रौतहटबाट आएका शेख अब्दुल भन्छन् 'मलाई त शेरबहादुरजीकै व्यवहार मन पर्छ'

रौतहटबाट आएका शेख अब्दुल भन्छन् 'मलाई त शेरबहादुरजीकै व्यवहार मन पर्छ'

काठमाडौँ : काँग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन रौतहटबाट आएका  ४८ वर्षका शेख अब्दुल कलामलाई नेताहरूले गरिरहेको झगडा देखेर दिक्क लागेको छ। उनी पार्टीमा एकता होस् भनेर रौतहटदेखि आएका थिए।

महाधिवेशन स्थलमा भेटिएका उनी भन्दै थिए' यो पाली वडादेखि नै नेताहरू जुधे। अहिले केन्द्रमा पनि जुधिरहेका छन्। अब त मिल्नु नि।'

नेताहरू आपसमा फुट्दा कार्यकर्ताहरूले दुख पाउने बताउँदै उनले भने' हामी सबै बस्ने रुखकै छहारीमा हो। यसरी माथि नै नेताहरू फुटेपछि त तल कार्यकर्ताहरू पनि फुटिहाल्छन्। यसले पार्टीलाई राम्रो गर्छ र?'

उनी चुनावै गरे पनि नेताहरू मिलेर सौहार्दपूर्ण रूपमा महाधिवेशन गरुन् भन्ने चाहन्छन्। अनि पार्टी सभापति चैँ को भइदेओस् भन्ने लाग्छ भन्ने उकेराको जिज्ञासामा उनले भने' मेरो त शेरबहादुरजीलाई सपोर्ट छ।'

उनले देउवालाई समर्थन गर्नुको आफ्ना कारण खुलाउँदै भने' उहाँ पुरानो वरिष्ठ नेता हुनुहुन्छ। बुद्धिजीवी पनि हुनुहुन्छ।'

देउवाले सभापतिको रूपमा पार्टीको नेतृत्व गरेपछि उनको आलोचना भइरहेको छ। उनले काम गर्न नसकेको आरोप लागिरहेको छ। तर उनलाई यसबारे त्यति चासो भएको देखिएन। उनले भने' कसैलाई चित्त बुझेको छैन होला। सबैको चित्त बुझाए भनेर ग्यारेन्टी त लिन्न। मान्छेले गल्ती गर्छ। तर व्यवहार त हेर्नुपर्यो। मलाई त उहाँको व्यवहार मन पर्छ।'

२४ मंसिर, २०७८, १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।