पाँच अर्ब ६७ करोड 'ठग्ने' इच्छाराजको सम्पत्ति : एक सय रोपनी जग्गा, २४ करोडको शेयर 

पाँच अर्ब ६७ करोड 'ठग्ने' इच्छाराजको सम्पत्ति : एक सय रोपनी जग्गा, २४ करोडको शेयर 

काठमाडौंः सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङ र उनको परिवारको नाममा एक सय रोपनी जग्गा र २४ करोड बराबरको शेयर रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

तामाङविरुद्ध ‘ठगी सम्बन्धी कसूर तथा संगठित अपराध’मा सीआईबीले शुक्रबार मुद्दा दर्ता गरेको थियो। तमाङविरुद्ध बिगो तथा क्षतिपूर्ति ५ अर्ब ६७ करोड २४ हजार ३ सय ९७ रुपैयाँ र ५ वर्ष कैदको माग गरिएको छ। दुई छोरी र श्रीमतीलाई पनि प्रहरीले फरार सूचीमा राखेको छ।

कीर्तिपुरका ३२ ठाउँमा जग्गा 
प्रहरीले फरार सूचीमा राखेको इच्छाराज तामाङकी श्रीमती सृजना शाक्य तामाङ र दुई छोरीहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङको नाममा कीर्तिपुरका ३२ ठाउँमा जग्गा छ।  

२७ ठाउँमा तामाङकी श्रीमती सृजना ताामाङको नाममा, एक स्थानमा इच्छाराजको नाममा, प्रतीक्षा तामाङको नाममा ३ र प्रतिष्ठा तामाङको नाममा ४ ठाउँमा जग्गा रहेको देखिएको छ। 

गणेश खड्का समेत १५ जनाको जाहेरीमा के थियो?
गणेश खड्कासहित १५ जनाले यही असोज ५ गते सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.ले आकर्षक ब्याजदर र उपहारको प्रलोभन देखाइ रकम जम्मा गराएको आरोप लगाउँदै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा जाहेरी दिएका थिए। 

सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङ, वर्तमान सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू एवं संस्थाका कर्मचारीहरूले विश्वास दिलाइ मासिक, त्रैमासिक, वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ ब्याज फिर्ता पाइने पनि उल्लेख गरेका थिए। 

मुद्धती र निक्षेप बचत गराई उक्त बचतको नियमानुसार भुक्तानी  नगरेको उनीहरूले आरोप लगाए। निक्षेपकर्ताहरूको रकम बदनियतपूर्ण ठगी गरी  संगठित अपराध निवारण ऐन बमोजिम हदैसम्मको सजाय गरी उक्त बिगो, क्षतिपूर्ति तथा हर्जना समेत दिलाइ-भराइपाउँ भनि जाहेरी दिएका थिए। 

त्यसको केही दिनमा नै इच्छाराजलाई सीआईबीले पक्राउ गर्यो। तामाङ हाल काठमाडौं जिल्ला  अदालतको हिरासतमा छन्। 

तामाङको बयान: बाध्यताले रकम तिर्न सकिनँ 
०५७ सालतिर हरिहर लामिछाने, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, डा. दुर्गाप्रसाद संग्रौला, सूर्यप्रसाद संगौला समेतका व्यक्तीहरू एक आपसमा छलफल गरी व्यवस्थित बसोबासको लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले सहकारी संस्था स्थापना गरौं भनि योजना बनाएका हौं। 

सोहीअनुसार ०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो। स्थापना भएपश्चात तत्कालै मैले एक लाख शेयर लगानी गरी शेयर सदस्यको रूपमा आवद्ध भई आएको हुँ। 

मैले संस्थालाई आवश्यकता अनुसार सञ्चालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटक पटक थप शेयर लगानी गरेको हुँ। म संस्थाको स्थापना कालदेखी ०६७ सम्म सञ्चालक समितिको अध्यक्ष भएको हो। 

त्यसपछि ०७३ सालसम्म संस्थाको सल्लाहकारको रूपमा काम गरेको हो। ०६७ सालदेखी हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन्। 

संस्थाको विनियममा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत, यातयात सञ्चार लगायतका उपयुक्त देखिने आयोजनाहरू निर्माण तथा सञ्चालन गर्ने भन्ने उल्लेख भए बमोजिम ०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाको लागि ललितपुर भैंसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो।

त्यसै गरी ०६२-०६३ सालमा हाउजिङ परियोजनाको रूपमा विभिन्न स्थानमा जग्गा खरिद गरी हाउजिङ बनाई बिक्री गरी आएको हो। ०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रा.लि. खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजश्व विभागको पूरा लेखापरीक्षणबाट कार्यान्वयन गर्नु भनि निर्देशन अनुसार व्यवस्थित बसोबासको लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रा.लि. नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना सुरु गरेको हो।

त्यसरी नै एउटा कम्पनीमा ३५ (पैंतिस) रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले ०६५ सालतिर सिभिल अपार्टमेण्ट प्रा.लि. समेतका अन्य २१/२२ वटा जति कम्पनीहरू दर्ता गरी सञ्चालनमा आए पनि कतिपय बन्द भइसकेको छ। सिभिल होम्स समेतका कम्पनीहरूले फेनवाईज हाउजिङ परियोजनाहरू सञ्चालन गरेको हो। सम्पूर्ण कम्पनीहरूमा सञ्चालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशवलाल श्रेष्ठ समेत सदस्य छन्। 

विभिन्न बैंकहरूमा आफ्नो आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरूको खाता रहेको छ। सिभिल बैंकमा संस्थापक शेयर संख्या ४४८६०० रहेको छ। 

सो बाहेक अन्य बैंक, संस्था समेतमा शेयर रहेको छ। श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत विभिन्न बैंक, वित्तीय संस्था, कम्पनीहरूमा शेयर, काठमाण्डौं कीर्तिपुरमा जग्गा जमिन छ। 

करिव २,१०० (एक्काई सय) जना जति संस्थाका सदस्य वचतकर्तासदस्यहरू भएको थाहा पाएको हुँ। उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करिब ७ (सात) अर्ब जति रकम फिर्ता गर्नु पर्ने हुनुपर्दछ। 

सिभिल होम्स् समेतका सबै कम्पनीहरूबाट करिव ५ (पाँच) अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ। ०७२ सालको विनाशकारी भूकम्पको कारण कम्पनीहरूले निर्माण गरेका अपार्टमेण्टमा ठूलो क्षति पुर्याएकोले पुनः निर्माण गर्न समय लागेकोले ठूलो नोक्सानी क्षति ब्यहोर्नु परेको र कोरोना महामारीको कारण घर/अपार्टमेण्ट बिक्री वितरणमा कमी आएकोले भने जति सावा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि. लाई चुक्ता गर्न नसकेको हो।

विभिन्न पत्र पत्रिकामा नकरात्मक समचार सम्प्रेषण भएपछि सदस्यहरूलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो। म संस्थाको अध्यक्ष हुँदा संस्था नियम बिनियम बमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरू रजिष्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनिको सयुक्त लगानी भएकोले धितो राखी राख्नु पर्ने आवश्यक नभएकोले धितो नराखिएको हो। 

कतिपय लगानीमा धितो समेत राखिएको थियो। कर्जावापतको रकम चुक्ता गर्न वचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेशन पारित गरी कम्पनीहरूको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाई आएको छ। 

संस्थामा सदस्य वचतकर्ताहरूले वचत गरेको रकम वचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन संस्थाको हो।

तामाङले प्रमुख सहयोग केशवलाल श्रेष्ठले गरेको बताए। श्रेष्ठले भने तामाङको बयान बाझिने बयान दिएका छन्। 

केशवलाल श्रेष्ठको बयान: मैले  प्राविधिक पाटो मात्र हेरेको हुँ
म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.को २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ। आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मैले हेर्ने गरेको छु। 

मिति ०६७ सालमा निज इच्छाराज तामाङ सिभिल बैंकको सञ्चालक समितिको अध्यक्ष भएको कारण सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.को समेत अध्यक्षको रूपमा कार्यरत रहन नमिल्ने भएको हुँदा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.को दशौं साधारण सभाबाट मलाई अध्यक्षको नियुक्त गरेको थियो भने इच्छाराज तामाङलाई सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.बाट विशेष सुविधा सहितको विशेष सल्लाहकारको पदमा नियुक्त गरी सहकारीको सम्पुर्ण काम कारबाही गर्ने जिम्मा दिएको हो।

म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रुपमा बसेको हुँ। सम्पूर्ण निर्णय र व्यवस्थापन इच्छाराज तामाङले गर्ने गरेका थिए। सहकारीबाट भुक्तानी हुने चेकहरूमा मेरो सही अनिवार्य चाहिन्छ भने हालका लेखा अधिकृत राकेश महर्जन र नायव महाप्रवन्धक रञ्जना महर्जनमध्ये १ जनाको सही भएपश्चात चेकहरू भुक्तानी हुने गरेको थियो। 

कहिलेकाहिँ काममा व्यस्त भएको समयमा सहकारीको खाली चेकहरूमा हस्ताक्षर गरी दिने गरेको थिएँ। उक्त सहकारीबाट बचत संकलन गरी वचतको लगानी गरी लगानीको प्रतिफल बचतकर्ताहरू तथा शेयर सदस्यहरूलाई वितरण गर्ने कार्य सहकारीको रहेको थियो। 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप्स अन्तर्गतको सिभिल होम्स प्रा.लि. समेतका नाममा कर्जा प्रवाह गर्दा सहकारीको आधारभूत प्रकृया पूरा गरी सहकारीको विनियम अनुसार कर्जा प्रवाह गर्ने गरेको थियो। जुन सहकारीको प्रारम्भकालदेखि नै कायम रहेको कर्जा हो।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप्स अन्तर्गतको सिभिल होम्स प्रा.लि. समेतका कम्पनिहरूलाई कर्जा प्रवाह गर्ने निर्णय उक्त सहकारीको पूर्वअध्यक्ष तथा विशेष सल्लाहकार इच्छाराज तामाङको सहमति अनुसार सञ्चालक समितिको विभिन्न मितिको निर्णयबाट भएको हो। 

इच्छाराज तामाङ र म शेयर सदस्य रहने गरी सिभिल होम्स प्रा.लि. समेतका १८ वटा कम्पनिहरू रहेका छन्। जसमध्ये केही कम्पनी बन्द अवस्थामा रहेका छन्।  

सिभिल होम्सको नाममा रहेको सुन्धारा चाइनाटाउनमा रहेको ६रोपनीमा रहेको ११ तल्ले भवन १ वर्ष अगाडि अजेयराज सुमार्गी पराजुलीको कम्पनी मुक्ती श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोडमा बिक्री गरेका हौं। 

सो जग्गा बिक्री गरेर आएको के कति रकम निज इच्छाराज तामाङले सहकारीमा जम्मा गरे मलाई थाहा भएन।

सिभिल सहकारीमा ०७५ सालदेखि  नै साधारण सभा हुन सकेको छैन।

साथै अडिट रिपोर्ट समेत पास हुन सकेको छैन। विगत ३ वर्ष अगाडिदेखि सहकारीमा कुनै पनि बचत रकम आएको छैन। साथै नयाँ लगानी पनि भएको छैन। 

मलाई थाहा भएसम्म करिव सात अर्बभन्दा माथि बचत रकम सभिलसेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.मा बचतकर्ताहरूबाट जम्मा हुन आएको छ। 

इच्छाराज तामाङले ऋण प्रवाह गर्ने योजना तयार गरी सहकारीका अन्य सञ्चालकहरूलाई बोलाई निज अध्यक्ष रहेको सिभिल ग्रुप अन्तर्गतको प्रोजेक्टहरूलाई ऋण प्रवाह गर्ने योजना सुनाउनु हुन्थ्यो र माईन्युट तयार गरी सहकारीका सञ्चालकहरू र निज इच्छाराज तामाङ समेतको हस्ताक्षर गरी निर्णय भई सिभिल ग्रुप अन्तर्गतको कम्पनिको नाममा चेक भुक्तानी गर्ने गरिएको थियो। 

निज इच्छाराज तामाङले सहकारीबाट बैठक भत्ता बाहेक मासिक रु.पाँच लाख पारिश्रमिक लिने गरेका छन्। साथै सभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन्।

मैले सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनिहरूबाट जम्मा मासिक रु.दुई लाख पारिश्रमिक लिने गरेको छु।

सिभिल सहकारीबाट ऋण प्रवाह हुँदा सहकारीको बिनियम अनुसार आधारभूत प्रकृया पूरा गरी सहकारीको प्रारम्भकालदेखि कायम भएको प्रकृया अनुसार ऋण प्रवाह भएको साथै उक्त ऋण रकम बराबरको सम्पत्ति सिभिल ग्रुप्स अन्तर्गतको सिभिल होम्स प्रा.लि., सिभिल स्टेट्स प्रा.लि, सिभिल बिजनेश कम्प्लेक्स प्रा.लि र सिभिल अपार्मेन्ट प्रा.लि. र सिभिल ग्रुप प्राईभेट लि. समेतको नाममा जग्गा तथा भवन समेत रहेको हुँदा पटक पटक उक्त ऋण प्रवाह भएको हो। 

सिभिल होटल प्रा.लि. कम्पनि दर्ता गरी उक्त होटलको नाममा रहेको मेरो भागको शेयरको रकम पुर्याउनको लागि सिभिल बैंकमा मेरो नामको खातामा निज इच्छाराज तामाङले पटक पटक रु.चौध लाख चालिस हजार सिभिल होटल प्रा.लि.को खाताबाट हाल्दिएका थिए। 

सोही रकम रू.चौध लाख चालिस हजार मैले सिभिल बैकमा रहेको सिभिल अपार्टमेन्ट प्रा. लि. को खातामा पटक पटक जम्मा गरिदिएको हो। 

सिभिल होटल प्रा.लि.ले मेरो खातामा पटक पटक गरी बचत गरी जम्मा रू.दस करोड बीस लाख जम्मा गरेको देखिन आएको हो। सो पटक पटक गरी जम्मा रु. दस करोड बीस लाख रकम मेरो होइन इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रक्रिया मिलाउन कम्पनीको खाताबाट मेरो खातामा हालिदिएका मात्र हुन्। 

२६ जनवरी २०१८ मा मेरो सिभिल बैक लि. को खाता नं. ०२१००००२०००१२ मा इलाराज तामाङले रू.४२,००,००० (बयालिस लाख) रकम सिभिल बैक लि.को पब्लिक शेयर खरिद गर्न मेरो खातामा हाल्दिएका हुन्। 

सिभिल होटल प्रा.लि.ले मेरो खातामा पटक पटक गरी बचत गरी जम्मा रू.१०,२०,००,०००÷– (दस करोड बीस लाख) जम्मा गरेको रकम मेरो होइन निज इच्छाराज तामाङले कम्पनीको प्रकृया पूरा गर्न सिभिल होम्स प्रा.लि.को खाताबाट मेरो खातामा हाल्दिएका मात्र हुन्। 

स्ट्याण्डर चार्टड बैंक नेपाल लि.बाट ऋण लिई मैले आफूले चढ्ने टक्सन गाडी निकालेको हुँदा उक्त गाडीको किस्ता स्वरुप आफ्नो पारिश्रमिकबाट उक्त रकम स्ट्याण्डर चार्टड बैंक नेपालको मेरो नामको खातामा जम्मा गरेको हुँ। 

सिभिल सहकारीको ऋण सिभिल होम्स प्रा.लि. समेतका कम्पनीहरूको नाममा रहेका जग्गा भवन लगायतका सम्पत्तिहरू बिक्री गरी बचतकर्ताहरूको सावाँ र ब्याज सहितको रकम चुक्ता गर्छौं।

सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रा.लि. समेतमा ठूलो लगानी भएको कारण तत्काल बचतकर्ताको एकमुष्ठ रकम फिर्ता गर्न नसकेको कारण समस्या देखिएको मात्र हो। मेरो नाममा भएको शेयरको रकम निज इच्छाराज तामाङले कम्पनीको प्रावधान मिलाउन राख्दिने गरेका थिए। सो कम्पनिहरूको शेयर खरिद गर्न मैले कुनै लगानी गरेको छैन।
 

२१ मंसिर, २०७८, ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।