महाधिवेशन हेर्न ह्वीलचेयरमा आएका सूर्यबहादुरले भने 'गगन दाइ जस्ता नेताहरू आउनुपर्‍यो'

महाधिवेशन हेर्न ह्वीलचेयरमा आएका सूर्यबहादुरले भने  'गगन दाइ जस्ता नेताहरू आउनुपर्‍यो'

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। उद्घाटनका लागि विभिन्न स्थानबाट प्रतिनिधिहरूसहित नेता/कार्यकर्ताहरू आउनेक्रम जारी छ।

महाधिवेशनस्थलमा काठमाडौंको जोरपाटीबाट आएका सूर्यबहादुर बस्नेत पनि थिए। उनी नेपाली कांग्रेसको सामान्य कार्यकर्ता हुन्।

उनी ह्वीलचेयरमा थिए। आफ्नो पार्टीको महाधिवेशन भृकुटीमण्डपमा हुने भन्ने खबर पाएपछि उनी महाधिवेशन हेर्नकै लागि आएका हुन्। उनलाई स्पाईनलकड ईन्जुरी छ। शारिरिक रुपमा समस्या भए पनि त्यसले उनलाई कांग्रेस महाधिवेशन हेर्ने रहरबाट रोक्न सकेन। उनी ट्याक्सी भाडा तिरेर भए पनि सभास्थल आइपुगे।

तर उनलाई नेताहरूले भागबण्डा खोजेको  चित्तै बुझेको छैन। 'सबैले भागबण्डा खोज्छ। बिपी जस्तो, गणेशमान जस्तो कोही भएन। मै ठूलो मै जान्ने भन्छन्', उनले उकेरासँग भने। 

१४ औँ महाधिवेशनमा उम्मेदवार बन्ने भनेर सुनेका केही नामप्रति भने उनी सकारात्मक बनेका छन्। कतै पार्टी बदलिइपो हाल्छ कि भन्ने आश रहेछ। उनले अब नेतृत्त्वमा नयाँ अनुहार चाहिएको बताउँदै भने 'पुरानो होइन अब त नयाँ चाहिन्छ। गगन दाइ जस्ता नेताहरू आउनुपर्यो।'

२४ मंसिर, २०७८, ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।