बुटवलमा 'ब्राण्डेड' बन्न खोजिरहेको खाजा घर: ग्राहकलाई ३० प्रकारको परौठा, सञ्चालकलाई वार्षिक १० लाख

बुटवलमा 'ब्राण्डेड' बन्न खोजिरहेको खाजा घर: ग्राहकलाई ३० प्रकारको परौठा, सञ्चालकलाई वार्षिक १० लाख

बुटवलः ०६९ सालमा बुटवलमा 'परौठा हाउस' स्थापना भयो। स्थापना गरेका थिए- स्याङजा कृष्णगण्डकी गाउँपालिकाका अर्जुन न्यौपानेले।

परौठा हाउस 'खाजा घर' मात्र होइन। यो 'ब्राण्डेड खाजा घर' हो। ५३ वर्षीय अर्जुन बुटवलमा परौठालाई खाजाको ब्राण्ड बनाइरहेका छन्।

खाजा भनेकै मम, चाउमिन र मासुजन्य परिकार हो भन्नेहरूका लागि उनले परौठा पनि खाजा हो भनेर चिनाउँदै छन्। परौठा हाउस खोल्नुअघि चाहिँ उनी १६ वर्षसम्म भारत लगायत अन्य मुलुकमा काम गर्दै आएका थिए। 

सन १९८४ मा भारत गएका उनी मुम्बईमा किचन हेल्परको रूपमा काम गर्न थाले। उनी त्यहीँबाट दुबई, ओमान, मलेसिया पुगे। नेपाल आउनुअघि उनी दुबईमा 'कुक' थिए। 

जब नेपाल फर्किए, गर्ने काम थिएन। सुरुका ४ वर्ष सप्ताह, पुराण, यज्ञहरूमा हार्मोनियम बाजा बजाउँदै हिड्न थाले। तर मन मान्दै मानेन। 

‘हार्मोनियम चलाएर गुजारा मात्र चल्थ्यो। मेरो सीप हार्मोनियमका लागि होइन, भान्साका लागि हो भन्ने लागेपछि बुटवल नयाँ काम गर्ने सोच पलायो। र परौठा हाउस स्थापना गरेँ’, उनले भने।

सुरुसुरुमा होम डेलिभरीको सुविधा दिँदा पनि नफस्टाएको व्यापार अहिले भने चम्किएको छ। ‘अहिले त पसलको नाम पछ्याउँदै ग्राहक आइपुग्छन्’, उनले भने।

सुरुमा ६ लाख लगानी गरेर परौठा हाउस स्थापना गरेका अर्जुनको अहिले २० लाख लगानी पुगेको छ। 

३० प्रकारका परौठा
अर्जुनको परौठा हाउसमा ३० प्रकारका परौठा पाइन्छ। धेरै जसो आलु परौठा, करेला परौठा, लच्छा परौठा, लौका परौठा, सिस्नो परौठा, पनिर परौठा, पालक परौठा, मेथी परौठा, दाल परौठा, चीज परौठा, केरा परौठा, सिम्डा मोर्चा परौठा बन्छ।

आलु र लच्छा परौठा भने अझ धेरै बिक्री हुने उनको भनाइ छ। सिस्नोबाट बनेको परौठा आयुर्वेदिक दृष्टिकोणले फाइदाजनक भएकाले यसको पनि माग बढी रहेको अर्जुनले बताए।

अर्जुन बालबालिका र वृद्ध सबैले चाहेअनुसारको परौठा बनाएर दिन्छन्। त्यसैले पनि बुटवलमा परौठा हाउस अहिले चर्चित छ। ४० रुपैयाँदेखि १ सय रुपैयाँसम्मको परौठा उनको हाउसमा पाइन्छ।

‘धेरैलाई आलुको परौठा मात्र बन्छ भन्ने थाहा थियो। तर यहाँ आएपछि यी परिकारहरू देख्दा आलु मात्र परौठा होइन भन्नेहरू धेरै हुनुहुन्छ। कतिले बनाउने तरिकाबारे समेत बुझ्नुहुन्छ। म सिकाएर पठाउँछु’, उनले भने।

अर्जुनको उद्यममा श्रीमती दुर्गादेवीको साथ छ। 

कामदारकै अभाव
अर्जुनको परौठा हाउसमा कामदारको अभाव छ। ‘म विदेशमा रहँदा ट्वाइलेट सफा गर्न नेपाली मरिहत्ते गरेर जान्थे। तर म आफैंले राम्रो सेफ खोज्दा समेत पाउन सकेको छैन्’, उनले भने। 

अहिले कामदार अभाव भएकै कारण अर्जुनले होम डेलिभरी सेवा पनि दिन पाएका छैनन्। 

‘विदेशमा नेपालबाट जुन कामका लागि गयो, त्यही काम गर्नुपर्छ। तर नेपालमा एउटाले कामदार ल्यायो। अर्कोले २ हजार बढी दिए अर्को ठाउँमा जान्छ। यो रोक्नलाई सरकारले पोलिसी ल्याउनुपर्छ। यसले रोजगारदाता र श्रमिक दुवैलाई फाइदा हुन्छ’, उनले भने। 

वार्षिक १० लाखको कारोबार
हाल वार्षिक १० लाखको कारोबार गर्दै आएका अर्जुन यसलाई ब्राण्डिङ गरेर 'फ्रेन्चाईज' गर्न चाहन्छन्। 

कोरोना महामारी र लकडाउन अवधिमा भने उनको व्यापार 'डाउन' भयो। 

‘कम्तीमा नेपालीले खाजा घरमै खानुपर्छ भन्ने लकडाउनमा जाने। मेरो व्यापार भएन भनेर यसमा किन चित्त दुखाउनु’, उनले हास्दै भने।

२२ मंसिर, २०७८, ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।