशनमा संबैधानिक राजतन्त्र चाहिन्छ भन्दा  राप्रपा अध्यक्ष लिङदेनले स्रोताको ताली पाए, नेताहरुको 'गाली खाए'

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टी विभाजनपछि पहिलो पटक एकै मञ्चमा उपस्थित थिए। यो अवसर जुरेको थियो नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शत्रले।

बेग्लाबेग्लै मञ्चबाट यी तीन नेताबिच घोचपेच तीव्र छ। एकले अर्को तीव्र आलोचना हुने गरेका छन्। ओलीले त नेपालको पार्टीलाई सांसद नै स्वीकार गरेका छैनन्। एकीकृत समाजवादीलाई अवैधानिक भन्दै आएको छ। त्यसैले एकै मञ्चमाहुँदा यी तीन नेताबिच तीव्र घोचपेच हुने आशङ्का थियो। एकले अर्काको आलोचना गर्ने आशङ्का थियो। तर उल्टो भयो।

नेताहरूको आलोचनाको केन्द्रमा परे राप्रपाका हालै निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन। महाधिवेशनमा शुभकामना दिन आएका लिङदेनले दलका नेताहरूले विश्वास गुमाउँदा गाउँमा नेताहरू जाँदा कुन चैँ चोर आयो भन्ने गरिएको भन्दै संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरेका थिए। उनले राजतन्त्रको पक्षमा वकालत गर्दा महाधिवेशनको सहभागी दीर्घामा रहेकाहरूले पक्षमा हुटिङ गरेका थिए।

लिङदेनपछि शुभकामना दिएका नेताहरूले लिङदेनको सम्बोधनलाई त्यति महत्त्व दिएनन्। तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने केही आक्रोशित देखिए।

नेपालले नेपालको राजनीतिमा राम्रो सङ्केत नदेखिएको, कालो बादल मडारिएको भन्दै सम्बोधन सुरु गर्दा उनले एमाले अध्यक्ष ओलीलाई कटाक्ष गरेझैँ सुनिएको थियो। तर जब उनले'प्रतिगामी तत्त्वहरूलाई म भन्न चाहन्छु। फेरी शिर उठाउने दुस्साहस नगर्नुस्। अब नेपालमा राजतन्त्रको कुनै सम्भावना छैन। कुनै भविष्य नभएकाले बरु राजाले एउटा पार्टी खोले वा व्यापार गरे हुन्छ' भनेपछि उनले लिङदेनको राजतन्त्र पक्षधर सम्बोधनप्रति कटाक्ष गरेको खुल्यो।

उनले हल्का ओलीलाई पनि छेड हान्न भने छाडेनन्। उनले मैमत्त गर्ने, अरूको सम्मान नगर्ने र मर्यादा नगर्ने प्रवृत्तिबाट लोकतन्त्र खतरामा रहेको भन्दै ओलीलाई कटाक्ष गरेका थिए।

राप्रपा अध्यक्ष लिङदेनले संवैधानिक राजतन्त्र भन्दा कांग्रेस महाधिवेशनमा समर्थनमा हुटिङ

नेपालपछि शुभकामना दिन आएका प्रचण्डको सम्बोधन पनि ओलीभन्दा लिङदेन केन्द्रितै भयो। उनले 'नेताहरू गाउँ जाँदा कुन चैँ चोर आयो भन्ने लिङदेनको भनाइको प्रतिवाद गर्दै यसलाई लोकतान्त्रिक दलका नेताहरूको बदनाम गरेर निरङ्कुशता र तानासाहीको षड्यन्त्र भइरहेको बताए।

उनले कसैले लोकतान्त्रिक दललाई बदनाम गर्न खोज्छन् भने त्यहाँ निरंकुशताको अभ्यास भइरहेको भन्दै लिङदेनको नामै नलिई आलोचना गरेका थिए। उनले एक्लै हिँड्ने अहङ्कार नगरौँ भन्दै ओलीलाई पनि हल्का ब्यङग्य गरेका थिए। तर अन्य मञ्चमा जस्तो ओलीको आलोचना भने गरेनन्।

अनि पालो आयो एमाले अध्यक्ष ओलीको। उनले पहिल्यै आफू कसैसँग वाद-प्रतिवाद गर्न नआएको बताएर सम्बोधन सुरु गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई ' मेरा पुराना मित्र शेरबहादुर देउवाज्यू' भनेर सम्बोधन गरेका उनले अन्य नेतालाई' विभिन्न दलबाट शुभकामना दिन आउनुभएका नेताज्युहरु' भने।

उनले बोल्दा माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर अनि राजेन्द्र लिङदेन कार्यक्रमस्थलबाट हिँडिसकेका थिए।

उनले देउवाको बोल्ने पालो पालो घाम अस्ताउनुभन्दा अगाडि नै आओस् भने पनि उनीपछि कांग्रेसका नेताहरूले बोल्दा घाम रहेसम्म पालो आएन।

ओली पनि प्रचण्ड र नेपालतिर भन्दा लिङदेनको राजतन्त्रको वकालतप्रति नै बढी केन्द्रित भए। लिङदेनको भनाइप्रति ब्यङग्य गर्दै उनले भने' भर्खर अध्यक्ष छानिएको रापताप होला केही साथीहरूलाई। भर्खरको बाछो हिँड्न जाँदैन। बढी कुद्छ।'

उनले अन्तिमतिर प्रचण्ड र नेपाललाई पनि ब्यङग्य गर्न भने छाडेनन्। उनले भने' केही साना दललाई कांग्रेसले औँला दिएन भने के हुन्छ भन्ने चिन्ता छ। सरकारबाट हट्नुपर्ला कि भनेर कतिपयलाई चिन्ता होला' भन्दै ब्यङग्य गरेका थिए।

२४ मंसिर, २०७८, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।